News 24 Television
काङ्ग्रेसभित्र आन्तरिक द्वन्द्व चुलिँदो : गगनको कदम, देउवाको छायाँ र फुटको डर

काठमाडौँ । नेपाली काङ्ग्रेस यतिखेर एउटा निर्णायक मोडमा उभिएको छ। बाहिरबाट हेर्दा यो दल अझै पनि लोकतान्त्रिक अभ्यासको दाबी गर्ने पुरानो शक्ति जस्तो देखिएला तर भित्र पस्दा अवस्था बिल्कुलै फरक छ l अविश्वास, आरोप–प्रत्यारोप, शक्ति संघर्ष र असन्तुलित निर्णयहरूको चक्रमा काङ्ग्रेस क्रमशः फस्दै गएको देखिन्छ ।

सभापति गगनकुमार थापाबाट जनताले र कार्यकर्ताले ठूलो अपेक्षा राखेका थिए। पुराना शैली, गुटगत राजनीति र एकपक्षीय निर्णयको अन्त्य गर्दै नयाँ पुस्ताको नेतृत्वले काङ्ग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने आशा गरिएको थियो। तर पछिल्ला घटनाक्रमहरूले त्यो आशामाथि गम्भीर प्रश्न खडा गरिदिएका छन्।

कृष्णप्रसाद सिटौला जस्ता प्रभावशाली नेतामाथि गरिएको कारबाही, तामाङलाई रामेछाप जिल्ला सभापतिबाट हटाउने निर्णय र राष्ट्रियसभा संसदीय दलको नेताबाट सिटौलालाई हटाएर कमला पन्तलाई ल्याउने कदम; यी सबै निर्णयहरू केवल प्रशासनिक फेरबदल मात्र होइनन्, यी सन्देश बोकेका राजनीतिक कदम हुन्। र त्यो सन्देश के देखिन्छ भने- पार्टीभित्र असहमति राख्नेहरूलाई ठाउँ छैन।

यतिमा मात्र होइन, कान्छारामले सार्वजनिक रूपमा गगन थापामाथि उठाएको गम्भीर आरोप- “अरबौं रुपैयाँको सम्पत्ति”ले त झन् परिस्थिति संवेदनशील बनाइदिएको छ। यस्तो आरोप सामान्य होइन, यसले नेतृत्वको नैतिकता र विश्वसनीयतामाथि प्रश्न उठाउँछ। तर यस्तो गम्भीर विषयमा स्पष्टता दिने, स्वतन्त्र छानबिनका लागि पहल गर्ने वा सार्वजनिक रूपमा पारदर्शिता देखाउने सट्टा यदि त्यसलाई व्यक्तिगत आक्रमण ठानेर कारबाहीको बाटो रोजिन्छ भने त्यसले शंका झन् गहिरो बनाउँछ।

यहाँ सबैभन्दा महत्वपूर्ण प्रश्न उठ्छ- के गगन थापा साँच्चै फरक नेतृत्व हुन् ?

हिजो शेरबहादुर देउवाको कार्यशैलीमाथि प्रश्न उठाउँदै, गुटगत राजनीतिविरुद्ध आवाज उठाउँदै, ‘परिवर्तन’ को नारासहित अघि बढेका गगन आज आफैँ त्यही शैली दोहोर्याइरहेका छन् भन्ने आरोप किन बढ्दैछ ?

हिजो देउवाले विरोधीलाई कारबाही गर्दा त्यसको कडा विरोध गर्ने गगन, आज विरोध गर्नेहरूमाथि उस्तै कदम चालिरहेका देखिनु केवल संयोग मात्र हो कि प्रवृत्तिको निरन्तरता ? यही प्रश्नले काङ्ग्रेसभित्र मात्र होइन, बाहिर पनि बहस चर्काइरहेको छ।

अर्कोतर्फ, देउवा समूह अझै पनि पूर्ण रूपमा गगन थापाको नेतृत्व स्वीकार्न तयार देखिँदैन। ‘सात भाइ’ समूह लगायत पुराना संरचनाहरू सक्रिय रूपमा आफ्नो प्रभाव जोगाउन लागिपरेका छन्। यसले पार्टीभित्र निरन्तर अस्थिरता सिर्जना गरिरहेको छ। यस्तो अवस्थामा नेतृत्वले सन्तुलन, धैर्यता र समन्वय देखाउनुपर्ने हो। तर त्यसको सट्टा कठोर कारबाहीको बाटो रोजिँदा परिस्थिति झन् जटिल बन्दै गएको छ।

यथार्थ के हो भने काङ्ग्रेसभित्रको यो विवाद केवल व्यक्ति–व्यक्तिको टकराव होइन, यो शैलीको संघर्ष हो।
एकातर्फ पुरानो शक्ति संरचना, अर्कोतर्फ परिवर्तनको दाबी गर्ने नयाँ नेतृत्व l तर जब नयाँ नेतृत्वले पनि पुरानै शैली अपनाउन थाल्छ, तब परिवर्तनको अर्थ नै हराउन थाल्छ।

जिल्ला तहसम्म पुग्दा यो द्वन्द्व झन् स्पष्ट देखिन्छ। कार्यकर्ताहरू अन्योलमा छन्- कसको पछि लाग्ने ? कसलाई समर्थन गर्ने ? पार्टीभित्रको निर्णय प्रक्रिया पारदर्शी छैन भन्ने गुनासो बढ्दै गएको छ। धेरै ठाउँमा गुटका आधारमा जिम्मेवारी बाँडिने, आलोचना गर्नेहरूलाई पाखा लगाउने र नजिकका व्यक्तिहरूलाई प्राथमिकता दिने प्रवृत्ति देखिन थालेको छ।

यसको सीधा असर संगठनमा परेको छ। उत्साह घट्दैछ, विश्वास कमजोर हुँदैछ र कार्यकर्ताको मनोबल खस्किँदै गएको छ।

इतिहास हेर्ने हो भने, काङ्ग्रेसले यस्ता संकट पहिले पनि भोगेको छ। जब-जब पार्टीभित्र गुटीय संघर्ष चर्किएको छ, त्यसले पार्टीलाई मात्र होइन, समग्र लोकतान्त्रिक आन्दोलनलाई नै कमजोर बनाएको छ। अहिले फेरि त्यही संकेतहरू देखिनु संयोग मात्र होइन।

गगन थापासामु अहिले सबैभन्दा ठूलो चुनौती विपक्षी दलसँग प्रतिस्पर्धा गर्नु होइन- आफ्नै पार्टीलाई बचाउनु हो। यदि नेतृत्वले आलोचनालाई सहन सक्दैन, असहमतिलाई स्थान दिन सक्दैन र सबै निर्णयहरूलाई शक्ति प्रदर्शनको माध्यम बनाउँछ भने त्यो नेतृत्व दीर्घकालीन रूपमा सफल हुन सक्दैन। बरु अहिले संवाद, सहमति र पारदर्शितालाई प्राथमिकता दिनु वाञ्छनीय हुन्थ्यो ।

कान्छारामले उठाएको आरोप होस् वा सिटौलाको असहमति; यी विषयहरूलाई दबाएर होइन, खुला रूपमा छलफल गरेर समाधान खोजिनुपर्छ। कानुनी प्रक्रिया, स्वतन्त्र छानबिन र संस्थागत निर्णयमार्फत सत्य बाहिर ल्याउन सकिन्छ। त्यसो गर्न सके मात्र नेतृत्वप्रति विश्वास पुनःस्थापित हुन सक्छ।

आज काङ्ग्रेस एउटा दोबाटोमा उभिएको छ- एकातिर फुट, अविश्वास र पतनको बाटो, अर्कोतिर सुधार, एकता र पुनर्निर्माणको सम्भावना। मार्ग रोज्ने जिम्मेवारी पनि गगन थापाकै विवेकमा भर पर्नेछ । उनी आफ्नो आलोचकहरूलाई दबाएर अघि बढ्ने बाटो रोज्छन् कि सबैलाई साथमा लिएर पार्टीलाई मजबुत बनाउने प्रयास गर्छन्, त्यसले काङ्ग्रेसको भविष्य निर्धारण गर्नेछ। नेतृत्वको वास्तविक परीक्षा पनि शक्ति प्रयोगमा होइन, संकटमा देखाउने संयमता र विवेकपूर्ण निर्णयमा हुन्छ।  

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update