News 24 Television
‘पुस्तक मेरो लागि आतंक होस’ 

यस्तो सुन्न पाउँ 
पहिलोपटक 
लाइब्रेरीबाट पुस्तक चोरी भयो 
हल्लाखल्ला मच्चियो 
सिसीक्यामराले चोर समातियो 
लाइब्रेरीबाट निस्केर चोर 
बगैँचामा पुस्तक पढदै थियो 

पुस्तक पढदै गरेको प्राध्यापकबाट 
कुनै डाँकाले पुस्तक लुटेर 
प्राध्यापकलाई दिनदहाडै गोली हान्यो
अनि त्यो डाँका 
त्यही प्राध्यापकको 
कुर्चीमा बिराजमान हुँदै 
पुस्तक पढन थाल्यो 

एउटा पाकेटमारले 
कुनै बिद्यार्थीको झोलामा प्वाल पार्दै 
पुस्तक चुहायो 
अनि चुहेको पुस्तक उठायो

मन्दिरमा भक्तले भगवानलाई 
लदु होइन 
पुस्तक चढायो 
त्यहाँको पुजारीले पुस्तक टिप्दै 
आफ्ना छोराछोरीको 
आँखाको भोक मेटायो

नेताहरुले पुस्तक भ्रष्टाचार गर्यो 
कर्मचारीले पुस्तक घुस खायो 
ब्यापारीले पुस्तक कमिसन खायो
पिताले सन्तानलाई 
सोध्दा, जीवनको लक्ष्य के  
भनोस, पुस्तक पढेर पुस्तकझैँ फुल्ने
जल्लादले अपराधीलाई 
सोध्दा, अन्तिम इच्छा के छ
भनोस्, पुस्तक समातेरै फाँसीमा झुल्ने
यस्तो सुन्न पाउँ
 
हस्पितलमा पनि डाक्टरले 
प्रसवपीडा भुलाउन 
गर्भवति महिलालाई पुस्तकै थम्यायो 
पेटैबाट पुस्तकको छहारी पाएका 
शिशु पनि जन्मिनेवितिकै 
पुस्तकै चाहियो भनेर करायो 
बिद्रोह होस् पृथ्वीमा 
तानाशाह हो पुस्तक
यस्ले हैकम चलायो 
विस्तारवादी हो यो 
मंगलग्रहसम्म साम्राज्य फैलायो  
कुनै जिन्दगी पनि स्वतन्त्र छैन 
हर जिन्दगी पुस्तकमै ब्युँझयो, पुस्तकमै निदायो 
म समाचारमा यस्तै यस्तै हेडलाइनको 
खोजीमा छु
जहाँ पुस्तक मेरो लागि आतंक होस् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update