News 24 Television
आगामी चुनावमा एआईको डर, लोकतन्त्र पर्छ त खतरामा ?
AIKO-DAR__100

काठमाडौँ । पछिल्ला दिनहरुमा विश्वव्यापीरुपमै आर्टिफिसियल इन्टेलिजेन्सी अर्थात एआईको प्रयोग व्यापक हुँदै गएको छ । अहिलेको प्रविधिको दुनियाँमा योभन्दा धेरै चर्चामा रहेको शब्द हो भन्दा फरक पर्दैन । एआईकै कारण विश्वमा धेरैले रोजगारी गुमाइरहेका छन् भनि समाचार बाहिरिएका छन् । यहाँ जागिर गुम्मे डर मात्रै होइन नेताहरुलाई समेत एआईले त्रसित बनाएको छ ।

एआई प्रविधिको विकास र बढ्दो प्रयोगले अवसर र जोखिमका विभिन्न पक्ष बहसमा ल्याइरहेको छ । आगामी दिनहरुमा एआईले विश्वमा करोडौं मानिसहरुको जागिर समाप्त गरिदिने आँकलन गरिएको छ । गोल्डम्यान सेसको एक रिपोर्ट अनुसार सन् २०३० सम्ममा विश्वभरका ३० करोड मानिसले एआईकै कारण आफ्नो रोजगारी गुमाउनेछन् । एआईको सबैभन्दा ठूलो असर कोडर, कम्प्युटर प्रोग्रामर, सफ्टवेयर इन्जिनियर, डेटा एनालिस्ट, न्याय उद्योग, बजार विश्लेषक जस्ता जागिरहरुमा पर्नेछ । तर यसले विस्तारै अन्य क्षेत्रहरुमा पनि असर पूराउनेछ र त्यहाँका जनशक्तिहरुले पनि जागिर गुमाउने खतरा बढ्ने आकलन छ । साथै त्यसोभए के एआई केवल मानिसको जागिर खोसिदिनका लागि मात्रै आएको हो त ? के यसका फाइदालाई सदुपयोग गर्न सकिन्न् त्यो पनि बहसको विषय बनिरहेकै छ । तर पनि, एसिया, युरोप होस् वा अमेरिकाको प्रविधि उद्योगमा अहिले एआई सबैको चासो, आशा र चिन्ताको विषय बनिरहेको छ ।

यहाँ एआईको डर मानिसको जागिरसम्ममा मात्रै सीमित छैन । नेपाली राजनीतिज्ञहरुलाई समेत आगामी निर्वाचनमा एआईले समस्या पार्ने त होइन भन्ने चिन्ता छ । सामाजिक सञ्जालले पार्न सक्ने प्रभावबारे चर्चा परिचर्चाका क्रममा नेताहरुले अन्य सामाजिक सञ्जालका साथै एआईको बढ्दो प्रयोगलाई जोखिम र अवसर दुवैका रुपमा लिएपनि नकारात्मक जोखिम उच्च रहेको कुरालाई नकारेका छैनन् ।

नेपालमा मात्रै होइन विश्वभरका नेताहरुलाई समेत थर्कमान बनाउने एआईको वास्तविकता के हो ? आखिर एआई वास्तवमा के हो जसले लाखौं करोडौं मानिसको जागिर खोस्नका लागि तयार देखिएको छ ? चुनावमा नतिजा प्रभावित पार्न सक्ने भन्दै नेताहरुलाई चिन्तित बनाएको छ ? यो कहाँबाट आयो र मानिसले यसको प्रतिकार गर्न किन सकिरहेको छैन ?

के हो एआईको वास्तविकता ?

– सामान्य बोलिचालिको भाषामा बुझ्दा मेसिनमा मानिसको जस्तै बुद्धि वा बौद्धिक क्षमता हुनु नै आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई हो ।
– कृत्रिम तरिकाबाट यसको निर्माण गरिएको हुन्छ ।
– कोडिंगका माध्यमबाट मेसिनमा मानिसको जस्तै बौद्धिकताको विकास गरिन्छ ।
– सोही कारण उसले मानिसले जस्तै सिक्न, आफैंले निर्णय गर्न र एकसाथ धेरै कामहरु गर्न सक्छ।
– एआईका माध्यमबाट कम्प्युटर सिस्टम वा रोबोटिक सिस्टमलाई यस्तो किसिमले तयार गरिन्छ कि यसले मानव मस्तिष्कले जस्तै गरी तर्कका आधारमा चल्ने प्रयास गर्दछ ।

एआईले मानिसको बुद्धिले जस्तै काम कसरी गर्छ ?

– एआई वास्तवमा मेसिन लर्निंगको माध्यमबाट मानिसको जस्तै बुद्धिको विकास गर्ने प्रक्रिया हो ।
– यो मेसिनले मानवीय सहयोग विना कम्प्युटर प्रोग्रामबाटै स्वचालित रुपमा सिक्दछ ।
– अर्थात् कुनै मेसिनलाई कुनै कमान्ड दिनेपछि उसले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्सको हिसाबबाट निर्णय गर्दछ र फेरि त्यसको कमान्डमा काम गर्दछ ।

आम सहजताका लागि समग्रमा भन्दा आर्टिफिसियल इन्टेलिजेन्स एआई मानिसको जस्तै सोच्ने सफ्टवेयर हो, जसले मानिसले जस्तै निर्णयहरु गर्ने गर्छ । मानव मस्तिष्कले कसरी सोच्दछ र समस्याको समाधान गर्ने समय कसरी सिक्दछ ? कसरी निर्णय दिन्छ र कस्तो काम गर्दछ ? भन्ने कुरा एआईले अध्ययन गर्दछ । यी सबै तर्कका आधारमा एआईले सोही जस्तो परिस्थितिमा निर्णय लिन्छ ।

एआईको तीव्र प्रयोग भइरहेका क्षेत्रहरु

– सफ्टवेयर तथा एपको कोडिंग मात्र होइन
– लेखन, फोटो तथा ग्राफिक्स डिजाइनिंग, सम्पादन, फोटोग्राफी, चिकित्सा, शिक्षा आदिजस्ता क्षेत्रमा एआईको प्रयोग तीव्र भइरहेको छ ।
– सडक, रेल तथा हवाई यातायातमा ट्राफिक नियन्त्रण, स्मार्ट कार, सेल्फ ड्राइभिंग कार, भ्याकुम क्लिनर, पर्सनल असिस्टेन्ट रोबोट आदिको रुपमा पनि विश्वमा एआईको प्रयोग बढिरहेको छ ।
– विभिन्न च्याटबट वा एलेक्सा जस्तो स्मार्ट स्पिकरका साथै शिक्षा, गेमिंग, मौसम पूर्वानुमान, उद्योगमा उत्पादन प्रणालीलाई ठीक पार्ने तथा लेखापालन जस्ता कामहरु एआईले गर्न थालिसकेको देखिन्छ ।

एआई स्वास्थ्य सेवामा वरदान

– स्वास्थ्य सेवाको क्षेत्रमा एआईले सामान्य स्वास्थ्यको हेरचाह, शरिरीरका विभिन्न मापदण्डहरुको मापन तथा अनुगमनका साथै रोगको निदानका लागि मात्र होइन एआई स्क्यानको प्रयोगबाट शरीरका ससाना समस्याहरुको समेत पहिचान गर्न सहयोग पुगिरहेको छ ।

– विरामीहरुको श्रेणीका आधारमा पहिचान गर्ने, विशेष स्वास्थ्य आवश्यकताको पहिचान गर्ने, उपचारका लागि हरक मानिसमा केन्द्रित भएर योजना बनाउने, त्यसलाई सम्झाउने र त्यसको अनुगमन गर्ने, मेडिकल रेकर्ड बनाउने र ट्रयाक गर्नुका साथै स्वास्थ्य विमाको दाबी सम्बन्धी काममा समेत एआईको सहयोग लिन थालिएको छ ।

– एआईमा आधारित रोबोटिक सर्जरी, भर्चुअल नर्स तथा डाक्टर आदि सुविधाका लागि पनि एआईको भविष्य सफल नहोला भन्न सकिन्न ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको सुरुवात सन् १९५० को दशकमा भएको हो ।

https://youtu.be/89glVcaJr8Q

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update