News 24 Television
बागमतीमा रमिता छ, मन्त्रालयभन्दा धेरैै मन्त्री !

मकवानपुर । बागमती प्रदेश सरकारमा मंगलबारमात्रै ५ जना मन्त्रीले सपथ लिए । एमालेका ४ र एकीकृत समाजवादीका एक गरी पाँचजना मन्त्रीले सपथ लिँदा १२ मन्त्रालय रहेको बागमतीमा मन्त्रीको संख्या भने १३ पुगेको छ । प्रदेश सरकारमा रहेका दलहरुले आफ्नो अडान नछाड्दा मन्त्रालयभन्दा मन्त्रीको संख्या बढी भएको हो । 

मंगलवार विहान नेकपा एसकी सांसद रमा आलेमगरले बिनाविभागीय मन्त्रीको सपथ खाइन् । मंगलवार दिउँसो नै फेरि प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरुको सपथ कार्यक्रम आयोजना भयो । त्यसमा एमालेका एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशवप्रसाद पोखरेल र प्रकाश श्रेष्ठले पद तथा गोपनियताको सपथ लिए । मंगलबार बागमती क्याविनेटमा ५ मन्त्री थपिदाँ मन्त्रीको संख्या १३ पुगेको छ । तर बागमती सरकारमा मन्त्रालयको संख्या भने १२ मात्रै छ । तर प्रदेस सरकारकै मन्त्रीले भने मन्त्रालय संख्या घटाएर ११ बनाउने बताइरहेका छन् ।  

यता, प्रदेश सभामा ७ सिट मात्रै रहेको नेकपा एसले ३ वटा मन्त्रालय लिएको छ । यसअघि रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ र श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल यथावत् छन् । जसमा मंगलबारमात्रै विनाबिभागीय मन्त्री आलेमगर थपिएकी हुन् । धेरै मन्त्रालय लिएका दलले छोडेर भएपनि नेकपा एसले ३ वटै मन्त्रालय लिने नेकपा एसका संसदीय दलका नेता कृष्ण प्रसाद खनाल बताउँछन् । 

यता, एमालेले पनि ५ वटा मन्त्रालय लिइसकेको छ । आइतबार नै अर्थमन्त्रीमा जगन्नाथ थपलिया नियुक्त भइसकेका छन् । प्रदेशमा रहेका गठबन्धनको घटक दल रहेका कारण ५ वटा मन्त्रालय लिनुमा कुनै नौलो बिषय नभएको एमालेको दाबी छ । 

यता, विश्वासको मत पाउनका लागि भटाभट मन्त्री नियुक्त गरेका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई सरकारलाई अब कसरी मिलाएर लाने भन्ने चुनौती थपिएको छ । माओवादीका हाल मुख्यमन्त्री सहित ४ मन्त्री छन् । अन्य दललाई रिझाएर माओवादीले आफ्नो एक मन्त्री घटाउने कदम अघि बढाउन नसके सरकार नै धरमर हुने स्थिति छ ।  

बागमतीमा हाल सबै मन्त्रालयले मन्त्री पाइसकेको अवस्थामा आज नियुक्त भएकी बिना विभागीय मन्त्री रमा आले मगरलाई कसरी व्यवस्थापन गरिएला भन्ने चौतर्फी चासोको विषय बनेको छ ।  
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update