चितवन । बाढीपछि नेपाल असुरक्षित रहेको भ्रम चिर्दै भारतीय पर्यटक आकर्षित गर्न नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ आयोजना गरिएको छ ।
योसँगै २१ भारतीय पर्यटन व्यवसायीले प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गरेका छन् । अभियानसँगै नेपाल–भारत पर्यटन परिषद् गठनको घोषणा गरिएको छ ।
बुढीगण्डकी र भोटेकोशीमा आएको भीषण बाढीपछि नेपाल असुरक्षित रहेको सन्देश फैलिँदा प्रभावित पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ आयोजना गरिएको छ ।
तीन दिने अभियानमा भारतका २१ पर्यटन व्यवसायी तथा प्रतिनिधिले लुम्बिनी, बागमती र गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य अवलोकन गर्दै नेपाल सुरक्षित रहेको सन्देश दिएका छन् ।
चितवन र नवलपुरका होटल, रिसोर्ट तथा पर्यटकीय स्थलको भ्रमणपछि भारतीय प्रतिनिधिहरूले नेपालको पर्यटन वातावरण सामान्य र सुरक्षित रहेको बताएका छन् ।
बाढीपछि फैलिएको त्रासका कारण पर्यटक आगमन घट्नुका साथै होटलका अग्रिम बुकिङसमेत रद्द भएका थिए । नेपाली पर्यटन व्यवसायीलाई भारतीय ट्राभल नेटवर्कसँग जोड्दै व्यावसायिक साझेदारी विस्तार गर्ने उद्देश्यले सञ्चालित अभियानले पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको छ ।
प्राकृतिक विपत्ति सीमित क्षेत्रमा भएपनि त्यसको मनोवैज्ञानिक असरले समग्र पर्यटन अर्थतन्त्र प्रभावित भएको व्यवसायीहरूको भनाइ छ । प्रमुख पर्यटकीय गन्तव्यहरू सुरक्षित रहेको वास्तविकता अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन यो अभियान महत्वपूर्ण बनेको छ ।
अभियानले तत्काल पर्यटक आकर्षित गर्ने मात्र नभई नेपाल र भारतबीचको पर्यटन सहकार्यलाई दीर्घकालीन बनाउने लक्ष्यसमेत लिएको छ । कार्यक्रमको समापनसँगै नेपाल–भारत पर्यटन परिषद्’ गठनको घोषणा गरिएको छ ।
नवगठित परिषद्ले विपद्का बेला सही सूचना प्रवाह, सीमापार पर्यटक आवागमन सहजता र तेस्रो मुलुकमा संयुक्त पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने बताइएको छ ।


