News 24 Television
ओली–प्रचण्डसँग माधव नटिक्ने संकेत, सुदूरपश्चिमको झिल्को अन्य प्रदेशमा सल्किने खतरा

काठमाडौँ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा काँग्रेससहितको गठबन्धनलाई सघाएपछि यसको भिल्को अन्य प्रदेशका साथै केन्द्रमा समेत सल्किने खतरा बढेको छ । यसको टड्कारो सम्भावना दर्शाउन इलाम– २ को उपनिर्वाचनको दृश्य पनि काफी छ । जहाँ सत्ता गठबन्धनमा आबद्ध दलहरू रास्वपा र एकीकृत समाजवादीले आ–आफ्नै एकल उम्मेदवार उठाएका छन् भने एमाले उम्मेद्वारलाई माओवादीले मात्र समर्थन गरेको छ । यी घटना र परिदृश्यले केन्द्रमा पनि एमाले–माओवादी–रास्वपा र एकीकृत समाजवादी सम्मिलित सत्ता गठबन्धन जेनतेन टिकिरहेको जनाउँछ । एक प्रकारले यो गठबन्धनमा संकट देखिइसकेको छ, बार्गेनिङ र भागबण्डा नमिल्नेबित्तिकै जुनसुकै बेलात ती असन्तुष्ट दलहरूले साथ छोड्न सक्छन् । 

आइतबार सुदूरश्चिम प्रदेशमा जे भयो, त्यसले केन्द्रमा समेत सत्ता गठबन्धनमा दरार ल्याउने संकेत देखिएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादीका अध्यक्ष नेपालसँग गरेका वाचा पूरा नगरेको आरोप लागेको छ । अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने ओली–प्रचण्डको आस्वासन रहेकोमा अहिले आएर नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई दिएको भन्दै आक्रोश पोखेका छन् । सोही कारण सुदूरपश्चिममा एकीकृत समाजवादीले काँग्रेस र नाउपाका रेशम चौधरी पक्षधरलाई समर्थन गरेको छ । जबकि एमाले र माओवादीले नाउपाका रञ्जिता श्रेष्ठ पक्षधरलाई समर्थन गरेका छन् । त्यहाँको मुख्यमन्त्रीका लागि नाउपाकै रेशम पक्षका लक्ष्मणकिशोर चौधरी र रञ्जिता पक्षका सांसद कैलाश चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । 

एउटै पार्टीका दुई सांसदको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा कसैलाई पनि नियुक्त गरेका छैनन् । उनी कानुनी परामर्शमै रहेको बताइएको छ । एकै पार्टीका सांसदहरू विभाजित भएपछि उनीहरू स्वयं उपस्थित भएर सनाखत गराउनुपर्ने र त्यसपछि मात्र जुन पक्षको बहुमत देखिन्छ सोही पक्षका उम्मेदवारलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको मनशाय देखिन्छ । सकेसम्म यो विवाद पार्टीले नै सल्टाउनुपर्ने र वैधानिक रुपमा समेत कुनै एक सांसदलाई मात्र मुख्यमन्त्रीका लागि तोक्नुपर्ने हुन्छ । तर रेशम र रञ्जिताको खटपट एवं अहंकारका कारण त्यो पार्टी स्वयं संकटमा फसेको छ ।

एकीकृत समाजवादीको यस कदमप्रति एमाले अध्यक्ष ओलीले भने सत्ता गठबन्धनलाई कमजोर बनाउने खेल भन्दै आपत्ति जनाएका छन् । उनले सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने बेलामा काँग्रेस निकट भएमात्रै नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गर्न सकिने भनी उक्त पार्टीले चालेको कदम अराजनीतिक भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सत्ता समिकरणलाई कमजोर र असफल बनाउन माधवको पार्टीले अराजनीतिक निर्णय लिएको उनको आरोप छ । 

यस घटनामा माधव नेपाल भने खुसी देखिन्छन् । उनले ओली–प्रचण्डले आफूलाई फेरि झुक्याएकोले आफ्नो पार्टी काँग्रेस पक्षतिर ढल्किन बाध्य भएको आशय व्यक्त गरेका छन् । आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने उनको पुरानै धोको छ । एउटा प्रदेशको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने उनको पछिल्लो माग रहँदै आएको छ । राष्ट्रिय सभा उपाध्यक्ष पाउने आशा समेत उनले राखेका थिए, तर एमालेले त्यो पद हत्यायो । उता, प्रधानमन्त्री प्रचण्डबाट धोका पाएको भन्दै रन्थनिएको कांग्रेसले माधव नेपाललाई प्रधानमन्त्रीको अफर यसअघि नै गरिसकेको छ । सके प्रचण्ड–ओलीकै गठबन्धनमा बसेर आफूले बार्गेनिङ जारी राख्ने, नभए काँग्रेसलाई साथ लिएर भए पनि आफ्नो प्रधानमन्त्री बन्ने धोको पूरा गर्ने माधवको भित्री रणनीति हुनसक्छ ।

आइतबार बिहान ओली–प्रचण्ड–नेपाल र रञ्जिताबीच बालुवाटारमा छलफल भएको थियो । सो क्रममा प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिममा मुख्यमन्त्री नाउपालाई दिनुपर्ने बाध्यता रहेको बताएपछि माधव झस्किएका थिए । यसअघि पटक–पटकका बैठकमा प्रचण्ड र ओलीले सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने वचन दिँदै आएको र आइतबार कुरा फेरेको भन्दै माधव असन्तुष्ट बनेको बताइन्छ । उनले विगतका सहमति कार्यान्वयन हुनुपर्ने अडान राखेका थिए । त्यसपछि विकसित असन्तोषको झिल्को उनले सुदूरपश्चिमबाट काँग्रेस–रेशमलाई समर्थन गरेर सल्काइसकेका छन् र यो झिल्को बागमती, मधेस प्रदेश र लुम्बिनीमा पनि सल्किन सक्ने बताएका छन् । 

ओलीको व्यवहारदेखि असुन्तुष्ट भएर एमाले पार्टी नै फुटाएका माधव नेपालले यसपाली प्रचण्डबाट समेत आफूलाई धोका भएको महसुस गरेका छन् । अघिल्लो कांग्रेस–माओवादीको गठबन्धनमा हुँदा एक वर्ष माधवलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो । तर वर्षदिनमै त्यो गठबन्धन भत्काएर प्रधानमन्त्री प्रचण्डले एमाले–रास्वपासँग गठबन्धन गरेपछि र बाँकी कार्यकालको दुई–दुई वर्ष प्रचण्ड–ओलीले प्रधानमन्त्री खाने भित्री सहमति रहेको बुझेपछि माधव उनीहरूसँग आफू टिक्न नसक्ने निष्कर्षमा पुगेको बताइन्छ । यद्यपि सत्ता गठबन्धन जोगाउनुपर्ने चुनौतीमा रहेका ओली–प्रचण्डले सकेसम्म माधवलाई मनाएरै लैजाने कोसिस भने छाडेका छैनन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update