काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणका क्रममा बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सीमा व्यापार पूर्वाधार र पर्यटन प्रवद्र्धनका विषयले उच्च प्राथमिकता पाउने भएका छन् ।
आगामी मंसिर ६ गते अर्थात् नोभेम्बर २२ मा हुने भनिएको भ्रमणका अवसरमा उत्तराखण्ड राज्यसँग जोडिएका विकास र धार्मिक पर्यटनका एजेन्डामा समेत महत्वपूर्ण छलफल हुने भारतीय पक्षले जनाएको छ ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा उत्तराखण्ड राज्यको समेत भ्रमण हुने सम्भावना रहेको र त्यहाँ द्विपक्षीय चासोका प्रमुख विषयमा संवाद हुने उत्तराखण्डका क्याबिनेट मन्त्री सतपाल महाराजले बताएका छन् । भारतीय सञ्चारमाध्यममार्फत सार्वजनिक भिडियो सन्देशमा मन्त्री महाराजले मंसिर ६ मा प्रधानमन्त्री शाह भारत आउने अपेक्षा गरिएको उल्लेख गर्दै पञ्चेश्वर बाँध, महेन्द्रनगरमा ड्राइपोर्ट निर्माण तथा नेपाल–भारत सीमा क्षेत्रका समग्र विषयमा कुराकानी हुने जानकारी दिएका हुन् ।
नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्डको सीमा भएर बग्ने महाकाली नदीमा निर्माण प्रस्ताव गरिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना झण्डै तीन दशकदेखि प्रतीक्षाको विषय बनेको छ । सन् १९९६ अर्थात् वि.सं. २०५२ माघमा सम्पन्न महाकाली सन्धिअन्तर्गत अघि सारिएको यो आयोजना लागत साझेदारी, जलस्रोतको बाँडफाँट र तल्लो तटीय लाभ वितरणसम्बन्धी प्राविधिक तथा नीतिगत मतभेदका कारण कार्यान्वयनमा आउन सकेको छैन ।
दुवै देशको संयुक्त संयन्त्र पञ्चेश्वर विकास प्राधिकरणमार्फत प्रक्रिया अघि बढाइए पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ले अझै अन्तिम रूप पाउन बाँकी छ । पछिल्ला वर्षहरूमा दुवै देशले डीपीआरलाई टुंगोमा पु¥याउने प्रतिबद्धता दोहो¥याउँदै आएका छन् ।
यो आयोजना निर्माण हुन सके महाकाली बेसिन क्षेत्रमा ठूलो परिमाणमा विद्युत् उत्पादन, दुवैतर्फ सिँचाइ सुविधा विस्तार र वर्षायामको बाढी नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ । त्यसैगरी, भ्रमणका क्रममा महेन्द्रनगर क्षेत्रमा ड्राइपोर्ट निर्माण तथा सीमा व्यापार पूर्वाधार विस्तारको विषय पनि प्रमुख एजेन्डामा रहनेछ ।
कञ्चनपुरस्थित दोधारा चाँदनी र महेन्द्रनगर नाकालाई आधुनिक व्यापारिक तथा पारवहन केन्द्रका रूपमा विकास गर्न ड्राइपोर्ट र एकीकृत जाँच चौकी निर्माणको योजना अघि सारिएको छ ।
महाकाली नदीमाथि चार लेनको पक्की पुल निर्माणसँगै पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच स्थापित भएकाले प्रस्तावित ड्राइपोर्टले सुदूरपश्चिमको आर्थिक रूपान्तरण र भारतको उत्तरी औद्योगिक क्षेत्रसँगको व्यापारिक दूरी घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । धार्मिक तथा पर्यापर्यटन सहकार्य पनि भ्रमणको अर्को महत्ववपूर्ण पाटो बन्ने देखिएको छ ।
भारतको उत्तराखण्डस्थित पूर्णागिरि मन्दिरको दर्शनका लागि पुग्ने तीर्थयात्रीहरू नेपालको महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिरको दर्शन नगरी यात्रा पूरा नहुने धार्मिक विश्वास रहिआएको छ । मन्त्री सतपाल महाराजले पूर्णागिरि मन्दिरसम्म एलिभेटेड ट्रयाक निर्माण भइरहेको उल्लेख गर्दै नेपालसँगको सहकार्यमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न उत्तराखण्ड सरकार इच्छुक रहेको बताएका छन् ।
प्रधानमन्त्री शाहसँगै नेपालका पर्यटनमन्त्री खड्गराज पौडेलसमेत भ्रमण दलमा सहभागी हुने भएकाले दुई देशबीचको धार्मिक, सांस्कृतिक र पर्यापर्यटन सम्बन्धले नयाँ दिशा लिने अपेक्षा गरिएको छ ।
लामो समयदेखि चर्चामा मात्र सीमित पञ्चेश्वर आयोजना र सीमा पूर्वाधारका एजेन्डाले प्रधानमन्त्री शाहको भ्रमणमा कस्तो निष्कर्ष निकाल्छन्, त्यसले आगामी दिनमा नेपाल–भारत विकास साझेदारीको दिशा तय गर्नेछ ।


