News 24 Television
युनिस र राहुल NPL मा भेटिएका हिरा, चुलिँदै चर्चा !

काठमाडौं । कीर्तिपुरस्थित टियु मैदानमा जारी एनपीएल सिजन–३ रोमाञ्चक बनिरहेको छ । देशी–विदेशी नाम चलेका खेलाडीको खेल हेर्न दर्शक ओइरिएका छन् । पहिलोचरण खेल चलिरहँदा ठुला स्टार फ्लप भएका छन् भने केहि युवा स्टारले दमदार प्रदर्शन गरेका छन् ।

यसले एनपीएलको रोमाञ्चकता बढाएको छ । सुरुवाती खेल चम्किएका दुई युवा स्टार कर्णाली याक्सका युनिस बिक्रम सिंह ठकुरी र जनकपुर बोल्ट्सका राहुल यादवले सबैको ध्यान खिचे । 

नेपाली प्रिमियर लिग एनपीएल प्रतियोगिताको मुख्य उदेश्य हो, घरेलु क्रिकेटलाई बलियो बनाउने, युवा प्रतिभाको खोजी गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दक्ष र योग्य खेलाडी बनाउने । 

एनपीएल सिजन–३ को पहिलो चरणका खेल चलिरहँदा दुई जना युवा खेलाडी चर्चाको शिखरमा छन् । अर्थात् दर्शकको नजरमा परेका छन् । ती दर्शकको ध्यान खिच्ने खेलाडी हुन्, युनिस बिक्रम सिंह ठकुरी र राहुल यादव । 

मंगलबार भएको तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दा युनिस र राहुल सर्बत्र छाए । युनिस कर्णालीका प्रतिभा हुन् भने राहुल जनकपुरका । 

यी दुबै खेलाडीको कथा बेग्लै छ । युनिस राज्यबाटै हेपिएको कर्णालीको हावापानीमा हुर्किएका हिरा हुन् । राहुल सयौँ प्रतिष्पर्धीलाई उछिन्दै ट्यालेन्ट हण्टबाट छानिएका युवा प्रतिभा हुन् । आउनुहोस् दुबै जनाको खेल्ने शैली र कलाकौशलता बारे जानौँ !

युनिस बिक्रम सिंह ठकुरी

मंगलबार जनकपुर बोल्ट्सलाई पराजित गर्दा नायक बनेका युनिस सर्बत्र छाए । महत्वपूर्ण ३ विकेट लिँदै प्लेयर अफ दी म्याच बन्दा सिंगो कर्णालीले गर्भ र राहतको महसुस ग¥यो । जाजरकोटको दुर्गम भुमिमा जन्मिएर देशकै सर्वौत्कृष्ट लिगमा युनिसले देखाएको खेल–कौशलताले सबैको मन जित्यो । 

विश्वस्टार खेलाडी जेम्स निसाम, जनकपुरका कप्तान हरमीत सिंह र आदित्य महतको विकेट लिँदा उनी माथि सबैको नजर प¥यो । कसिलो बलिङ गरेका उनले ४ ओभरमा २२ रन मात्रै खर्चिन पुगे । 

उसो त उनी सिजन–१ देखि नै कर्णालीकै टोली थिए । तर पहिचान बनाउन उनलाई जनकपुर विरुद्धको खेल कोशेढुंगो सावित बन्यो । २० बर्षीय राइटआर्म अर्थब्रेक स्पिन बलर युनिसको लक्ष्य छ–राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने । 

अझ युवा स्टार क्रिकेटर युनिसको धनुषबाण सेलिब्रेसन शैली रोचक र सन्देशमुलक थियो । कर्णाली प्रतिभाको खानी हो र प्रतिभा उजागर गर्ने प्लेटफर्म पर्खेर हजारौँ युवा बसेका छन् । 

उनले दिन खोजेको सन्देश यहि हो । साथै, राज्यको नजर कर्णालीसम्म पुग्नुपर्छ भन्ने उनले सन्देश पोखेका थिए । कर्णाली याक्सका कप्तान सोमपाल पनि कर्णालीलाई हेर्न नजर फेनुपर्ने कुरामा सहमत छन् । 

कर्णाली प्रदेशबाट १९ बर्ष मुनिको राष्ट्रिय प्रतियोगिताबाट खेलिसेका युनिसको सपना सिनियर टोलीको ढोका खोल्नु हो । 

घरेलु र विशेषगरी कर्णालीमा उनी चिरपरिचित युवा प्रतिभा हुन् । यहि लय कायम राखे उनको यात्रा राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय सम्म पुग्ने कुरामा दुई मत छैन । 

राहुल यादव

राहुल यादव जनकपुरको ट्यालेन्ट हण्टमा भेट्टीएका युवा खेलाडी हुन् । एनपीएलको डेब्यु खेलको पहिलो बलमै विकेट लिएपछि उनी चर्चाको शिखरमा छन् । मधेस प्रदेशका हजारौँ प्रतिष्पर्धीका विच बोल्ट्सले आइकोनिक खेलाडीको रुपमा टोलीमा स्थान दिएको थियो । 

जनकपुरले पहिलो खेलमा नै मैदानमा उतार्दा उनी प्रभावशाली देखिए । कर्णाली याक्सविरुद्ध पहिलो बलमै दिपक डुम्रेलाई बोल्ड आउट विकेट लिएर सबैको ध्यान खिच्न सफल बने । 

डुम्रे र पाकिस्तानका अनुभवी खेलाडी हुसन तलतको विकेट लिँदै कसिलो बलिङ गरेका उनले ४ ओभरमा १५ रन मात्रै खर्चिए । 

उनको बलिङ गर्ने शैली र परिपक्कताको चौतर्फी तारिफ भइरहेको छ । १७ बर्षीय राइटआर्म मिडियम पेसर राहुलले सनसनी मच्चाएपछि आगामी खेलमा उनी प्लेइङ–११ मा मौका पाउने कुरामा कुनै दुई मत छैन् । 

त्यतिमात्रै होइन, तेस्रो सिजनको प्रतियोगितामा राम्रो प्रर्दशन गरे राष्ट्रिय टोलीको ढोका नखुल्ला भन्न सकिन्न । कप्तान हरमीत सिंह राहलुको प्रतिभा देखेर मख्ख छन् । 

रौतहटको चन्द्रपुर स्थायी घर भएका राहुललाई उदयीमान र प्रतिभावान खेलाडीका रुपमा हेर्न थालिएको छ । उसो त एनपीएल एउटा यस्तो प्लेटफर्म हो, जसले रातारात क्रिकेटरलाई सफलताको सिँढी चढाई दिन्छ ।

अनि कतिपय स्टारलाई ओझेलमा पनि । आफ्नो प्रतिभा र खेलकौशता देखाउने खेलाडी लाखौँ दर्शकको मनमुटुमा बस्छन् । 

कोहि हराउँछन् । त्यहि भिडमा दर्शकको ध्यान खिच्न सफल युनिस र राहुल आगामी खेलमाम कस्तो प्रदर्शन गर्छन्, त्यसले उनीहरुको क्रिकेट यात्रालाई थप सफल र मजुबद बनाउनेछ । हाम्रो तर्फबाट नव प्रतिभालाई बधाई तथा शुभकामना ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update