News 24 Television
निर्णायक धक्का दिँदै बालेन–ओली, अन्तिम चरणसम्मै मैदानमा !

काठमाडौँ । झापा – ५ फागुन २१ को निर्वाचनको इपीसेन्टर बनेको छ । यो पटक एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहको चुनावी प्रतिस्पर्धा रहँदा झापा – ५ चर्चा र चासोको केन्द्र बनेको हो । अब निर्वाचन आउन ३ दिन मात्रै बाँकी रहँदा यो क्षेत्रमा निर्णायक धक्का दिन ओली र बालेन दुवै मतदाता भेटघाटमै रहेका छन् । ओली यसअघि देखि नै मतदाता भेटघाटमा निरन्तर रहँदा बालेन भने आईतबार बिहानै मात्रै अन्तिम पटक झापा पुगेका छन् । 

ओली बालेनको के–कस्ता रणनीति ? 

ओलीका लागि झापा – ५ मा अहिलेसम्मकै कठिन प्रतिस्पर्धा हुँदैछ । पटक पटक सत्तामा रहँदा पनि सन्तोषजनक काम गर्न नसकेपछि उनीविरुद्ध बालेन शाहले महानगर प्रमुखको जिम्मेवारी नै त्यागेर चुनावी प्रतिस्पर्धामा आाउँदा ओलीलाई चुनौती देखिन्छ । यही अनूभूति गरेका ओली यो पटक मनोनयनपछि मात्रै ४ पटक झापा पुगेका छन् । चौथो पटकको झापा केन्द्रीत अभियानमा रहेका ओली पछिल्लो समय दोहोर्याइ, तेहर्याइ मतदाता भेटिरहेका छन् । उनले हरेकजसो सम्बोधनमा यो निर्वाचन जलाउने र देश बनाउनेबीचको प्रतिस्पर्धा भनेर व्याख्या गर्ने गरेका छन् ।  

निर्वाचन हार्ने त्रासकैबीच पछिल्लो एकसाता देखि झापामा ढुक्कै बसेका ओली सोमबार अर्थात निर्वाचन प्रचार प्रसारको अन्तिम दिन पनि झापा – ५ मै खटिइरहेका छन् । सोमबार ओली दमक नगरपालिका, गौरादह नगरपालिका, गौरीगञ्ज, कमल गाउँपालिका लगायतका मतदाताहरुसँग भेटघाट गरे । 

बालेन पनि मैदानमै 

उता बालेन शाह पनि मनोनयनपछि पाँचौँ पटक आईतबार झापा पुगेका थिए । उनी यसअघि झापामै रहेपनि काठमाडौंसहित अन्य जिल्लाको चुनावी अभियान सरिक हुन त्यहाँ बाट फर्किएका थिए । तर प्रचारप्रसारको अन्तिम दुई दिनका लागि समय निकालेर उनी पुनः आईतबार झापा पुगेका हुन् । उनले आईतबार नै झापाका विभिनमा स्थानमा रोड शो नै गरे ।

 बालेनले सोमबार पनि झापा– ५ को दमक नगरपालिकाभित्रका दर्जनभन्दा बढी स्थानमा मतदातासँग भेटघाट गरिरहेका थिए । यो अर्थमा पनि ओली र बालेन अन्तिम समयसम्म पनि आफ्नो पक्षमा माहोल बनाउन निर्वाचन क्षेत्रमै तल्लीन छन्  । झापा – ५ को घरदैलो अभियनमा तुलनात्मक रुपमा केपी ओली मतदाताबाट प्रश्नले घेरिने गरेका छन् । उता अर्का प्रतिस्पर्धी बालेनप्रति भने आम मतदाताले आशा प्रकट गरिरको देखिन्छ । यो अवस्थामा झापा – ५ मा ओली बालेनमध्ये कस्ले निर्वाचन जित्ला ? वा यी भन्दा फरक पात्र निर्वाचित होलान् ? यी यावत प्रश्नहरु भने अनुत्तिरित छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update