काठमाडौं । गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त बनेको काठमाडौंको पाँचतारे होटल हिल्टनले यस वर्षको तिहार तथा छठ पर्वको अवसरमा दिएको शुभकामना सन्देशले धेरैको ध्यान खिचेको छ। होटलले नक्साल स्थित जलेर खण्डहर बनेको भवन अगाडी ठूलो ब्यानर राखेर २०८२ भदौमा देशले भोग्नुपरेको अप्रिय राष्ट्रिय विपत्तिलाई स्मरण गर्दै पुनः त्यस्तो अवस्था कहिल्यै नआओस् भन्ने कामना गरेको छ।
उक्त ब्यानरमा लेखिएको छ, ‘वि.सं. २०८२ भदौमा जस्तो अप्रिय राष्ट्रिय विपत्ति फेरि कहिल्यै भोग्न नपरोस्। देशमा सुख, शान्ति र समृद्धि छाओस्। पशुपतिनाथले हामी सबैको रक्षा गरून्। शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना।’
हिल्टनको यो सन्देश केवल चाडपर्वको शुभकामनामा मात्र सीमित छैन। यसले गत वर्षको आन्दोलनका क्रममा देशले भोगेको ठूलो मानवीय तथा भौतिक क्षतिको पीडालाई समेत स्मरण गराएको छ। काठमाडौंको नक्सालमा अवस्थित हिल्टन होटल २०८२ भदौ २४ गते भएको आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। शंकर समूहको लगानीमा निर्माण भएको उक्त पाँचतारे होटल सञ्चालनमा आएको एक वर्ष पनि नपुग्दै आगलागीको चपेटामा परेको थियो।
सन् २०१६ देखि निर्माण सुरु भएको उक्त होटलमा करिब ८ अर्ब ३५ करोड रुपैयाँ लगानी भएको थियो। १७ तले संरचना, १७२ भन्दा बढी कोठा तथा अत्याधुनिक सुविधासहित निर्माण गरिएको होटल नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण लगानीका रूपमा हेरिएको थियो।
होटल संघ नेपालले जेनजी आन्दोलनका क्रममा देशभरका करिब दुई दर्जन होटलमा आगजनी, तोडफोड तथा लुटपाट भएको र होटल क्षेत्रमा मात्रै प्रारम्भिक रूपमा २५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको जनाएको थियो। संघको प्रारम्भिक अनुमानअनुसार हिल्टन होटलमा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो। यस घटनाबाट होटल क्षेत्रमा कार्यरत दुई हजारभन्दा बढी कर्मचारीको रोजगारीसमेत जोखिममा परेको थियो।
त्यस्तै, जेनजी आन्दोलनका क्रममा भएको समग्र राष्ट्रिय क्षतिको मूल्यांकन गर्न गठित सरकारी समितिको प्रतिवेदनअनुसार देशका सातै प्रदेशका ५४ जिल्लाका २६२ स्थानीय तह प्रभावित भएका थिए। आन्दोलनका क्रममा ७७ जनाको मृत्यु भएको र २ हजार ४२९ जना घाइते भएका थिए। सरकारी समितिले कुल भौतिक क्षति ८४ अर्ब ४५ करोड रुपैयाँ बराबर रहेको निष्कर्ष निकालेको थियो।
सरकारी तथा सार्वजनिक क्षेत्रका संरचना, निजी व्यवसाय, होटल, व्यापारिक प्रतिष्ठान, सवारीसाधन तथा अन्य भौतिक सम्पत्तिमा पुगेको क्षतिले मुलुकको अर्थतन्त्र र लगानीको वातावरणमा समेत गम्भीर असर पारेको थियो।यही पृष्ठभूमिमा हिल्टनले दिएको यस वर्षको तिहार तथा छठ पर्वको शुभकामना सन्देशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
कुनै समय ठूलो लगानी र सपनासहित उभिएको होटल स्वयं आगजनीबाट ध्वस्त भएको पीडादायी पृष्ठभूमिमा आएको यो सन्देशले देशमा स्थायी शान्ति, सद्भाव र समृद्धिको आवश्यकता पुनः स्मरण गराएको छ। चाडपर्वले सबै नेपालीमा खुसी, एकता र सद्भाव फैलाओस् तथा मुलुकले फेरि कहिल्यै त्यस्तो मानवीय र भौतिक क्षति व्यहोर्न नपरोस् भन्ने सन्देश हिल्टनको शुभकामनाले दिएको छ।


