News 24 Television
झापाका ४२ परिवार तनावमा, अन्तिम किस्ता रोकिएपछि छटपटि

झापा । झापाको मेचीनगरस्थित दिपज्योती टोलका ४२ परिवार दुई दशकअघि किस्ताबन्दीमा खरिद गरेको जग्गाको लालपूर्जा नपाउँदा समस्यामा परेका छन् । मेचीनगर २ र ३ को सिमानास्थित जग्गा हालसम्म नामसारी हुन नसक्दा पीडित परिवारको समस्या झन् जटिल बन्दै गएको छ । 

झापाको मेचीनगर ३ स्थित बजगाई टि–स्टेट प्रालिको नाममा रहेको चिया बगान नभएको खाली जग्गा वि.स २०६३÷०६४ सालमा शुभ चिया प्रालिले बैना गरि घरघडेरीका लागि स्थानीयलाई किस्ताबन्दी एकदेखि पाँच कठ्ठासम्म बिक्री प्रक्रिया अगाडी बढायो । 

सुकुम्बासी तथा न्यून आय भएका परिवारलाई लक्षित गरी बिक्री गरिएको उक्त जग्गाको अधिकांश किस्ता तिरे पनि अन्तिम किस्ता लिएपछि लालपूर्जा उपलब्ध गराउने सहमति कार्यान्वयन नभएको पीडितहरूको भनाइ छ । 

अन्तिम किस्ता पनि तिर्न तयार भएका उनीहरुको संस्थाले रकम नै लिएन । अहिले उनीहरुको न पैसा फिर्ता भएको छ, न लालपूर्जा नै पाएका छन् ।   

त्यस्तै पीडित स्थानीयका अनुसार जग्गा बजगाई टि–स्टेट प्रालिको नाममा रहे पनि तत्कालीन शुभ चिया प्रालिका अध्यक्ष हेमराज भारतीले कारोबार अगाडी बढाएका थिए । तर उनले पैसा लिएपछि त्यसलाई कार्यान्वयन गर्न आलटाल गरेको दुखेसो पीडित पोख्छन् । उनीहरुले जग्गा समस्या तत्काल समाधानका लागि सम्बन्धित निकायसँग माग गरेका छन्।

यता शुभ चिया प्रालिका वर्तमान अध्यक्ष रमेश दाहालले विगतमा कारोबार संस्थागत प्रक्रियाअनुसार नभएकाले समस्या उत्पन्न भएको बताउँछन् । समस्या समाधानका लागि सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक गृहकार्य भइरहेको र पीडितलाई न्याय दिलाउने प्रयास जारी रहेको उनको भनाइ छ ।

सुकुम्बासी तथा न्यून आय भएका परिवारले साहुसंग ऋण गरेर किस्ता वापतको रकम समेत दिइ सकेको अवस्थामा अन्तिम किस्ता नलिई जग्गाको स्वामित्व समेत प्रदान नगर्दा ४२ परिवार समस्यामा परेका छन् । तसर्थ उनीहरुलाई सम्बन्धित सरोकारवाला निकायले यथाशिघ्र समस्या समाधान गर्नुपर्ने आवश्यक देखिन्छ ।

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update