
टिनिनिनिनि ...
टिनिनिनिनि ... ।
सिराननेर राखेको मोबाइलमा आलार्म बज्न थाल्छ, बिहानको ४ बजे । तब उनी उठ्छिन्, थकित शरीरमै निद्रा बिथोलेर । ट्वाइलेट जान्छिन् । हातमुख धुन्छिन् । हतारमा बासी खाना तताएर टिफिनमा राख्छिन् । एक गिलास मनतातो पानी पिउँछिन् । र, खबरदारीको संकेतजस्तो कुनै अभद्र बङ्गाली ड्राइभरले हर्न बजाइरहेको ठूलो बसभित्र हतारहतारमै छिर्छिन् । कम्पनीकै कामदार ओसार्ने यात्रु बस ।
क्याम्पबाट सधैँ ५ बजे बिहान बस छुट्छ । जो–जति कामदारहरू बसमा आउँछन्, ड्युटीमा पुग्छन् । जो बेलैमा आउँदैनन्, उनीहरुको ड्युटी छुट्छ । एकदिन ड्युटी छुटेको जरिवानास्वरुप कम्पनीले दुई दिनको तलब काटिदिन्छ । समयको महत्त्व नबुझ्ने र नियमको पालना नगर्ने नेपालमा जस्तो भद्रगोल हुँदैन विदेशमा । यहाँ सार्वजनिक यात्रुबाहक बसले यात्रु पर्खेझैँ कामदारहरू पर्खेर बस्दैन । छुट्नेहरू छुटिजान्छन् ।
लामो बाटोको सफर । कहिले निदाउँदै–उँघ्दै, कहिले गुँड छाडेर बचेराहरू चारो खोज्न कोसौँ दूर पुगेकी वनचरीझैँ सम्झेर सुँक्सुकाउँदै जानैपर्छ ड्युटीमा । कहिले विदेशिँदाको ऋण सम्झेर बेल खस्ता तर्सेको खरायोझैँ तर्सिंदै–तर्सिंदै पुग्नुपर्छ । यसरी अनेकन स्मृति र विस्मृतिहरू सोच्दासोच्दै ... क्याम्पबाट ड्युटीस्थलसम्म एक घण्टाको सफर कत्ति छिटो सक्कि पो जान्छ रे ! अचानक रोकिन्छ गाडी । बाँझोखेत जोत्नलाई दाम्ला फुकाएको गोरुझैँ उनीहरू गाडीको ढोकाबाट हतारिँदै ओर्लिन्छन् !
बिहानको ६ बजेदेखि बेलुकाको ५ बजेसम्म ड्युटीमा फेरि बाँधिन्छन् । सहज छैन ड्युटी । झ्यालखानामा रहेका कैदीलाई बर्दीवालहरूले पहरा दिएझैँ जताततै झुण्ड्याइएका सिसी क्यामेरा, सुपरभाइजर र फोरमेनहरूले हरबखत उनीहरूको निगरानी गरिरहन्छन् । काममा ढिलासुस्ती गरेमा हप्काइ खानुपर्छ ।
सुनिता भन्छिन्– ‘सर ! फतक्क जीउ गलेको हुन्छ । गलेर के गर्नु ? एक मिनेट रेस्ट गर्न पाइँदैन, हरबखत मेसिनझैँ खट्नुपर्छ ।’
काठमाण्डूको कुनै म्यानपावर दलालमार्फत कुबेतको एक सप्लाई कम्पनीमा पु¥याइएकी सुनिता बेघा लिम्बू दैनिक ११ घण्टा ड्युटी गर्छिन् । तर चित्तबुझ्दो तलब छैन भन्छिन् । न कम्पनी राम्रो नै छ । ‘सप्लाइ’ भनेपछि सक्किगो ! तीन वर्षको करार अवधि कम्पनीमा नकटाईकन घर फर्किन पनि पाइँदैन । त्यसमाथि छुट्टी जाँदा–आउँदा हवाई टिकटसम्म आफै खर्च गर्नुपर्छ । न कम्पनीको तर्फबाट वार्षिक सेवा–सुविधा (ग्रेच्युटी) नै दिएको छ । कम्पनी सिर्फ नाम मात्रैको कम्पनी, यस्तो के कम्पनी ? भिसा सक्किए पनि समयमा रिन्यु गर्दैन । बल्लतल्ल भिसा रिन्यु गरे पनि कामदारसँग पैसा काट्छ ८० केडी ।
महिनौँ भयो रे सुनिताको भिसा सकिएको, नवीकरण भएको छैन ! अचेल त सुपरमार्केटसम्म जान समेत डराउँछिन् ! खानेकुरा–सरसामान इत्यादि किन्नुपर्यो भने सँगीहरूलाई अह्राउँछिन् उनी । पुलिसले पक्रेला र जेल पठाउला कि भन्ने त्रासैत्रासको पहाड उभिन्छ मनभरि । भन्छिन्, ‘हरबखत पुलिस र सिआइडी घुमिरहन्छन् । डर नमानेर के गर्नु, सर ?’
मलिन स्वरमा पीडाहरूको पोका खुलाउँछिन् सुनिता । मजबुर छिन् उनी अर्काको देश, अर्कैको शासनमा । घर फर्किने तीब्र चाहना छ तर उनको हातमा पासपोर्ट छैन, कम्पनीको कब्जामा छ । हलो अड्काएर गोरु कुट्ने उखानझैँ अनेकन तनाव र पीडाहरूको चोटैचोट खाँदै कम्पनीमा काम गर्न बाध्य छिन् ।
सहरको एक छेउमा आँखालाई लोभ्याइरहने रमणीय पार्कहरू छन् । पार्कसँगै उनको यौवनजस्तो लहर लहरमा बगिरहने मदमस्त तरुनी समुद्रका छालहरूलाई मादक नयनहरूले मनपरी स्पर्श गर्न प्रायः त्यस देशका धनाढ्य र सौखिनहरू साँझमा समुद्रछेउ पुगिरहेका हुन्छन् । उनीहरूको आतिथ्यका लागि छेउछाउ र आसपासमा खुलेका छन् रेस्टुरेन्टहरू, कुबेतमा ।
सुनिता तिनै रेस्टुरेन्टमध्येको एउटा रेस्टुरेन्टमा कम्पनीको ड्युटी सकिसकेर ‘वेटर’को काम गर्न समेत भ्याएकी हुन्छिन् । पार्टटाइम सक्दा मध्यरातको १२ बज्छ । यसरी कम्पनी र पार्टटाइमको पसिना संकलन गरेर बल्लतल्ल उनले आफ्ना तीन छोरीलाई नेपालमा बोर्डिङ स्कुलमा पढाइरहेकी छिन् । उनीहरूका रहरहरू पूरा गरेकी छिन् र हर महिना केही पैसा जम्मा गर्न पाइकी छिन् ।
सुनिता बेघा लिम्बूको पहाडघर पाँचथर जिल्ला भए पनि उनी केही वर्षदेखि झापाको दमकमा बस्दै आएकी छिन् । कुन्नि के के कारण हो, श्रीमान्सँग सम्बन्धमा चट्याङ परेछ । माइतीले आफ्नै संरक्षणमा राखेका छन्, सुनिताका तीन छोरीहरू । तिनीहरू अत्यन्तै तीक्ष्ण बुद्धिका छन् ।
१४ वर्षकी ठूली छोरी सोनिका चेम्जोङ ७ कक्षामा पढ्दै रहिछन् र सधैँ कक्षा टप रहिछिन् । १० वर्षकी माइली छोरी सोनिका चेम्जोङ त झन् अद्भूत क्षमतावान् रहेछिन् । कक्षा ४ मा पढ्दैछिन् तर सितोरियो कराँतेमा विगत ५ वर्षदेखि नियमित प्रशिक्षण लिइरहेकी छन् । उनले झापा, मोरङ, काँकडभिट्टा र आसपासमा हुने गरेका प्रतियोगिताहरूमा भाग लिँदै अहिलेसम्म ७ वटा गोल्ड मेडल, नगद र प्रमाणपत्रहरू पाइसकेकी रहेछिन् । ७ वर्षकी कान्छी छोरी फन्सिमी यूकेजीमा पढ्दै र नृत्यमा चाख भएकी हुनाले उनले पनि नृत्यकलाको प्रशिक्षण लिइरहेकी छिन् । यी तीन छोरीहरूकै भविष्य बनाउन सुनिता यसरी दिनरात कुबेतमा पसिना बनाइरहेकी छिन् ।
०००
सुनिताजस्तै विदेशमा असंख्य सुनिताहरूका आआफ्नै कथा छन् । आआफ्नै व्यथा छन् । कैयौँ महिलाहरू दिनरात सुनिताजस्तै दायाँबायाँ कतै चरित्रमा दाग नलगाई एकसुरमा बग्ने खोलाजस्तो परिश्रमको पसिनामा बगिरहेका छन् । उनीहरूलाई चिन्ता छ त सिर्फ आफ्नै घर–व्यवहार, बालबच्चाको लालनपालन, पढाइलेखाइ र उज्ज्वल भविष्यको ।
त्यसो त, राम्रो पढेलेखेका नेपाली महिलाहरू अरबमा म्यानेजर लेभलसम्मको जागिरे पनि छन् । आकर्षक छ उनीहरूको तलब । सेवा/सुविधा राम्रो छ । सबै कुरा राम्रो भएकैले उनीहरूको जीवनशैली पनि राम्रो मान्नुपर्छ । आधुनिक शैलीमा मदमस्त बाँचिरहेका पाइन्छन् । वर्षमा २/३ पटक छुट्टीमा जाने/आउने गर्छन् । घरपरिवारसँग छिटछिटै भेट गर्न सक्छन् । यस्तो अफिसियल जागिर भनेको क्षमताले पाएको रोजगार हो । नेपाली महिलाहरू विदेशमा यतिसम्म पनि सक्षम छन्, कोही त स्वयं मालिक भएर बसेका छन् । व्यवस्थित होटेल/रेस्टुरेन्ट/ट्राभल्स आदि कम्पनी खोलेका र तिनमा सेयर होल्डर भएका छन् । यो उनीहरूको विवेक र क्षमताको कुरा मान्नुपर्छ ।
तर औसत रोजगारीको कुरा गर्दा हाउस किपर, वेटर, क्लिनर, सुपरमार्केट, सेक्युरिटी, रिसेप्सन, काउन्टर इत्यादि क्षेत्रमा नै बढीजसो नेपाली महिलाहरू जोतिइरहेका भेटिन्छन् । उनीहरू सबको कथा सुनिताको जस्तै हुन्छ, फरक रङ वा स्वादको भए पनि । रीताको आफ्नै कथा छ । विनिताको आफ्नै कथा छ । गीता/सीता/फूलमाया/जुनमायाहरू... सबैको ‘ब्याकग्राउन्ड’ खोतल्ने हो भने अक्सर सुनिताको जस्तै त हो । कतै सम्बन्धविच्छेद गरेका, कतै श्रीमान्बाट प्रताडित भएका, कतै श्रीमान् फेर्दै हिँडेका, कतै सामाजिक तथा पारिवारिक हिंसा र बहिष्करणमा परेका । कतै कुमारी आमा बनेका, यौनहिंसामा परेका, सासु–ससुराबाट मानसिक यातना भोग्नुपरेको, छरछिमेकबाट तिरस्कृत बन्नुपरेकाले पनि पुरुषहरूझैँ जिम्मेवारीको काँध बोकेर अरब आउन बाध्य भएका भेटिन्छन् । अरब देशमा आएपछि सोचेको जस्तो काम नपाइने, न्यून तलब, राम्रो कम्पनी नभेटिने यावत दिक्दारीले विरक्तिएर कुलतको बाटोमा हाम्फालेकाहरू पनि प्रशस्त भेटिन्छन् ।
अरब भूमिमा नेपाली महिलाहरूको फरक पाटो पनि देखिन्छ । पैसा खर्च गर्नसक्ने धनीमानी पुरुषहरूसँग मोजमस्तीको लतमा भुलेका देखिन्छन् कतिपय । इन्डियन, बङ्गाली, पाकिस्तानी, अफ्रिकन आदि पुरुषहरू उनीहरूको टार्गेटमा हुन्छन् । जोसँग उनीहरू नजिकिने, रक्सी/बियर पिउने, रम्बलघारीतिरै एकान्त झाडीमा रासलीला गर्ने आदि क्रियाकलापमा खुलेआम संलग्न देखिन्छन् । उनीहरू नियमित ड्युटीमा जान्नन्, किनकि यस्ता क्रियाकलाप पनि उनीहरूका लागि अर्को ड्युटीजस्तै हो । एउटै महिलाले ४/५ वटा ‘ब्वायफ्रेन्ड’ बनाउने, महँगा लत्ताकपडा, सिक्री, आइफोनजस्ता जिन्सीहरू किन्न लगाउने । तर यस्ता दुष्चक्रमा फसेर कतिपय महिला ती बहुविध पुरुषका निसानी पेटमा बोकेर बिजोग भएका पनि भेटिन्छन् । अक्सर यस्ता घटनामा सहयोग/चन्दा उठाएर उद्धार गरी नेपाल फर्काउनुपरेका घटना पनि बेलाबेला सतहमा देखिन्छन् !
समग्रमा नेपाली महिलाहरू अरब भूमिमा विभिन्न कारण, रहर, बाध्यताले भित्रिन्छन् । कतिपयले यहाँ आएर आफू र परिवारलाई सफल/सार्थक तुल्याएका छन् । राज्यको खातामा रेमिटेन्स थपिदिएका छन् । समाजको तिरस्कार, गरिबी, अँध्यारो पाटोसँग मुकाबिला गरेर एकप्रकारको क्रान्ति गरेका छन् । तर यहाँ पनि त अँध्यारो पाटो व्याप्त छ, उनीहरू कति आफै सिकारी बनेका देखिन्छन् भने कति विवशता या महत्वाकांक्षाले क्याक्टसरूपी पुरुषहरूको सिकार समेत बन्ने गरेका छन् । खैर, आफ्नो देश धनी, शक्तिसम्पन्न र आधुनिक रुपले समृद्ध नुहुनुको सजायस्वरुप सुनिता, रीता, गीताहरू... यसरी परदेशमा थप कथा–व्यथा बाँच्न अभिशप्त छन् ।
–०–
हाल : युएई
[email protected]