News 24 Television
देउवाको असहयोग संकेत, हारको खतरामा काँग्रेस !

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारका लागि भन्दै सिंगापुर प्रस्थान गरेका छन् । देउवा बुधबार राति सिंगापुर प्रस्थान गरेका हुन् । फागुन २१ को निर्वाचन सम्मुखमै देउवा सिंगापुर उड्नुलाई आश्चार्यको रुपमा लिइएको छ, भने उनको सिंगापुर प्रस्थानले आगामी निर्वाचनमा काँग्रेसको मतपरिणाममै प्रत्यक्ष प्रभाव पर्ने विश्लेषण हुन थालेका छन् ।

किन सुटुक्क उडे देउवा ?  

पछिल्लो समय देउवा पार्टी राजनीति र संसदीय राजनीतिको होडमा छैनन् । काँग्रेसको गगन थापा पक्षधरले एक महिनाअघि भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेर देउवालाई नेतृत्वबाट पाखा लगाएको थियो । जुन विशेष महाधिवेशन वैशाखमा नियमित महाधिवेशन गर्ने भन्ने देउवको प्रस्ताव विपरित थियो । विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा काँग्रेस चुनावी मैदानमा उत्रिएको छ । यो अवस्थामा देउवा भने सुटुक्क सिंगापुर उडेका हुन् ।

देउवाको सचिवालयले भने उनमा एक्कासी ब्लड प्रेसर बढेका कारण थप उपचारका लागि सिंगापुर जानु परेको बताएको छ । हुनत देउवा विगतमा पनि उपचारका लागि सिंगापुर जाने गरेका छन् । जेनजी आन्दोलनमा घाइते भएका देउवा र पत्नी आरजुको सिंगापुरमै उपचार भएको थियो । तर पनि देउवाको सिगापुर उडानलाई निर्वाचन छल्ने रणनीतिको रुपमा चर्चा भइरहेका छन् । 

कहिले फर्किन्छन् देउवा ?  

देउवा एक्कासी सिंगापुर उडेपनि उनी चार दिनको उपचार पछि नै फर्किने उनको सचिवालयले जनाएको छ । यद्यपि देउवा यति चाँडै नै फर्किन्छन् भन्ने टुंगो छैन । किनकी देउवाले यअसघि देखि नै निर्वाचनप्रति खासै चासो देखाएका छैनन् । उनी अहिलेसम्म काँग्रेसको उम्मेदवार जिताउन पनि खुलेका  छैनन् । उनले आगामी निर्वाचनमा मतदान नगर्ने भन्दै गृहजिल्लासँग पनि सम्पर्कसमेत टुटाएको जनाइएको छ । यसलाई कतिपयले देउवा चुनावको अघोषित बहिस्कारमा रहेको  व्याख्या गरिरहेका छन्। 

संकटमा गगन 

पार्टी नेतृत्वमा आएदेखि नै सभापति गगन थापा भने अब परिवर्तित काँग्रेस भएर निर्वाचनमा होमिने दावी गर्दै आएका छन् । उनले निर्वाचनपछि देशको नेतृत्वसमेत काँग्रेसले गर्ने आत्मविश्वास प्रकट गर्ने गरेका छन् । अझ भनौ यो पटकको निर्वाचनमा काँग्रेले सरकार निर्माण गर्न सक्नेगरीको परिणाम निकाल्छ । 

तर निर्वाचानमा देउवा पक्षको असहयोग रहेमा गगनको यो योजना विफल हुने निश्चित छ । अहिलेसम्म देउवाले काँग्रेस र पार्टीका कुनै उम्मेदवारको पक्षमा मत मागेका छैनन् । यो अर्थमा काँग्रेस पक्षधर अझैसम्म एकजुट हुने संभावना न्यून छ । यदी देउवा पक्षले देशभर नै काँग्रेस उम्मेदवारलाई असहयोग गरेमा सभापति गगनसहितकै उम्मेदवार पराजित हुने संभावना उच्च रहन्छ । यो परिस्थितिले पनि गगनमाथि संकटमा सृजिएको हो । 

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update