काठमाडौं । तीन ठूला शक्ति राष्ट्रका प्रमुखहरुबीचको भेटलाई विश्वले नै नियालीरहेको छ । झण्डै ८ दशकपछि तीन ठूला राष्ट्रहरु अमेरिका, रसिया र चीनका राष्ट्रप्रमुखत्रय डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन र सी जिनपिङबीचको त्रिपक्षीय भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।
रुस युक्रेन युद्ध वर्षौंदेखि चलिरहेको छ । अमेरिका–इरान युद्धले मध्यपूर्व पनि अशान्त छ । शक्ति राष्ट्रहरुको शक्ति संघर्षको प्रभाव साना देशहरुले भोगिरहेका छन् । विश्व नै आशान्त बनिरहेको सन्दर्भमा तीन ठूलो शक्ति राष्ट्रहरु अमेरिका, रसिया र चीनका राष्ट्र प्रमुखहरु डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन र सी जिनपिङबीचको शिखर वार्ताले विश्वकै ध्यान आकृष्ट गरेको छ ।
चीनको ऐतिहासिक सहर सेन्जेनमा तीन शक्ति राष्ट्रका प्रमुखहरुबीच भेटवार्ताको अवसर मिलाइएको थियो । भेटवार्ताको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सीले पहिलो पटक विमानस्थलमा विमानको ढोकैसम्म पुगेर ट्रम्पलाई हार्दिकतापूर्वक स्वागत गरेका थिए ।
अघिल्लो दिन रुसी राष्ट्रपति पुटिनलाई स्वागत गर्नसमेत नगएका सीले ट्रम्पप्रति विमानको ढोकैसम्म पुगेर गरेको हार्दिकता अर्थपूर्ण रहेको छ । पुटिन, सी र ट्रम्पबीच सेन्जेन सहरमा करिब ९० मिनेटको वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्प विहीबार नै चीनबाट स्वदेश फर्किएका छन् ।
‘शान्तिसम्बन्धी संयुक्त घोषणा’ जारी
चीनको सेन्जेनमा भएको शिखर सम्मेलनपछि अमेरिका, चीन र रुसले ‘शान्तिसम्बन्धी संयुक्त घोषणा’ जारी गरेका छन् । उक्त घोषणामा आणविक युद्ध जित्न नसकिने उल्लेख छ । ‘आणविक युद्ध जित्न सकिँदैन र यस्तो युद्ध कहिल्यै लड्नु हुँदैन’ घोषणामा भनिएको छ ।
चीन, रुस र अमेरिकाबीच भएको त्रिपक्षीय बैठकपछि जारी संयुक्त वक्तव्यमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक स्थायित्व र अन्तर्राष्ट्रिय सुरक्षाको रक्षा गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ ।
उनीहरूबीच ऊर्जा सुरक्षाबारे पनि छलफल भई प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति बढाउने योजना बनाएको पनि वक्तव्यमा जनाइएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) तथा यस्तै अन्य संस्थाहरूले आफ्नो अधिकार क्षेत्रको दुरुपयोग गर्नु हुँदैन भन्नेमा तीन नेताहरु सहमत भएका छन् ।
आणविक हतियार रोकथामका लागि निरन्तर संवाद
चीन, रुस र अमेरिकाबीच जारी संयुक्त वक्तव्यमा तीनै देशका नेताहरूले ‘आणविक जोखिम न्यूनीकरण र आणविक हतियारको प्रसार रोकथाम’का विषयमा संवाद गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
तीन देशका नेताहरूबीचको त्रिपक्षीय बैठकको सुरुमै यस विषयमा संक्षिप्त छलफल भएको थियो । छलफलका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले आणविक हतियारलाई ‘मानवजातिमाथि झुन्डिरहेको ‘डेमोक्लिजको तरबार’को संज्ञा दिएका थिए ।
‘आणविक हतियारमाथि पूर्ण प्रतिबन्ध लगाइनुपर्छ र तिनलाई पूर्ण रूपमा नष्ट गरिनुपर्छ । आणविक युद्ध जित्न सकिँदैन र यस्तो युद्ध कहिल्यै लडिनु हुँदैन ।’– सीले भनेका थिए । सम्मेलनमा तीनै नेताहरुले शान्तिको प्रतिवद्धता गरेका छन् ।
आणविक हतियारको प्रसारबाट उत्पन्न खतरा रोक्न तीनै देशबीच सहकार्य हुनुलाई ट्रम्पले महत्वपूर्ण भनेका छन् । सीले बैठकलाई ‘ऐतिहासिक महत्वको बताए भने ट्रम्पले आफूहरूले ‘वास्तवमै इतिहास रचेको’ टिप्पणी गरे । शिखर सम्मेलनअघि ट्रम्पले पुटिन र सीसँग छुट्टाछुट्टै द्विपक्षीय बैठक गरेका थिए ।
जहाँ उनले रुसी राष्ट्रपति पुटिनको प्रशंसासमेत गरेका थिए । सीसँगको भेटपछि ट्रम्पले अमेरिका र चीन दुवै युक्रेन युद्ध अन्त्य भएको हेर्न चाहेको बताएका थिए ।
परमाणु मामिलामा तीनै नेताले ‘परमाणु युद्ध जित्न सकिँदैन र यस्तो युद्ध कहिल्यै लड्नु हुँदैन’ भन्नेमा सहमति जनाएका छन् । साथै, परमाणु हतियारको प्रसार रोक्न संवाद जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
सी बोलिरहँदा ट्रम्प निद्रामा मस्त
एपेक सम्मेलनमा सहभागी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मस्त निद्रामा रहेको भिडियो फुटेज यतिबेला निकै चर्चामा छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले भाषण गरिरहेका बेला बेला ट्रम्प निद्राले झुलिरहेको देखिएको थियो ।
चीनको सेन्जेनमा बिहीबार आयोजित सम्मेलनमा सीले एसिया–प्रशान्त क्षेत्रबारे चीनको धारणा राखिरहेका बेला ट्रम्प निद्राले झुलिरहेको दृष्य प्रत्यक्ष प्रशारणमा नै देखिएको थियो । सार्वजनिक कार्यक्रममा ट्रम्प झुलेका दृष्यहरु यसअघि पनि सार्वजनिक हुने गरेका थिए । तर सी बोल्दा रुसी राष्ट्रपति पुटिन भने ध्यान दिएर सुनिरहेका थिए । सीले चिनियाँ भाषामा गरेको सम्बोधनलाई अनुवादकले अंग्रेजीमा उल्था गरेर सुनाएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्प पछिल्ला तीन दिनदेखि कूटनीतिक भ्रमणमा ब्यस्त छन् । मंगलबार फिलिपिन्सको राजधानी मनिलामा आसियान सम्मेलनमा सहभागी भएपछि ट्रम्प बुधबार चीन पुगेका थिए । ट्रम्पले बुधबार साँझ चिनियाँ राष्ट्रपतिले आयोजना गरेको राजकीय रात्रिभोजमा सहभागिता जनाएका थिए ।
बिहीबार बिहान ट्रम्प एपेक सम्मेलनस्थलतर्फ लागेका थिए । अत्यधिक व्यस्तताले गर्दा थकान भएको हुन सक्ने पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् । यद्यपी तीन शक्ति राष्ट्रका प्रमुखहरुबीच भएको शान्तिको प्रतिवद्धताले विश्व जगतमा नै आशाको सन्देश प्रवाह भएको छ ।


