News 24 Television
धमाधम खुल्दैछन् राजनीतिक युवा, जेनजीप्रति सबैको नजर

काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तय भएपछि नयाँ दलहरु खुल्ने क्रम जारी रहेको छ । नयाँ दल खोल्न चाहनेहरुका लागि आगामी कात्तिक मसान्तसम्म निर्वाचन आयोगमा दर्ता गराउन आह्वान गरिएपछि दलहरु खुल्ने क्रम जारी रहेको हो । खासगरी भदौ २३ र २४ को जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा युवाहरुको सक्रियता बढी देखिएको छ । 

मंसिर २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि पछिल्लो समय दल दर्ता गर्ने क्रम शुरु भएको छ । विभिन्न राजनीतिक दलहरुबाट विद्रोह गरेका नेता कार्यकर्ताहरुदेखि युवाहरु पनि नयाँ दल खोल्न खस्सिएका छन् । जेनजी आन्दोलनपछि राजनीतिकमा आउनुपर्ने बाध्यता रहेको भन्दै जेनजी अगुवा मिराज ढुंगानाले राजनीतिक दल खोल्ने घोषणा गरिसकेका छन् । प्रत्यक्ष कार्यकारी प्रमुखलाई मुख्य मुद्दा बनाएर अघि बढ्ने मिराजले बताएका छन् । 

रास्वपा लगायतका विभिन्न दल छाडेका नेता कार्यकर्ताहरु पनि विभिन्न समूहहरुसँग निरन्तर संवादमा रहेका छन् । ठूला राजनीतिक दलहरुमा तीब्र रुपमा ध्रुवीकरणको प्रक्रिया अघि बढेको छ । तर विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेले निर्वाचनबारे अन्योलता सिर्जना गरेको हुँदा ध्रुवीकरण प्रक्रियामा रहेकाहरु पनि अन्योलमा छन् । 

नेकपा माओवादी केन्द्रसहितको ४ दलीय समाजवादी मोर्चाहरु पनि एकताको छलफलमै छन् । माधव नेपाल नेतृत्वको नेकपा एसले माओवादीसँग एकता छलफल तीब्र पार्दै गर्दा झलनाथ खनालहरु असन्तुष्ट छन् । 

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय आउन पनि बाँकी नै छ । कांग्रेसको औपचारिक निर्णयपछि मात्रै निर्वाचनको वातावरण बन्ने राजनीतिक विश्लेषकहरुले बताएका छन् । 

निर्वाचन आयोगमा १ सय २४ दल दर्ता 

विघिटन प्रतिनिधिसभामा १४ वटा राजनीतिक दलहरुले प्रतिनिधित्व गरेका थिए । ती १४ दलहरु मध्ये एमाले बाहेक अधिकांश दलहरु निर्वाचनप्रति सकारात्मक छन् । विघटित प्रतिनिधिसभाका १४ दलसहित निर्वाचन आयोगमा १ सय २४ वटा दल यसअघि नै दर्ता भइसकेका छन् । ती मध्ये कतिपय दलहरु भने ठूला दलहरुसँग एकता प्रक्रियामा गइसकेका छन् । २०७९ सालको निर्वाचनअघि १ सय ११ दल आयोगमा दर्ता भएको थियो । 

७९ को निर्वाचनपछि पनि दलहरु दर्ता भइ नै रहेका छन् । जेनजी आन्दोलनपछि जनमत पार्टीबाट विभाजित समूहले दीपक कुमार साहको नेतृत्वमा जनस्वराज पार्टी दर्ता भएको छ । २०८१ सालयता मात्रै जसपा नेपालबाट विभाजित भएर अशोक राई नेतृत्वको जसपा आयोगमा दर्ता भएको थियो । 

त्यसयता, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रमेश नाल्बुको परिवर्तन पार्टी, ध्रुपलाल प्रसाद साहनीको नेपाल जनजागृति पार्टी, केशवबहादुर थापा मगरको राष्ट्रिय जनमुक्ति पार्टी आयोगमा दर्ता भएको छ । 

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि पनि राजनीतिक दलहरु पनि घोषणा हुने क्रम जारी रहेको छ । निर्वाचन आयोगले निर्वाचनमा भाग लिन चाहने नयाँ दलका लागि आगामी कात्तिक मसान्त सम्म दल दर्ता गर्न समय तोकेपछि नयाँ दल दर्ता हुने क्रम चलिरहेको छ । 

अहिलेसम्म ७ वटा नयाँ दल आयोगमा 

निर्वाचन आयोगले नयाँ दल दर्ताको लागि समय तोकेपछि अहिलेसम्म नयाँ सात राजनीतिक दलले आयोगमा निवेदन दिएका छन् । 

१. श्रम संस्कृति पार्टीको अध्यक्षमा धरानका मेयर हर्क साम्पाङ

२. गतिशिल लोकतान्त्रिक पार्टीको अध्यक्षमा दिनेश प्रसाईं

३. उज्यालो नेपाल पार्टी, अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङ 

४. नेपाल नागरिक पार्टी अध्यक्ष कृष्णहरी अधिकारी 

५. नेपाल लिबरल पार्टी, अध्यक्ष गोपीलाल न्यौपाने,  चुनाव चिन्ह ‘सिक्का’ 

६. राष्ट्रिय परिवर्तन पार्टी अध्यक्ष अजयकुमार, चुनाव चिन्ह बाँसुरी

७. राष्ट्रिय जेनजी पार्टी नेपाल अध्यक्ष, हिराप्रसाद सेती, चुनाव चिन्ह ‘क्रस खुकुरी’ 

नयाँ दल बनाउन सुमना सक्रिय

जेनजी आन्दोलनपछि दलहरु खुल्ने क्रम तीब्र गतिमा छ । विभिन्न राजनीतिक दलहरु छाडेकाहरु पनि समूह बनाएर नयाँ दल दर्ता गर्नेदेखि विभिन्न पार्टीहरुसँग एकताको प्रक्रियामा रहेका छन् । 

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी सुमना श्रेष्ठ पनि नयाँ दल बनाउन कस्सिएकी छन् । जेनजीका विभिन्न समूहका युवाहरुसँग तथा भर्खरै दर्ता भएका दलहरुसँग पनि निरन्तर संवादमा रहेकी छन् । 

जेनजी आन्दोलनका क्रममा पार्टी सभापति रवि लामिछानेको कारण आलोचित बनेको रास्वपा पनि युवाहरुसँग एकता वा तालमेल गर्ने प्रयासमै रहेको छ । काठमाडौं महानगरका मेयर बालेन समर्थक युवाहरु पनि नयाँ दल खोल्नेबारेमा आन्तरिक छलफलमै छन् । भर्खरै नयाँ दल दर्ता गराएकाहरु पनि वैकल्पिक शक्ति बनाउन भन्दै कस्सिएको छ । 

जेनजी आन्दोलनपछि विभिन्न स्वार्थ समूहहरु यो वा त्यो तरिकाले विभिन्न पार्टी गठन वा पुनर्गठन गर्न जोडतोडले लागि रहेका छन् । विभिन्न समूहमा विभाजित शक्तिहरु तिहार लगत्तै वैकल्पिक शक्ति घोषणा गर्ने तयारीमा लागेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update