News 24 Television
वालेन्द्रको अमेरिका भ्रमणमा को–को हुनेछन् ? पहिलो विदेश भ्रमण नै देशका लागि विशेष !

काठमाडौं । भोटेकोशी बाढीका कारण नेपालले भोगेको क्षति र जलवायु परिवर्तनका कारण देखिएको समस्याबारे जानकारी दिन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका जाने भएका हुन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन वालेन्द्र न्यूयोर्क जाने भएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन जाने संकेत गरेपछि परराष्ट्र तयारी तीब्र पारेको छ । 

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा २३ भदौदेखि न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरू हुँदैछ । महासभाको उच्चस्तरीय बैठक भने ६ असोजदेखि सुरू हुने तालिका छ । 

जसअनुसार प्रधानमन्त्री वालेन्द्र शाहले महासभा बैठकलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्ने तयारी तीब्र पारिएको बताइएको छ । प्रधानमन्त्री वालेन्द्रले जलवायु परिवर्तनका कारण नेपालले भोगेको समस्या, हिमताल फुट्ने जोखिम र कार्बन उत्सर्जनमा नेपालको शून्यप्रायः भूमिका रहेपनि क्षति सबैभन्दा धेरै भोग्नुपरेको विषयमा बोल्ने बताइएको छ । 

को–को हुनेछन भ्रमण टोलीमा ?

परराष्ट्र्मन्त्री शिशिर खनालको नेतृत्वमा महासभाको बैठकमा पठाउने निर्णय भएपनि भदौ १० गते आएको भोटेकोशी बाढीका कारण संयुक्त राष्ट्रसंघको महासभा बैठकलाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनका कारण भोग्न थालेको समस्याबारे जानकारी गराउने गरि वालेन्द्र अमेरिका जाने तयारीमा जुटेका हुन् । 

वालेन्द्रको भ्रमण टोलीमा प्रधानमन्त्री कार्यालयबाट सल्लाहकार कुमार बेनसहित निजी सचिव तता सहसचिव प्रदीप परियार, सहल्लाहकार सुवाश शर्मा, फोटोग्राफर विनय शाक्य लगायत सहभागी हुने तयारी गरिएको छ भने परराष्ट्रमन्त्री शिशिर खनाल पनि भ्रमण टोलीमा सहभागी हुनेछन् । १० जनासम्मको भ्रमण टोली अमेरिका प्रस्थान गर्ने गरि तयारी गरिएको बताइएको छ । 

परराष्ट्रले थाल्यो तयारी

प्रधानमन्त्री वालेन्द्र शाह नै न्यूयोर्क जाने भएपछि परराष्ट्रमन्त्रालयले तीब्र तयारी गरिरहेको छ । अमेरिकास्थित दूतावासलाई पनि तयारी गर्नका निम्ति निर्देशन दिइसकिएको बताइन्छ । महासभाको सम्बोधन लगत्तै प्रधानमन्त्री वालेन्द्र शाह भने नेपाल फर्किने र परराष्ट्रमन्त्री शिशिर खनालले साइडलाइन वार्तादेखि अन्य विषयमा काम गर्ने सरकारी तयारी रहेको छ । यद्यपी सबै कार्यतालिकाहरु सार्वजनिक रुपमा प्रधानमन्त्री कार्यालयले समेत जानकारी नदिइसकेकाले उनी सम्बोधन गर्न जानेबाहेकका धेरे सूचना भने सार्वजनिक गरिएका छैनन् ।

पहिलो विदेश भ्रमण

प्रधानमन्त्री पद सम्हालेपछि वालेन्द्र शाहले पहिलो विदेश भ्रमण नै अमेरिकाबाट गर्ने भएका छन् । कार्यभार सम्हालेको एक वर्षसम्म विदेश भ्रमणमा नजाने तयारीमा रहेका वालेन्द्र बाढीको विपत्तिपछि अमेरिका जान लागेका हुन्। जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति व्यहोर्न पुगेको र अहिले विश्वभर यसबारे चर्चा भइरहेको छ । 

नेपाल भ्रमणमा आएका दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले समेत परराष्ट्रमन्त्री शिशिर खनालसंगको भेटवार्ताको क्रममा जलवायु परिवर्तनबाट नेपालमा भएको क्षतिबारे दक्षिण कोरियाले आवाज उठाउने प्रतिबद्धता जनाएको बताइएको छ । 

यस्तोमा सबैतिर बनिरहेको माहोलकाबीच अमेरिका भ्रमणमा जान लागेका प्रधानमन्त्री वालेन्द्र शाहको यो पहिलो विदेश भ्रमण भएपनि उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ । यद्यपी वालेन्द्रलाई भारतले समेत भ्रमणको निम्तो दिएको बताएपनि उनी भारत भ्रमण कहिले जान्छन भन्ने अनिश्चितता बढेको देखिन्छ ।

आउन थाल्यो सुझाव

संयुक्त राष्ट्रसंघको महासभामा सहभागीतापछि नेपालको प्रतिनिधित्वलाई बलियो बनाउनुपर्नेतर्फ समेत सुझावहरु आउन थालेका छन् । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई जिम्मेवारपूर्वक पेश हुन र सचिवालयको भर नपर्न सुझाव समेत दिएका छन् । 

कांग्रेसले यसरी सुझाव दिदै गर्दा अन्य क्षेत्र तथा दलहरुले पनि सुझाव दिन थालेका छन् । महासभा बैठकमा पेश हुने कुराले नेपालको प्रतिनिधित्व गर्ने र जलवायु न्यायको पक्षमा काम गर्न सक्ने हुनुपर्नेमा जोड दिन थालिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update