News 24 Television
मध्यपूर्वको तनावप्रति सरकार गम्भीर : नेपालीको सुरक्षामा कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वको तनावप्रति सरकार गम्भीर रहेको बताएकी छन् ।

देशवासीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले इरान र त्यस वरपरको क्षेत्रमा गहिरिएको युद्धको संकटप्रति सरकार गम्भीर रहेको बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले उक्त क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमलाई सरकारले सूक्ष्म रूपमा नियालिरहेको बताउँदै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारिन् । कार्कीले रोजगारी तथा अन्य सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको अवस्थाप्रति सरकार चिन्तित रहेको बताइन् ।

संकटको यस घडीमा सरकार आफ्ना नागरिकको साथमा रहेको सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीहरू विश्वको जुनसुकै कुनामा रहे पनि उनीहरूको व्यक्तिगत सुरक्षा र हितको रक्षा गर्न वर्तमान सरकार पूर्ण रूपमा कटिबद्ध रहेको आश्वासन दिइन् ।

 प्रधानमन्त्री कार्कीले भनिन्, ‘आज संसारको अर्को कुनामा, मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको छ । इरान र वरपरको तनावले हामीलाई चिन्तित बनाएको छ । विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ । त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो ।त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ । हामी हरदम तपाईंहरूको साथमा छौँ । नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिवद्ध छ । इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु ।’

उनले विदेशमा रहेका नेपालीहरूलाई नआत्तिन र दुतावास तथा कुटनीतिक नियोगको सम्पर्कमा रहन पनि आग्रह गरिन् ।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update