News 24 Television
नेताहरू क्याम्पसमै भाँडभैलो मच्चाउँदै, मुद्दा के हो  ?

काठमाडौँ । ललितपुर स्थित पाटन संयुक्त क्याम्पसमा गरिएको तालाबन्दी ३५ दिन पछि बल्ल खुलेको  छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र कांग्रेससम्बद्ध विद्यार्थी संगठनले चार बुँदे माग राख्दै क्याम्पस प्रशासनमा यति लामो समयसम्म तालाबन्दी गरेका हुन् । तालाबन्दी खुलाए पनि क्याम्पस प्रमुखलाई भने प्रवेश निषेध नै छ । उता, काठमाडौंको लैनचौरमा रहेको अमृत साइन्स क्याम्पसमा पनि करिब दुई सातादेखि तालाबन्दी छ । क्याम्पसमा तालाबन्दीको यस्ता श्रंखलाले क्याम्पसहरु पढाईभन्दा बढी राजनीतिक अखडा जस्ता देखिएका छन् । 

३५ दिन लामो तालाबन्दी पछि ललितपुर स्थित पाटन संयुक्त क्याम्पसको प्रशासनमा लगाइएको ताला आइबार खोलिएको छ । तीन विद्यार्थी संगठनहरुले लगाएको ताला खोले पनि क्याम्पस प्रमुख लक्ष्मण सिंह कुँवरलाई क्याम्पस प्रवेश गर्न रोक लगाइएको छ । आफुहरुको माग पूर्ण रुपमा पुरा नभएसम्म क्याम्पस प्रमुखलाई प्रवेश गर्न नदिने विद्यार्थी संगठनहरुको अडान छ । 

विद्यार्थी संख्याको अनुपातमा कम्प्युटर उपलब्ध हुनु पर्ने, पुस्तकालयमा पुस्तक, चमेना गृह र खानेपानीको व्यवस्था सुव्यवस्थित हुनु पर्ने माग विद्यार्थी संगठनहरुको छ । तर, यि माग पूर्णरुपमा पुरा भएका छैनन् । ३५ दिनसम्मको तालाबन्दीले क्याम्पसको शौक्षिक तालिकादेखि प्राध्यापकहरुको पारिश्रमिकसम्म रोकिएको थियो । प्रशासन बन्द हुँदा वैशाख पहिलो साता पछि सञ्चालन हुने स्नातकतह दोस्रो वर्षको परीक्षाको प्रशासनिक काममा समेत प्रभाव परेको छ । 

पाटन संयुक्त क्याम्पसकै जस्तो हविगत छ काठमाडौंको लैनचौरमा रहेको अमृत साइन्स क्याम्पसन (अस्कल) को । यहाँ विगत १३ दिनदेखि तालाबन्दी हुँदा प्रशासनिक कामकारवाही प्रभावित छन् । अनेरास्ववियुले चैत २५ देखि प्रशासनमा तालाबन्दी गर्दा शैक्षिक प्रशासनिक काम रोकिएको हो । क्याम्पस प्रमुख लोकबहादुर बरालले विद्यार्थीलाई वार्तामा आउन पटक पटक आग्रह गर्दा पनि विद्यार्थी संगठन वार्तामा सामेल नभएको क्याम्पस प्रशासनको आरोप छ । प्रहरी हिरासतमा रहेका गणेश शाहीलाई तत्काल भर्ना लिनु पर्ने माग राखेर विद्यार्थी संगठनले प्रशासनमा ताला लगाएको हो । भर्ना गर्ने समयमा भर्ना नभएको र क्याम्पस हाताभित्र नै कुटपिटमा संलग्न भएका व्यक्तिलाई भर्ना लिन नसक्ने जनाए पछी अनेरास्ववियू निकट विद्यार्थी आन्दोलित भएका हुन् ।  

यि त केही प्रतिनिधि श्रंखला मात्रै हुन्, काठमाडौंका प्राय क्याम्पसहरुमा कहिले प्रशासनिक त कहिले अन्य कारण देखाउदै विद्यार्थी संगठनहरुले आन्दोलन गरिरहेका हुन्छन् । पञ्चायत शासनका समयमा दलहरुमाथि प्रतिबन्द हुँदा सरकारविरुद्ध आवाज उठाउन रणनीतिक एजेण्डा बोकी संस्थापना गरिएका विद्यार्थी संगठनहरुले त्यस समय राजनीतिकसँगै शैक्षिक मुद्दा, विद्यार्थीका हकका विषयमा डटेर काम गरेका थिए । तर, अहिले शैक्षिक मुद्धा र विद्यार्थीका हक हितका बिषयभन्दा क्याम्पसमा आफनो राजनीतिक हिस्सेदारी खोज्ने प्रवृत्तिले विद्यार्थी संगठनहरु बदनाम हुदै गएका छन् । उनीहरुको यो शैलीले क्याम्पसहरु राजनीति अखण्डा बनिरहेका छन् । जसको सिधा प्रभाव विद्यार्थीको भविष्यमामात्रै होइन शैक्षिक क्षेत्र सुधारमा समेत परेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update