काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन प्रतिष्ठित पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले विहिवार सार्वजनिक गरेको छ ।
गुठीका उपाध्यक्ष एवं साहित्यकार गोपाल प्रसाद बरालको अध्यक्षतामा राजधानीमा विहिवार सम्पन्न गुठीको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार २०८३ सालको भैरव पुरस्कार हेटौडा निवासी वरिष्ठ हास्य व्यङ्ग्यकार आर.सी रिजाललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि रु. १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ ।
त्यस्तै रु. १ लाख १ हजार १ सय ११ रुपैया राशीको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्रकार टेकवीर मुखियालाई प्रदान गरिने गुठीले जनाएको छ । साथै रु. ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार देवीप्रसाद चापागाईलाई प्रदान गरिनेछ । पुरस्कार अर्पण समारोह यही असोज १८ गते आइतवार भैरव स्मृति भवनमा आयोजना गरिने जानकारी गुठीले दिएको छ ।
गुठीले पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न साहित्यकार विमल अर्यालको संयोजकत्वमा गुठीका सचिव वसन्त रिजाल र साहित्यकार प्रल्हाद पोखरेल रहनु भएको चयन समिति गठन गरेको थियो ।


