News 24 Television
कम्युनिस्ट नेतामाथि भ्रष्टाचारको घेरा, स्वकीयसम्म तानिदैं अनुसन्धानमा

काठमाडौं । समाजवाद र सुशासनको नारा दिने कम्युनिस्ट नेताहरू नै भ्रष्टाचार, ठगी र सम्पत्ति अनियमितताको अनुसन्धानमा तानिएका छन् । पूर्वप्रधानमन्त्रीदेखि मन्त्री, मुख्यमन्त्री र सभामुखसम्ममाथि मुद्दा र छानबिन अघि बढ्दा नेतृत्वको राजनीतिक नैतिकतामाथि प्रश्न उठेको छ । 

सर्वहारा वर्गको मुक्ति, सुशासन र समाजवादको नारा लगाउँदै दशकौँदेखि सत्ताको वरिपरि घुमिरहेका कम्युनिस्ट नेताहरू नै पछिल्लो समय भ्रष्टाचार, ठगी र अनियमितताको आरोपमा एकपछि अर्को गर्दै छानबिनको घेरामा तानिन थालेका छन् । 

पूर्वप्रधानमन्त्रीदेखि पूर्वमुख्यमन्त्री, मन्त्री र सभामुखसम्म विभिन्न प्रकरणमा मुछिएपछि नेपाली कम्युनिस्ट पार्टीको राजनीतिक नैतिकता र नेतृत्वको आचरणमाथि गम्भीर प्रश्न उठेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध त दुईवटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेका छन् । 

पतञ्जली योगपीठको जग्गा अनियमितता प्रकरणमा २०८२ जेठ २२ गते १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो । त्यस्तै इटहरीको रिजाल टासी इन्डस्ट्रिजको जग्गा सट्टापट्टा तथा छुट दर्ता प्रकरणमा गत कात्तिक १७ गते नेपालसहित ९७ जनाविरुद्ध ७६ करोड रुपैयाँ बिगो दाबीसहित अर्को मुद्दा दायर भएको छ । 

दुवै प्रकरणमा प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाट भएका निर्णयमाथि प्रश्न उठाइएको छ । यता पूर्वश्रममन्त्री तथा नेकपाका नेता शेरबहादुर कुँवर र पूर्वमन्त्री रामेश्वर राय यादव वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराधको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । 

मलेसिया पठाउने भन्दै गैरकानुनी रूपमा रकम संकलन गरेको आरोपमा सीआईबीले उनीहरूसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीमाथि पनि अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध एक करोड ८ लाख ३८ हजार रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ । त्यस्तै पूर्वसभामुख कृष्णबहादुर महरा विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको साढे आठ किलो सुन हिनामिना प्रकरणमा मुछिएका छन् । 

अख्तियारले उनीविरुद्ध ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ । सत्ताको नेतृत्व गरेका, मन्त्री बनेका र जनताका नाममा राजनीति गरेका नेताहरू नै विभिन्न कसुरमा अनुसन्धान र अभियोजनको सामना गर्न थालेपछि कम्युनिस्ट राजनीतिमाथि नैतिकताको संकट गहिरिएको छ । अहिले अनुसन्धानको चरणमा रहेका यी नेताहरूको नाम एकपछि अर्को अनियमिततामा जोडिनुले उनीहरूको राजनीतिक विश्वसनीयतामाथि भने गम्भीर प्रश्न खडा गरेको छ ।

पूर्वप्रधानमन्त्रीहरु पनि छानविनमा 

त्यसो त सरकारले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिनको प्रक्रिया अघि बढाएको छ । सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले चार जना पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको हो । 

जसमध्ये नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको सम्पत्ति छानबिन भइरहेको हो । पूर्वप्रधानमन्त्री बाहेक प्रहरीले दुई पूर्वमन्त्रीहरु आरजु राणा र दीपक खड्काको पनि सम्पत्ति छानबिन जारी छ । 

छानविनकै क्रममा खड्कालाई प्रहरीले पक्राउ समेत गरेको थियो । सरकारले पहिलो चरणमा २०६२÷६३ यताका पदाधिकारी र दोस्रो चरणमा २०४८ देखि २०६१÷६२ सम्मका व्यक्तिहरूको सम्पत्ति अध्ययन गर्ने निर्णय गरेको थियो । 

पूर्वप्रधानमन्त्रीका स्वकीयहरु माथि छानविन हुँदै 

तीन पूर्वप्रधानमन्त्रीका निकट सहयोगी नै सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा र पुष्पकमल दाहालकी छोरी गंगा दाहालको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको हो । 

तीनै जनामाथि अस्वाभाविक बैंकिङ कारोबार, सम्पत्तिको स्रोत र आर्थिक लेनदेनबारे अनुसन्धान भइरहेको छ । आयोगले बैंक खाता, सेयर कारोबार, घरजग्गा, सवारीसाधन, विदेश भ्रमण तथा परिवारका सदस्यको सम्पत्तिसमेत विवरण माग्दै २० भन्दा बढी सरकारी निकायलाई पत्राचार गरिसकेको छ । तीनै जनाको बयान लिने तयारीसमेत भइरहेको छ ।

ओलीका स्वकीय सचिव बज्राचार्यमाथि दरबारमार्गको सरकारी जग्गा यती समूहलाई सस्तोमा लिजमा दिएको प्रकरणसँगै जोडिएको आर्थिक लाभको आरोपमा अनुसन्धान भइरहेको छ । यती समूहबाट करिब चार करोड रुपैयाँ मूल्यको जग्गा तथा घर लिएको विषयमा अनुसन्धानकर्ताले प्रश्न उठाएका छन् । त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणका एक आरोपितले बालुवाटारमै एक करोड रुपैयाँ दिएको बयानमा समेत उनको नाम मुछिएको थियो ।

देउवाका स्वकीय सचिव भानुमाथि पनि सम्पत्तिको स्रोत र आर्थिक कारोबारबारे छानबिन भइरहेको छ । आयोगले उनको बैंक खाता, जग्गा, सेयर र पारिवारिक सम्पत्तिसहितको विस्तृतरुपमा कैफियत खोजी गरिरहेको छ ।

 यता गंगा दाहालको आर्थिक कारोबारसँगै उनका पति जीवन आचार्यको सम्पत्तिसमेत अनुसन्धानको दायरामा छ । जेनजी आन्दोलनका क्रममा दाहालको घरमा भेटिएको भनिएको नगद र त्यसको स्रोतबारे समेत अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update