News 24 Television
गगनलाई देउवाको आरोप : १८ करोडमा  पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ?

काठमाडाैँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको आधिकारिकतासम्बन्धी विवादलाई लिएर पार्टी सभापति गगन थापामाथि आक्रामक रूपमा प्रस्तुत भएका छन् । पार्टीको आधिकारिकता पैसाको प्रभावमा टुंग्याइएको आरोप लगाउँदै देउवाले १८ करोड रुपैयाँमा पार्टी बेच्नेले कांग्रेस जोगाउन नसक्ने टिप्पणी गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिको नियमित १५ औँ अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पार्टीको आधिकारिकतासम्बन्धी निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाए । उनले निर्वाचन आयोगको निर्णय निष्पक्ष प्रक्रियाबाट नभई दबाब र आर्थिक चलखेलबाट प्रभावित भएको दाबी समेत गरे । देउवाले निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिएपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको बताउँदै गर्दै आयोगको भूमिकामाथि प्रश्न उठाएका थिए । उनले गगनलाई लक्षित गर्दै १८ करोड रुपैयाँमा पार्टी अरूलाई बेच्नेले कांग्रेस जोगाउन नसक्ने जिकिर गरे ।

देउवाले निर्वाचन आयोगको निर्णयविरुद्ध आफूहरू अदालत गएको र त्यहाँबाट न्याय पाउने विश्वास व्यक्त गरे । आफू विदेशमा रहेका बेला विशेष महाधिवेशन गरिएको भन्दै उनले त्यसलाई वैधानिक प्रक्रिया नमानेको संकेत गरे । १४औँ महाधिवेशनबाट निर्वाचित सभापति आफू नै रहेको र आफूले महाधिवेशन नगराएको अवस्थामा अर्को पक्षले गरेको निर्णय स्वीकार्य नहुने उनको तर्क थियो । 

देउवाको यो अभिव्यक्ति कांग्रेसभित्र चुलिएको नेतृत्व र आधिकारिकताको विवादकै निरन्तरताका रूपमा आएको हो । विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि देउवा पक्षले त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको छ । निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत पुगेको हो । दुवै पक्षले आफूहरू नै आधिकारिक कांग्रेस भएको दाबी गर्दै समानान्तर संगठनात्मक गतिविधि अघि बढाइरहेका छन् । 

पछिल्लो समय सार्वजनिक भएको इनम सापकोटासँग सम्बन्धित भनिएको अडियो प्रकरणले पनि विवादलाई थप चर्काएको छ । उक्त प्रकरणमा १८ करोड रुपैयाँको प्रसंग जोडिएपछि देउवा पक्षले पार्टीको आधिकारिकता प्राप्त गर्ने प्रक्रियामा आर्थिक लेनदेन भएको आशंका गर्दै आएको छ । देउवाले पनि सोही प्रसंगलाई आधार बनाउँदै गगन थापामाथि प्रश्न उठाएका हुन् । तर, अडियोमा उठाइएको दाबी र त्यसको सत्यताबारे स्वतन्त्र पुष्टि तथा अनुसन्धानको निष्कर्ष सार्वजनिक भइसकेको छैन । 

यसअघि पनि देउवा पक्षीय नेताहरूले गगन नेतृत्वको कांग्रेसको वैधानिकता अस्वीकार गर्दै समानान्तर रूपमा १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइसकेका छन् । दुवै पक्षले आफू नै आधिकारिक कांग्रेस भएको दाबी गरिरहेका बेला देउवाको पछिल्लो अभिव्यक्तिले पार्टीभित्रको अन्तरकलह नेतृत्व र वैधानिकताको लडाइँमा मात्रै सीमित नरहेको स्पष्ट पारेको छ । विवाद अब आरोप–प्रत्यारोप, आर्थिक चलखेलको आशंका र नेतृत्वको नैतिक निष्ठामाथि उठेका प्रश्नसम्म विस्तार भएको छ ।

कांग्रेसभित्रको यो संकटले पार्टीका नेता तथा कार्यकर्तामा अन्योल थपेको छ । अब अदालतको अन्तिम निर्णय र सार्वजनिक भएका आर्थिक चलखेलसम्बन्धी आरोपको निष्पक्ष छानबिनले नै पार्टीको आगामी दिशा निर्धारण गर्नेछ । आन्तरिक द्वन्द्व अन्त्य गर्दै पार्टी एकता कायम राख्न कांग्रेस नेतृत्व सफल हुन्छ वा विवाद थप लम्बिन्छ, त्यो भने आगामी घटनाक्रमले देखाउनेछ । तर, अहिलेको परिस्थितिले कांग्रेसको वैचारिक एकता, सांगठनिक सुदृढीकरण र राजनीतिक भविष्यसामु गम्भीर चुनौती खडा गरेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update