News 24 Television
चेरब स्मृति प्रतिष्ठानको १३औँ साधारण सभा तथा अधिवेशन सम्पन्न; साहित्यकार भट्ट सम्मानित

काठमाडौँ । चेरब स्मृति प्रतिष्ठानको तेह्रौँ साधारण सभा, पाँचौँ अधिवेशन, चेरब स्मृति सम्मान–२०८२ तथा कविता वाचन कार्यक्रम शनिबार थिमीस्थित बीपी नेत्र प्रतिष्ठान (आँखा, नाक, कान तथा घाँटी अस्पताल), लोकन्थलीको सभाहलमा सम्पन्न भएको छ।

प्रतिष्ठानका अध्यक्ष पुण्य घिमिरेको अध्यक्षता तथा वरिष्ठ साहित्यकार महेश प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रा. डा. विष्णुविभु घिमिरे, भाषा आयोगका सदस्य मातृका पोखरेल, घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष चेतनाथ घिमिरे, पाण्डवराज घिमिरे प्रतिष्ठानका अध्यक्ष कुलराज घिमिरे, कवि चन्द्रप्रसाद न्यौपाने, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिना, गोरखापत्र संस्थानका अधिकृत केदार वासिष्ठ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा कोषाध्यक्ष टीका खनालले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन र सचिव पदम बाँस्तोलाले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन सभाले सर्वसम्मत रूपमा पारित गरेको छ। सो अवसरमा प्रा. डा. विष्णुविभु घिमिरे, भाषा आयोगका सदस्य मातृका पोखरेल र चेतनाथ घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

aa4135e8-0313-4ed4-b27d-aade5c3d5aae-1789307090.jpg

प्रमुख अतिथि महेश प्रसाईंले प्रतिष्ठानले पारिवारिक शोकलाई सामाजिक शक्ति र रूपान्तरणमा बदलेर अनुकरणीय कार्य गरिरहेको बताउनुभयो। यस्तै, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले भोटेकोसी क्षेत्रको बाढीविपद्को स्थलगत निरीक्षणका क्रममा देखिएका अवस्थाबारे जानकारी गराउनुभएको थियो।

सोही समारोहमा 'चेरब स्मृति सम्मान–२०८२' बाट वरिष्ठ साहित्यकार एवं लघुकथाकार पुष्करराज भट्टलाई सम्मानित गरियो। कार्यक्रममा भोटेकोसी बाढीका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको शीघ्र उद्धार तथा राहत वितरणमा तीव्रता दिन माग गरिएको थियो। प्रतिष्ठानका अध्यक्ष घिमिरेले प्रभावितहरूसँग समन्वय गरी आगामी दिनमा विपद् सुरक्षा तथा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।

कविहरू आशिष खनाल, सञ्जय घिमिरे 'लसोटी', डा. तीर्थ भट्ट, नवराज पोखरेल 'निरञ्जन', निर्माण रमण पराजुली, श्याम श्रेष्ठ, भोजराज रेग्मी 'मुखाले', भानुभक्त न्यौपाने, केदार वासिष्ठ, पदम खनाल र मधुसूदन न्यौपानेले कविता वाचन गर्नुभएको सो कार्यक्रमको सञ्चालन सिस्नुपानी नेपालका सदस्य एवं प्रतिष्ठानका सचिव चक्र दवाडीले गर्नुभएको थियो। स्वागत मन्तव्य मधुसूदन न्यौपानेले र धन्यवाद ज्ञापन उपाध्यक्ष धर्म पोखरेलले गर्नुभएको थियो।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  १९:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update