
काठमाडौँ । देशभरिकै लघुवित्तका पीडितहरु एकिकृत भई आन्दोलन गरिरहेका छन् । पीडितहरु संगठित हुदैं न्याय खोज्दै संघिय राजधानी काठमाडौं छिरेको अहिले पाँचौ पटक भै सक्यो तर पनि पीडितहरुले न्याय पाउने नपाउने अझै कुनै टुंङ्गो लागेको छैन ।
लघुवित्तका कारण घरबारबिहिन बन्दै न्याय खोज्न देशको संघीय राजधानी काठमाडौं छिरेकाहरुलाई नियाल्दा अधिकांश पाका उमेर समुहका छन्, उनीहरुको गाला चाउरी परेको र केश पाकेर सेतै फुलेका देखिन्छन्, त्यसमा पनि महिला धेरै छन् । जसलाई सामान्य लेखपढ गर्न समेत धौं धौं छ । लघुवित्तको चंङ्गोलमा परेका उनीहरुको अनुहार हेर्दा प्रष्टै संग देखिन्छ कि उनीहरु भुईं मान्छे हुन् । तिनै भुईं मान्छे बाच्ने उपाए नै नभएपछि बिगत दुई बर्षदेखि पाँचपटक न्यायको खोजी गर्दै संघीय राजधानी आउने गरेका छन् । सरकारले उनिहरुको माग अझै पनि सम्बोधन नगरेको गुनासो गरिरहेका छन् । न्याय माग्दै गत फागुन १ गतेदेखि मुग्लीनबाट काठमाडौं मार्चपासमा सहभागी टोलीमा विभिन्न प्रकृतिका ऋणीहरु छन् ।
मगराँतीको जस्तै पर्साको पोखरीया नगरपालिका ६ का ६३ वर्षीय हनिप मियाँको पनि पीडा छ । गाउँमा आएका लघुवित्तका प्रतिनिधिहरु मार्फत आफुले ७ लाख रुपैयाँ ऋण लिएर तिन बर्ष भित्र ३ लाख रुपैयाँ तिरी सक्दा पनि साँवा र ब्याज गरेर अझै ९ लाख भन्दा बढी रुपैयाँ तिर्न बाँकी भएको हिसाब लघुवित्तका प्रतिनिधिले बताएको उनको गुनासो छ ।
कौशिला र हनिप त प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै हजारौंको संख्यामा देशभरी लघुवित्त पीडितहरु रहेका छन् । अधिकांशले साँवा र व्याज भन्दा बढी रकम तिर्दा पनि ऋणबाट मिनाह नभएको गुनासो गरेका छन् ।
लघुुवित्त पीडितहरु कसरी संगठित भए ?
गुल्मीकी शिखा रेग्मीलाई २०७८ पुस २८ आत्महत्याको मुखबाट बचाएपछि गुल्मीबाट लघुवित्तविरुद्धको आन्दोलन शुरु भएको हो । २०७८ माघ १ गते गुल्मि प्रशासन कार्यालयमा र २०७८ माघ १८ गते प्रशासनमार्फत तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई लघुवित्तिय पीडितहरुको समस्या समाधानको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । पीडितहरु देशभरीबाट संगठित हुँदै गए ।
एक वर्षसम्म पनि सरकारले माघ सम्बोधन नगरेपछि पीडितहरुले पुनः २०७९ असोज २५ गते काठमाडौंमा आन्दोलन गरे । तर पनि समस्याको समाधान भएन । २०७९ माघ २५ गते गुल्मीको तम्घासबाट देशव्यापी आन्दोलनको घोषणा भयो । सरकारसँग पटक पटक वार्ता र छलफलहरु भए । सहमति नजुटेपछि फागुन ५ गतेदेखि सामुहिक बैठक बहिस्कार गर्दै ३० गतेसम्म काठमाडौंसहित देशका विभिन्न स्थानहरुमा आन्दोलन गरे । २०७९ चैत्र २४ गते देखि २०८० बैशाख ४ गतेसम्म रिले अनसन बसे । यहि आन्दोलनकै क्रममा उनीहरु बैशाख ३ र ४ गते पुर्वको इनरुवा, काठमाडौं छिर्नै मुख्य नाका मुग्लीन र कर्णाली पुलमा सडकमा सुतेर विरोध जनाए ।
सरकारबाट पाएको आस्वासनपछि केही समय रोकिएका उनीहरु पुनः २०८० असार २८ गतेदेखि साउन १४ गतेसम्म माईतिघर मण्डलामा आमरण अनसन बसेका थिए । सो बेला सरकार र उनीहरुको तर्फबाट लघुवित्तिय समस्याको समाधान गर्न वार्ता टोलि गठन गर्ने निर्णय भएपछि आन्दोलन फिर्ता भयो । तर गत मंसिर ५ गतेसम्म पनि वार्ताटोलीबाट कुनै निकास निस्किन नसकेपछि पीडितहरु फागुन १ गतेदेखि मुग्लीनबाट काठमाडौं मार्चपास गरी काठमाडौं आएर निर्णायक आन्दोलन गर्ने बताएका छन् ।