काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले धेरैको धेरै चिज गुम्यो । घरजग्गा, खेतबारीमात्र होइन, धेरैले परिवार र आफन्त गुमाएका छन् ।
बाढीका कारण केही बालबालिका अभिभावकविहिन भएका छन् । रसुवा र नुवाकोटका होल्डिङ्ग सेन्टरहरुमा अहिले करिब एक हजार बालबालिका छन् । तीमध्ये आमाबुबा गुमाएका कति बालबालिका छन् भन्ने यकिन विवरण भने आइसकेको छैन ।
रसुवाको उत्तरगया गाउँपालिकी ८ वर्षीया परिवर्तीत नाम सुस्मा कक्षा ४ मा पढ्छिन् । भदौ १० गते अघिसम्म उनको दिनचर्या सामान्य थियो । उनी स्कुल जान्थिन्, दाजुभाइ–दीदीबहिनीहरूसँग खेल्थिन् र परिवारसँग समय बिताउँथिन् ।
भदौ १० गते उर्लिएको भोटेकोशीले सुस्माको जीवन अनिश्चितता मोडियो । त्यसदिन बिहान खाना खाएर बिद्यालय जान तयारी गरिरहेकी थिईन । तर घर माथिबाट ठूलो बाढी आएको खबर साथीहरुले सुनाए । बाढीबाट त उनलाई बचाए तर घरमा रहेका उनका परिवारका सदस्यहरु बाढीमा परे ।
कक्षा ३ मा अध्ययनरत रसुवाकी ६ वर्षीया परिवर्तीत नाम रस्मी लाई पनि बाढीले यस्तै पीडा दियो । बाढी आउँदा उनी घरमा खेलीरहेकी उनलाई बाढीको पूर्व सूचनापछि सुरक्षित स्थानमा लगियो ।
उनी सहित उनका परिवार बाढीबाट त सुरक्षित भए । तर बस्ने खोलाले सोत्तर बनायो । बाढीले बालिका रस्मीका धेरै साथीहरुलाई बेपत्त बनाएको छ भने उनी पढ्ने विद्यालय समेत बाढीले तहसनहस बनाएको छ ।
सुस्मा र रस्मी विनाशकारी बाढीबाट त जोगिए तर भविष्य अन्योल छ । कतिपय बालबालिको अभिभावकबाट छुटेका छन । भदौ १५ गते प्रकाशित युनिसेफको प्रतिवेदनअनुसार, कम्तीमा १ सय ७ जना बालबालिका आफ्ना अभिभावक वा हेरचाहकर्ताबाट छुटेका छन् ।
प्रतिवेदनले थप २२ हजार १ सय बालबालिकालाई तत्काल मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श, पारिवारिक खोजी तथा पुनर्मिलन, केस व्यवस्थापन र रिफरल सेवासहितको बाल संरक्षण सहयोग आवश्यक रहेको अनुमान गरेको छ । यी तथ्याङ्कले बेपत्ता परिवारका सदस्यहरूको खोजीभन्दा गम्भीर समस्यातर्फ संकेत गर्छन् ।
अचानक बालबालिका अभिभावक, हेरचाहकर्ता, आश्रयस्थल वा आफूले चिनेजानेका वयस्कहरूबाट संरक्षणविहीन हुँदा उनीहरू मानव बेचबिखन, शोषण, दुव्र्यवहार र बालविवाहको उच्च जोखिममा पर्न सक्छन् ।
अहिले नेपाल प्रहरीले अभिभावकसँग सम्पर्कमा नरहेका बालबालिकाको तथ्याङ्क संकलन गर्ने काम सम्बन्धित जिल्लाहरूमा गरिरहेको छ । अहिलेसम्म ३० जना बालबालिका अभिभावक विहिन भएका छन् । जसमा १८ जना बालिका र १२ जना बालक रहेको प्रहरीको आँकाडामा उल्लेख छ । कति बालबालिकाले आफनो अभिभावक गुमाएका छन् भने पूर्ण विवरण भने आउन बाँकी नै छ । यस्ता घटनामा बालवालिका मानव बेचबिखनको जोखिममा समेत पर्ने गरेका छन् । सङ्कटको समयमा, विशेषगरी बालबालिकासँग आश्रय र अभिभावकीय सहयोग नहुँदा, तस्करहरूले सजिलै फाइदा उठाउन र उनीहरूलाई प्रलोभनमा पार्न सक्ने देखिएको छ ।
भूकम्प र कोभिड–१९ महामारीका बेला आफ्ना अभिभावक गुमाएका बालबालिकालाई एक ठाउँबाट अर्को ठाउँमा लगिँदै गरेको भेटिएको थियो । त्यतिबेला तरकारी, पानी र दुग्धजन्य पदार्थ बोक्ने अत्यावश्यक सवारी साधनलाई सञ्चालन अनुमति दिइएको थियो । र, तिनै सवारी साधनमार्फत बालबालिकालाई ओसारपसार गरिएको भेटिएको थियो । ७२ सालको महाभूकम्पपछि पनि अभिभावक गुमाएका बालबालिकाहरू बेचबिखनमा परेका थिए ।
त्यतिबेला भारतीय अधिकारीहरूले भूकम्पमा जीविकोपार्जन गुमाएका परिवारलाई लक्षित गर्ने मानव बेचबिखन सञ्जालबाट २० भन्दा बढी बालबालिकाको उद्धार गरेका थिए ।
नेपालमा भूकम्प गएको करिब दुई महिनाभित्रै कम्तीमा २४५ बालबालिकालाई बेचबिखन हुनबाट र अनावश्यक वा गैरकानुनी रूपमा बालगृहमा राख्नबाट रोकिएको थियो । त्यतीबेला १ सय ४ जना बालबालिकाले आफ्ना अभिभावक गुमाएका थिए । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले बाल पीडितहरूको अभिलेख राख्दै आएको छ ।
ब्युरोले आर्थिक वर्ष २०७९\८० मा बेचबिखनका १६३ वटा मुद्दा दर्ता गरेको थियो, जसमा ८१ जना बालबालिका पीडित थिए । आव २०८०\८१ मा १ सय ७० वटा मुद्दामा ७६ जना बाल पीडित थिए । आव २०८१\८२ मा १ सय ५१ वटा मुद्दा दर्ता भएकामा ८० जना बालबालिका थिए ।
त्यसैगरी आव २०८२\८३ मा २ सय १४ वटा मुद्दा दर्ता भएकामा ८५ जना बालबालिका पीडित थिए । त्यसैले रसुवा विपद्को त्रास विस्तारै घट्दै गए पनि विकृतिहरू बढ्न सक्ने त्रास भने कायम रहेको छ । अहिले अभिभावकबिहिन वालबालिकालाई बिभिन्न संस्थाको नाममा पढाउने जिम्मा यो संस्थाको भयो भन्दै गएका छन । त्यस्था संस्थाहरुमाथि पनि प्रहरीले निगरानी र अनुसन्धान गरिरहेको जनाएको छ ।
अहिले राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिकाको अवस्था मूल्यांकन गर्न एउटा समिति गठन गरेको छ । समितिलाई स्थानीय सरकारहरूलाई कति बालबालिका आफ्ना अभिभावकसँग छन् र कति छैनन् भन्ने पत्ता लगाउन स्क्रिनिङ गर्ने जिम्मेवारी सुम्पिएको छ । त्यसैले घर परिवारविहीन बालबालिकाको सर्वोत्तम हितका लागि उचित स्याहार र मनोपरामर्शसहित दीगो व्यवस्थापनका लागि ढिला गर्नुहुँदैन ।


