News 24 Television
भोटेकोशीमा सर्वस्व गुमाएकामाथि रास्वपा समर्थकको गालीको वर्षा !

काठमाडाैँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मच्चाएको ताण्डवका कारण सिङ्गो देश शोकमा डुबेको छ। आफ्नो सर्वस्व गुमाएकाहरू आफन्तको लास र सासको पर्खाइमा बगरमा बसिरहेका छन्। कोही श्रीमान् खोजिरहेका छन्, कोही छोराछोरीको खबर पर्खिरहेका छन्। कोही राहतको लाइनमा छन् त कोही बस्ने छानो खोजिरहेका छन्। राज्यसँग उनीहरूको प्रश्न छ– ‘हाम्रो मान्छेको कि सास देऊ कि लास? हाम्रो उद्धार कहिले हुन्छ? राहत कहिले पाउँछौँ? सरकार कहाँ छ?’

तर, यही प्रश्न सोधिरहेका पीडितमाथि सामाजिक सञ्जालमा भइरहेको गालीगलौजले विपत्तिपछिको अर्को भयावह तस्बिर देखाएको छ। पीडामा रहेका तिनै नागरिकमाथि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही कार्यकर्ताबाट सामाजिक सञ्जालमा सुन्नै नसकिने र पढ्नै नमिल्ने गरी अमर्यादित गालीगलौज तथा आक्रमण भइरहेको छ ।

नागरिकको दुःखमा सहानुभूति प्रकट गर्नुको साटो गरिएको यो चरम असंवेदनशीलता र डिजिटल गुण्डागर्दीले लोकतन्त्र र मानवीयताको उपहास गरेको छ। सामाजिक सञ्जालमा पीडितको घाउमा नुनचुक दल्ने यस्ता प्रवृत्तिका कारण चौतर्फी आक्रोश चुलिँदै गएपछि रास्वपाका केही जिम्मेवार नेता तथा सांसदहरू नै यसको विरोधमा उत्रिन बाध्य भएका छन्। सांसद रञ्जु दर्शनाले बाढीपीडित महिलामाथि सामाजिक सञ्जालमा भएको दुव्र्यवहारप्रति आपत्ति जनाउँदै विपत्तिमा आफन्त गुमाएकी महिलाको आक्रोशलाई मानवीय संवेदनाबाट बुझ्नुपर्ने धारणा राखेकी छन्।

उनले लेखेकी छिन्– ‘खरै काखमा बच्चा च्यापेर आफ्नो श्रीमान् खोजी गरिदिन सरकारलाई बिलानावृत्ति गरिरहनुभएको दिदीको भिडियो हेरेँ र धेरै दाजुभाइ तथा केही दिदीबहिनीको कमेन्ट पढेँ। ती दिदीको जीवनमा प्रलय गएको छ, भोलिको अनिश्चितताले मन काँपेको छ। उहाँले सरकारलाई गाली पनि गरिरहनुभएको छ, मलाई पनि राम्रो लागेन तर त्यो गालीभन्दा माथि धेरै पर मनको कुनामा आशा छ– आफ्नो मान्छे फर्केर आउनुहुन्छ भन्ने। ए साथी हो, हाम्रो जीवनमा काल्पनिक र अन्यायपूर्ण केही भयो भने भगवानसँग त हामी रिसाउँछौँ, झोकिन्छौँ। यसरी कसैको पीडामाथि खिसिट्यूरी गर्दै अशोभनीय टिप्पणी गरेको हुँदै भएन। यसप्रति गम्भीर खेद व्यक्त गर्दछु।’

रास्वपाकी सहमहामन्त्री एवं सांसद निशा डाँगीले पनि विपत्तिमा परेका व्यक्तिको पीडामाथि सामाजिक सञ्जालमा गरिएको टिप्पणीप्रति दुःख व्यक्त गरेकी छन्। बाढीले श्रीमान् गुमाएकी महिलाको पीडा र असहायपनलाई बाहिरबाट बसेर मूल्याङ्कन गर्न नसकिने उनको भनाइ छ। पीडित महिलाले कुनै तमासा देखाइरहेकी नभई आफ्नो पीडा र असहायपन पोखिरहेको उल्लेख गर्दै उनले उक्त भिडियोमा आएका केही कमेन्टमा देखिएको घृणा अझ पीडादायी भएको बताएकी छन्। उनको प्रश्न छ– ‘कसैको जीवन उजाडिएको बेला हामी यति कठोर कसरी हुन सक्छौँ? कसैको संसार भत्किँदा हामीलाई व्यङ्ग्य गर्न, गाली गर्न र दोष लगाउन किन यति सजिलो हुन्छ?’

पीडित जनतामाथि भइरहेको यो मानसिक प्रताडना र अनलाइन दुव्र्यवहारप्रति प्रधानमन्त्री बालेन शाहले समेत गम्भीर आपत्ति जनाएका छन्। बाढीपीडितलाई राहत र पुनःस्थापनाको सट्टा उल्टै अपमान र तुच्छ टिप्पणी गर्ने जो कसैलाई पनि कानुनको दायरामा ल्याएर  कारबाही गर्ने चेतावनी प्रधानमन्त्री शाहले दिएका छन्।

उनले लेखेका छन्– ‘आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ। यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।’

रास्वपाको राजनीतिक उदयको मूल आधार नै पुरानो राजनीतिक संस्कारप्रतिको असन्तुष्टि थियो। नागरिकको आवाज सुन्ने, प्रश्न गर्ने र सत्तालाई जवाफदेही बनाउने राजनीतिक संस्कारको वाचा गर्दै पार्टी अघि बढेको हो। तर सत्ता नजिक पुगेपछि आफ्नै समर्थकबाट सरकारको आलोचना गर्ने नागरिकलाई ‘शत्रु’ ठान्ने प्रवृत्ति बढ्यो भने त्यो रास्वपाका लागि नै सबैभन्दा ठूलो राजनीतिक विरोधाभास बन्न सक्छ। बाढीमा आफन्त गुमाएको व्यक्तिले आवेगमा प्रधानमन्त्री वा सरकारलाई गाली गर्न सक्छ, उसको भाषा असभ्य हुन सक्छ; तर त्यसको जवाफमा सङ्गठित शैलीमा पीडितकै चरित्रहत्या गर्ने, अपमान गर्ने वा सामाजिक सञ्जालमा थप पीडा दिने अधिकार कसैलाई हुँदैन।

प्राकृतिक विपद् राष्ट्रिय सङ्कट हो, जसले कुनै पार्टी वा विचार हेर्दैन। तर, यस्तो महाविपत्तिमा पनि राजनीतिक चस्मा लगाएर पीडित जनतालाई नै लाञ्छित गर्नु र गालीगलौजमा उत्रिनु राजनीतिक संस्कारको पतन हो। समयमै यसतर्फ सचेत बन्नुपर्छ, नत्र भोटेकोशीको बाढीले बगाएको घर र परिवारसँगै ‘नयाँ राजनीति’प्रतिको नागरिक भरोसा पनि बग्न सक्छ।
 

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update