News 24 Television
नयाँ सरकार गठनपछि जेनजी योद्धाकी आमा – ‘नयाँ युगको शंखघोष भयो’

नयाँ सरकार गठनसँगै एउटा नयाँ युगको शंखघोष भएको महसुस गरिरहेकी छु । म आत्मादेखि नै खुशी र आशावादी छु । विगतले मेरो कर्मयोगी पुस्तालाई अन्याय गर्‍यो—हजार संघर्ष गर्दा पनि आफ्नै देशमा गरिखान नदिएको पीडा मैले भोगेकी छु ।

आफ्ना नैसर्गिक अधिकारका लागि आवाज उठाएको मेरो कलिलो छोरालाई निर्मम रूपमा गोली हानियो—त्यो घाउ अझै ताजा छ, जीवन भर उपचार गर्नुपर्ने हजारौँ नवयुवा छन् । तर आज म आशावादी छु कि ती सबै अन्यायहरूको हिसाब अवश्य हुनेछ। म केवल एक पीडित आमा होइन, म एउटा योद्धाकी आमा हुँ। म एउटै छोराकी आमा होइन, म ती हजारौं नवयुवाहरूकी आमा हुँ, जसले सुशासन र न्यायका लागि आवाज उठाए।

आज बालेन शाह प्रधानमन्त्री बनेको सुन्दा मनमा खुशी छ भने सुदन गुरुङ गृहमन्त्री भएको खबरले विश्वास जागेको छ, गर्व लागेको छ । अब देशमा सुशासन आउँछ भन्ने आशा पलाएको छ। जनतालाई ठग्ने र काम गर्नेहरूलाई दुःख दिनेहरूलाई सजाय हुनेछ।

sssssssss-1774680304.jpg

मेरो निर्दोष छोराको छातीमा ताकेर तीन–तीन वटा गोली हान्ने अपराधीले पनि कठोर सजाय पाउनेछ, र मेरो छोरासहित हजारौं नवयुवाहरूले न्याय पाउनेछन्।

आज म सबैलाई एउटा प्रश्न गर्न चाहन्छु—गोली लाग्दा पीडा हुने कुरा केवल जसको बच्चा हो उसैलाई मात्र किन लाग्छ ? हिजोसम्म चुनावमा ‘न्भल श्’ लाई फेसनका रूपमा प्रयोग गरियो, तर अब के ? तपाईंलाई कहिलेसम्म दुख्दैन ? के तपाईंको आफ्नै छोराछोरीमाथि अन्याय नभएसम्म र आफ्नैलाई गोलि नलागेसम्म तपाईं चुप बसिरहनुहुन्छ ?  एकपटक गहिरिएर सोच्नुहोस्।

मलाई विश्वास छ - आज जागेको यो उज्यालो कहिल्यै निभ्ने छैन। म जस्ता कर्मयोगी आमाहरू बाध्यताले राजनीतिमा आउन नपरोस्, हाम्रो काम र क्षमताको कदर होस,  यही कामना गर्दै नया उर्जाशिल सरकारलाई बधाई  ।

- सिता पाण्डे (दिव्या)  एक योद्धाकी आमा

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update