News 24 Television
गगनलाई पेल्ने, देउवालाई बोक्ने सत्ता नीति ?

काठमाडौँ । नेपाली कांग्रेसको पार्टी आधिकारिकता विवादसम्बन्धी पुनरावलोकन मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ । गत वर्ष दोस्रो विशेष महाधिवेशनमार्फत गठित गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि सर्वोच्च अदालतले पनि सोही पक्षमा फैसला सुनाएको थियो । तर, उक्त फैसला अमान्य हुने दाबी गर्दै शेरबहादुर देउवा पक्षले सर्वोच्चमा पुनरावेदनको निवेदन दिएपछि यो विषय पुनः कानुनी प्रक्रियामा अल्झिएको छ । 

मुद्दा विचाराधीन रहेकै अवस्थामा अबको फैसला कसको पक्षमा आउला भन्नेबारे राजनीतिक वृत्तमा विभिन्न चासो र अड्कलबाजी सुरु भएका छन् । कतिपयले सरकार र सत्तापक्षले कांग्रेस सभापति गगन थापालाई पेल्ने रणनीति लिएको र देउवा पक्षलाई अनुकूल व्यवहार गरेको टिप्पणी गरिरहेका छन् । यसको प्रभाव न्यायालयसम्म पर्न सक्ने भन्दै विभिन्न कोणबाट चर्चा भइरहेका बेला पूर्वसभापति देउवा भने नतिजा आफ्नो पक्षमा आउनेमा विश्वस्त देखिन्छन् । विगतका राजनीतिक मोडहरूमा पनि न्यायालयले आफूलाई न्याय दिएका भन्दै देउवाले यसपटक पनि न्याय पाउने दावी पटक पटक दिइसकेका छन् । 

काँग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन यही मंसिर २१ गतेदेखि काठमाडौंमा गर्दैछ । यस्तोमा देउवासमेत उच्च मनोवलसहति सक्रिय रुपमा महाधिवेशनको तयारीमा लागेका छन् । यो कारण पनि उनी सर्वोच्चको फैसला आफ्नो पक्षमा आउनेमा ढुक्क रहेको विश्लेषण गरिन्छ । पक्राउको धम्कीदेखि गतिविधिमै निगरानी गरेर गगनलाई दबाबमा राख्ने तथा देउवाप्रति लचक देखिने सरकारको गतिविधीले सत्तापक्षको नियतमाथि प्रश्न उठेको टिप्पणी भइरहेको छ । यही क्रममा चीन भ्रमणमा रहेका सत्तारुढ दल (रास्वपा) का सांसदहरूको टोलीबीच भएको संवादको गोप्य अडियो सार्वजनिक भएपछि यो विषय थप पेचिलो बनेको छ । शुक्राबार सार्वजनिक उक्त अडियो संवादमा रास्वपा सांसदहरूबीच कांग्रेसको आधिकारिकता देउवाको हातमा जानुपर्ने र थापालाई किनाराकृत गर्नुपर्ने आशयको कुराकानी भएको सुनिन्छ । 

उक्त अडियो सार्वजनिक भएसँगै रास्वपामाथि गम्भीर प्रश्नहरू तेर्सिएका छन् । अनौपचारिक रूपमै भए पनि आन्तरिक राजनीति र अदालतमा विचाराधीन संवेदनशील विषयमा विदेशी भूमिमा पुगेर संवाद गर्नु कति उचित हो ? भन्ने बहस सुरु भएको छ । साथै, वैकल्पिक राजनीतिको वकालत गर्ने रास्वपाले प्रतिस्पर्धीलाई कमजोर बनाएर आफू बलियो बन्ने पुरानै राजनीतिक चरित्र दोहोर्‍याउन खोजेको त होइन ? भन्ने प्रश्न पनि उठेको छ ।

ार्वजनिक अडियोका विषयमा रास्वपा सांसद श्रीराम न्यौपानेले फेसबुक स्टाटसमार्फत आफ्नो धारणा राख्दै देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विगतको कार्यशैलीप्रतिको असन्तुष्टि र परिवर्तनको अपेक्षाकै कारण रास्वपालाई करिब दुईतिहाइ नजिकको मत प्राप्त भएको उल्लेख गरेका छन् । प्राप्त जनमत जोगाउन प्रतिस्पर्धी नेतृत्वलाई दबाबमै राख्नुपर्नेतर्फ संकेत गर्दै उनले लेखेका छन्, ‘जनताले दिएको मत र विश्वास स्थायी होइन; त्यसलाई काम, इमानदारी र नतिजाबाट प्रमाणित गर्नुपर्छ । यथार्थ पनि यही नै हो ।’

तर, रास्वपाकै अर्का सांसद राजीव खत्रीले भने यस विषयमा फरक मत राखेका छन् । खत्रीले कांग्रेसको आधिकारिकता थापा पक्षमै गए रास्वपाको प्रतिद्वन्द्वी थप बलियो हुने र बलिया दलहरूसँगको प्रतिस्पर्धाले नै राजनीतिक रूपान्तरण तथा पुस्तान्तरणमा सघाउ पुग्ने धारणा व्यक्त गरेका छन् । अन्य दल कमजोर बनून् र त्यसको फाइदा उठाऔँ भन्ने सोच राख्न नहुने भन्दै उनले भनेका छन्, ‘यो देशका हरेक दल र तिनका नेता–कार्यकर्ता सुध्रिउँन्, जसले हामीलाई थप जिम्मेवार र प्रतिस्पर्धी बनाओस् । अरू नासिएर हामी झाङ्गिन्छौँ भन्ने भाव नराखौँ ।’

गत फागुन २१ को निर्वाचनमा देखिएको जनलहर र पुराना दलप्रतिको असन्तुष्टिका कारण रास्वपाले बलियो जनमत प्राप्त गरेको थियो, जसमा कांग्रेसभित्रको आन्तरिक टकरावको पनि भूमिका रहेको मानिन्छ । अब कांग्रेस विवादको निर्णायक विन्दु सर्वोच्चको फैसला नै बन्ने देखिएको छ । एकातिर विचौलियामार्फत गगनलाई पोल्ने प्रयास र अर्कोतिर सत्तापक्षका केही सांसदको देउवा पक्षलाई आधिकारिकता जाँदा फाइदा हुने आशयको अडियो बाहिरिनुले सरकार र सत्तारुढ दलको भूमिकामाथि थप बहस सिर्जना गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update