
काठमाडौं । जेनजी आन्दोलनपछि गठित सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरे पनि निर्वाचनको वातावरण नबनेको दलहरुको गुनासोकाबीच प्रधानमन्त्री सुशीला कार्कीले संवाद थालेकी छन् ।
विघटित प्रतिनिधिसभाका ११ दलसँग दलहरुसँग प्रधानमन्त्री कार्कीले निर्वाचनका सन्दर्भमा छलफल गरेकी हुन् । निर्वाचनको घोषणा गरे पनि सरकारले नै वातावरण नबनाएको प्रमुख राजनीतिक दलहरुले नै आरोप लगाउँदै आइरहेकाबेला भएको यो छलफलले केही सकारात्मक सन्देश दिएको छ ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगले नयाँ दल दर्ताको लागि कात्तिक मसान्तसम्म आह्वान गरिसकेको छ । आयोगको सूचनासँगै नयाँ दल दर्ताका लागि आयोगमा धमाधम निवेदनहरु परेका छन् । अहिलेसम्म ७ वटा नयाँ राजनीतिक दलले आयोगमा दर्ता गराएका छन् ।
जेनजी पुस्ताले पनि छुट्टाछुट्टै दल दर्ताको तयारी गरिरहेका छन् । मिराज ढुंगानासहित केहीले दल खोल्ने घोषणा गरिसकेका छन् । तर पनि प्रमुख राजनीतिक दलहरु भने फागुन २१ को निर्वाचन हुनेमा आशंका ब्यक्त गरिरहेका छन् । सरकारले नै निर्वाचनको वातावरण नबनाएकोले फागुनमा निर्वाचनको सम्भावना नरहेको प्रमुख राजनीतिक दलका नेताहरुले बताइरहेकाबेला प्रधानमन्त्री सुशीला कार्कीले संवाद थालेकी छन् ।
प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधिसभाका ११ दलसँग छलफल गरेकी हुन् । शुरुमा ७ राजनीतिक दललाई छलफलमा बोलाइ पनि पछि अन्य ४ दललाई पनि निम्त्याइएको हो । प्रतिनिधिसभामा १४ दलको प्रतिनिधित्व थियो । अहिलेसम्म पनि निर्वाचनको वातावरण नबनेको बताइए पनि एमाले बाहेकका दलहरु निर्वाचनप्रति सकारात्मक छन् ।
विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने यो सरकारले फागुनमा निर्वाचन नगर्ने बताइरहेका छन् । अहिले शान्ति सुब्यवस्था नै भंग भएको र त्रासदीपूर्ण अवस्था रहेको उनको तर्क छ ।
सरकारले निर्वाचनको वातावरण नबनाएको गुनासो गरे पनि माओवादी केन्द्र, रास्वपा लगायतका दलहरु भने फागुनमा निर्वाचनको विकल्प नभएको बताएका छन् । पछिल्लो अवस्थाको संश्लेषण गर्दै ताजा जनादेशमा जानुको विकल्प नभएको माओवादी रास्वपाको निश्कर्ष छ । त्यसैले सरकारले राजनीतिक दलहरुलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने नेताहरुको भनाई छ ।
खासगरी कांग्रेस र एमालेका नेताहरुले सरकारले निर्वाचनका वातावरण विगार्न खोजेको अरोप लगाएका थिए । प्रधानमन्त्री कार्की निर्वाचनमा साथ दिन सबैलाई आग्रह गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले बोलाएको मंगलबारको छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेपाल मजदुर किसान पार्टीको सहभागिता रहेको थियो ।
छलफलमा केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई पर्यवेक्षकका रुपमा सहभागिता गराइएको थियो । यसअघि प्रधानमन्त्री कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि निर्वाचनका सन्दर्भमा दलहरुसँग छलफल गरेका थिए ।