News 24 Television
संकटमा त्रिभूवन पार्क, दोष कसको ?
TRIBHUBAN-PARK
  • एलिसा अर्याल

काठमाडौँ । कंक्रिटको शहर बन्दै गएको काठमाडौंमा खुल्ला पार्कहरूको असाध्यै अभाव छ । पार्कहरू थपिनु त कता हो कता भएका पार्कहरू पनि संरक्षणको अभावमा उजाडिँदै गएको छ । त्यसको ज्वलन्त उदहारण हो, त्रिभुवन पार्क । कुनै समय निकै चर्चामा रहने त्रिभुवन पार्क अहिले उजाडिएको मात्रै छैन, विभिन्न स्वार्थ समूहका कारण पार्कको अस्तित्व नै संकटमा पुगेको छ ।

त्रिभुवन पार्क, भन्नेबित्तिकै काठमाडौँ उपत्यकाभित्र बसोबास गर्ने अधिकांशको मानसपटलमा पिकनिक स्पट आउँछ । त्यसपछि हामीले सम्झने भनेको नेपाली फिल्मको सुटिङ क्षेत्र हो । गेटबाट प्रवेश गर्दा झट्ट देखिने त्रिभुवनको शालिक, बरिपरि हरियाली, साना–साना पानीका झरना, पानीका फोहोरा, दुबोको चौर, जाईफुलका बोट, पिकनिकका स्टल, बालबालिकालाई मनोरञ्जनका लागि राखिएको पिङ र चिप्लेटी, चारै तिर गञ्जिने मानिसका हाँसो र होहल्ला अब सम्झनामा मात्रै छन् । किनकि ऐतिहासिक, सांस्कृतिक र मनोरञ्जनका दृष्टिले महत्व बोकेको त्रिभुवन पार्क जीर्ण बनेको छ । अहिले त्रिभुवन पार्क पस्दै नपसौंजस्तो लाग्ने गरी उजाडिएको छ । जीर्ण पिकनिक स्थल, धुलाम्मे चौर, भत्किएका बारबन्देज, फोहोर, कंक्रिटको संरचना आजको त्रिभुवन पार्कको वास्तविकता हो ।

https://youtu.be/FzgcEfySvZs

२०७५ साल चैत २० गते बसेको मन्त्रिपरिषद्को बैठकले शहीद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क), थानकोटलाई प्रदेश अन्तर्गत राखी व्यवस्थापन गर्ने निर्णय गरेको थियो । तर, बागमती प्रदेश सरकारले न आवश्यक बजेट विनियोजन गरेको छ, न स्तरोन्नतिको योजना ल्याउन सकेको छ । यता शहीद स्मारक प्रकृति प्रतिष्ठानले पनि लापरवाही गरेको आरोप स्थानीयहरूको छ । प्रतिष्ठानले ठेक्का पट्टामा जग्गा भाडामा दिएर प्राकृतिक सौन्र्दयतामा प्रहार गरेको भन्दै स्थानीयहरू पनि आक्रोशित छन् ।

शुरुमा विशुद्ध पार्क, सालिक र बगैंचाहरुको मात्रै निर्माण गरी थालनी गरिएको सो पार्कलाई पछि पिकनिक स्थलको रुपमा विकास गर्नेगरी विस्तार गरिएको थियो । जसमा स्थानीयहरूले आपत्ति जनाएका छैनन् । तर, पछिल्लो समय प्रतिष्ठानले आम्दानीका लागि भन्दै जग्गालाई खण्ड–खण्ड गरी फन पार्क, थ्रिडी हल, ब्याङ्केटलगायतका व्यावसायिक प्रयोजनका लागि दिँदा भने स्थानीयहरूमा संशय पैदा भएको छ ।

शहीद स्मारक प्रकृति प्रतिष्ठानले यहाँ समस्या रहेको स्वीकारेको छ । सरकारले दिने गरेको अनुदानमा कटौती, भुकम्प, नाकाबन्दी, सडक निर्माणमा ढिलाई, कोरोनाका कारण भएको लकडाउन, कर्मचारीलाई तलब दिनका लागि भएका समस्या लगायतका कारणले त्रिभुवन पार्क पहिलेको जस्तो नभएको प्रतिष्ठानको भनाई छ । जसका कारण, एक सय ६६ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा ३४ जना कर्मचारीले काम गर्ने गरेकोमा अहिले १९ जनामा खुम्चिएको छ । एकातर्फ स्थानीयअरूले अवैध रुपमा बनेको संरचना रोक्नु पर्ने बताइरहेका छन् भने आम्दानीका संरचना पनि बन्नुपर्ने अडानमा प्रतिष्ठान देखिन्छ । बार्षिक रुपमा हुने आम्दानीले कर्मचारीको तलबभत्तामा समस्या हुने गरेकाले पनि व्यवसायीक प्रयोजनका लगि जग्गा लिजमा दिनु अपरिहार्य रहेको बुझाईमा प्रतिष्ठान छ ।

त्रिभुवन पार्कलाई प्राप्त भईरहेको नियमित अनुदान बन्द हुनु ,चरम राजनीतिकरण, राजनीतिक नियुक्ति र हाकिमी प्रथाले जरो गाड्दै जाँदा त्रिभुवन पार्क दयनीय अवस्थामा आइपुगेको हो । प्राचीन महत्व झल्काउने किशिमका कलाकृति, पोखरी, ढुंगेधारा तथा चौताराका कारण पनि महत्वपूर्ण रहेको यो पार्क सरोकारवाला निकायको वेवास्ताका कारण धरासायी बन्दै जानु आफैमा चिन्ताजनक छ । यसलाई संरक्षण गर्न सकिएन भने केही वर्षभित्रै यहाँ एउटा पार्क थियो भन्ने अवस्था नआउँला भन्न सकिन्न ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update