News 24 Television
पोखरा, भरतपुर र लुम्बिनी जोड्दै ‘सिल्भर ट्रयांगल’

काठमाडौं । पोखरा, भरतपुर र लुम्बिनीलाई सिल्भर ट्रयांगल पर्यटन सर्किटमा जोडेर अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रवद्र्धन गरिने भएको छ । तीनै सहरले पर्यटन पूर्वाधार, यातायात, डिजिटल मार्केटिङ र एकीकृत पर्यटक प्याकेज विकासमा सहकार्य गर्ने भएका छन् । 
 
पर्यटनको राजधानी पोखरा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी र चितवनको भरतपुरलाई एउटै पर्यटन सर्किटमा जोडेर पर्यटन प्रवद्र्धन गर्ने पहल गरिएको छ । तीनवटै स्थानीय तहले पर्यटन विकास, संयुक्त बजारीकरण र पूर्वाधार विस्तारमा सहकार्य गर्दै सिल्भर ट्रयांगल अवधारणालाई कार्यान्वयनमा लैजाने तयारी गरेका हुन् । 

पर्यटनमार्फत् तीनै सहरको अर्थतन्त्र समृद्ध बनाउने उद्देश्यले भरतपुर महानगरपालिकामा सरोकारवालाबीच छलफल भएको छ । बैठकमा तीनै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, पर्यटन व्यवसायी र निजी क्षेत्रका अगुवाले धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनलाई एकीकृत रूपमा अघि बढाउने प्रतिबद्धता जनाए ।

सिल्भर ट्रयांगलले पोखरा, भरतपुर र लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोडेर अन्तर्राष्ट्रिय बजारमा संयुक्त रूपमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । 

तीनै सहरले वार्षिक नीति तथा कार्यक्रममा यो अवधारणा समेट्ने, पालैपालो ट्राभल मार्ट आयोजना गर्ने, संयुक्त प्रचार सामग्री तयार पार्ने र पर्यटन पूर्वाधार तथा अन्तरसहर यातायातलाई व्यवस्थित बनाउने योजना बनाएका छन् । सर्किटमा पर्ने अन्य पालिकालाई समेत समेटिने जनाइएको छ ।

तीन गन्तव्यको सहकार्यले पर्यटकलाई एउटै यात्रामा फरक–फरक अनुभव दिलाउनुका साथै नेपालमा बसाइ अवधि लम्ब्याउन मद्दत पुग्ने विश्वास गरिएको छ । पोखराको प्राकृतिक सौन्दर्य र साहसिक गतिविधि, भरतपुरको जैविक विविधता तथा वन्यजन्तु र लुम्बिनीको आध्यात्मिक शान्तिलाई एउटै प्याकेजमा समेट्ने तयारी छ ।

पर्यटन व्यवसायीले भने अवधारणालाई कागजमा सीमित नराखी यातायात, पर्यटकीय सेवासुविधा र अन्तरसरकारी समन्वयमा ठोस काम गर्नुपर्ने बताएका छन् । व्यवसायी–व्यवसायीबीचको बीटुबी र सरकार–सरकारबीचको जीटुजी सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको जोड छ ।

बैठकमा पोखरा र लुम्बिनीका विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्ने विषयमा समेत छलफल भएको छ । 

तीनै सहरको संयुक्त डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रियस्तरका कार्यक्रम र एकीकृत पर्यटक प्याकेज विकास गर्ने योजना छ । सिल्भर ट्रयांगलसम्बन्धी पहिलो बैठक पोखरामा भएको थियो भने दोस्रो बैठक भरतपुरमा सम्पन्न भएको छ । अब अर्को बैठक लुम्बिनीमा आयोजना गरिनेछ ।

समझदारीअनुसार स्थानीय समुदाय, होटल, ट्राभल एजेन्सी तथा पर्यटन व्यवसायीबीच सञ्जाल विस्तार गर्नुका साथै स्थानीयदेखि संघीय सरकार, नेपाल पर्यटन बोर्ड र विकास साझेदारसँग समन्वय गरेर पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाइनेछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update