काठमाडौं । पुराना दलहरुमाथि लाग्ने आरोप भनेको राज्यकोषको खर्चेर विदेश सयर गर्नु पनि हो । सरकारी खर्चमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि सांसदहरुसमेत विदेश सयर गरेको भन्दै आलोचना हुने गरेको थियो । तर नयाँ भनिएका वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टीको हालत पनि उस्तै छ । सत्तारुढ रास्वपाका मन्त्री, सांसददेखि नेता कार्यकर्ताहरुको पनि विदेश भ्रमणमा लाम लाग्ने गरेको छ ।
तत्कालिन अवस्थामा कांग्रेस, एमाले र माओवादी नेताहरुले सत्ताको दोहन राम्रैसँग गरेकै कारण गत फागुनमा सम्पन्न निर्वाचनमा नागरिकले उनीहरुलाई लोप्पा खुवाइदिए । झण्डै दुई तिहाई जनमत प्राप्त गरि यतिबेला चार वर्षअघि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी सत्तासिन छ । पुराना राजनीतिक दलहरुमा देखिएको समस्याबाट कतिपय अवस्थामा उनीहरु नै आजित बनेका थिए ।
सरकारी खर्चमा बैदेशिक भ्रमण हुने गरेको भन्दै राज्यकोषको दोहन रोक्न भन्दै तत्कालिन सरकारले सरकारी खर्चमा हुने वैदेशिक भ्रमणमा रोक लगाउनु परेको थियो ।
तत्कालिन ओली सरकारकै पालामा पनि सरकारी खर्चमा हुने अन्य वैदेशिक भ्रमणमा रोक लगाउने निर्णय नै भएको थियो । राज्यकोषको दोहन गर्दै मन्त्रीहरु तथा नेता कार्यकर्ताहरु विदेश सयर गरेको आलोचना जति नै गरे पनि कम हुन्छ । पुराना दलहरुको आलोचना गरेर नै सत्तासिन बनेको रास्वपा पनि उहि बाटोमा हिँडिरहेको छ ।
पुराना राजनीतिक दलहरुले जस्तै रास्वपा नेताहरुले पनि राज्यकोषको दोहन गरेर विदेश सयर गर्ने क्रम जारी छ । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन भन्दै प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका भ्रमणमा जाँदा सानो आकारको प्रतिनिधिमण्डल न्यूयोर्क पुग्यो । तामझाम बिना जम्बो प्रतिनिधि मण्डल नभएको भन्दै सरकारको प्रशंसा समेत भएको थियो । तर त्यसयता भने उही पुरानै प्रवृत्ति रास्वपा नेताहरुमा देखिएको छ । यतिबेला मन्त्री, सांसददेखि रास्वपा नेताहरु विभिन्न देशको भ्रमणमा छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका १६ मन्त्रीमध्ये ६ जना यतिबेला विभिन्न देशका कार्यक्रममा सहभागी हुने क्रममा विदेश रहेका छन् । राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषिमन्त्री गीता चौधरी र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेता लगायत टर्कीको अन्ताल्या पुगेका छन् । परराष्ट्रमन्त्री खनाल नेतृत्वमा १८ सदस्यीय औपचारिक प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी छ । कोपमा जानेहरुको लर्को अझै जारी छ ।
सञ्चारमन्त्री डा.विक्रम तिमल्सिना पनि विश्व दुरसञ्चार संघको सम्मेलनमा सहभागिताको लागि भन्दै दोहा पुगेका छन् । गृहमन्त्री सुधन गुरुङ पनि शुक्रबार विश्व प्रहरी सम्मेलनका लागि भन्दै संयुक्त अरब इमिरेट्स दुबइ पुगेका छन् ।
यसअघि पर्यटनमन्त्री खड्गराज पौडेल गनेश बेलायत भ्रमणमा गएका थिए । नोभेम्बर ३ देखि ५ सम्म लन्डनमा आयोजित वल्र्ड ट्राभल मार्केटमा सहभागी भएर फर्किएका मन्त्री पौडेलको भ्रमण विवाविद भएको थियो ।
यसअघि भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा रास्वपा सभापति रवि लामिछाने जेठ १८ देखि २२ गतेसम्म भारतको औपचारिक भ्रमणमा गएका थिए । पाँच सदस्यीय टोलीमा लामिछानेसँगै सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी थिए ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारको भारत भ्रमणबारे पनि विभिन्न कोणबाट आलोचना भएको थियो ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता आइतबार मात्रै चीन भ्रमणमा जाँदै छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा उनीहरु चीन भ्रमणमा जान लागेका हुन् । रास्वपा सरकारका मन्त्रीदेखि सांसदहरुको विदेश भ्रमणको रास्वपाकै नेताहरुले आलोचना गर्न थालेका छन् ।
रास्वपा सांसद गणेश कार्की र आशिका तामाङ समााजिक सञ्जालमै राज्यकोषको ढुकुटी दोहन गरेर नेताहरु औचित्यहिन विदेश भ्रमणमा गएको भन्दै आलोचना गरेका छन् ।
सधैंझैं यसपाली पनि कोपमा जानेहरुको लर्को छ । वातावरणको विद्यार्थी र सांसद पनि भएकाले पनि हो कि धेरै साथीहरु कोपका लागि टर्किए पुगेको, पुग्दै गरेको देख्छु । जानेहरुले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक घोषणा गरुन् । गर्नैपर्छ ।
सांसद कार्कीले समाजिक सञ्जालमा लेखेका छन् ।
यस्तै रास्वपा सांसद आशिकाले पनि राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ ? .. भनी सामाजिक सञ्जालबाटै राज्यकोषको दुरुपयोग भएको भन्दै प्रश्न उठाएकी छन् ।
रास्वपाको आइतबारदेखि हुन लागेका सांसहरुसहित २० नेताको भ्रमणअघि नै प्रधानमन्त्री बालेन्द्र शाहले पनि भ्रमण घुमघामका लागि मात्रै समीत नगर्न सुझाएका छन् । राज्यको जिम्मेवार निकायमा रहेका रास्वपाका कतिपय नेता कार्यकर्ताहरु ब्यक्तिगत रुपमा परिवारिक भ्रमणका क्रममा विभिन्न देशहरु शयर गरिरहेका छन् ।


