
काठमाडौं । प्रधानमन्त्री केपी ओली २९ जनाको नेतृत्व गर्दै स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघीय कार्यक्रमका लागि स्पेन जान लागेका ओलीले त्यहाँका राजादेखि प्रधानमन्त्रीसम्मलाई भेट्ने कार्यक्रम तय भएको छ । तर, संयुक्त राष्ट्रसंघको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला ओलीले जम्बो टोलीको नेतृत्व गर्दै त्यसतर्फ जाने चाँजो मिलाउनुलाई कतिपयले आलोचना गर्न थालेका छन् ।
संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी ओली स्पेन भ्रमणमा जाने पक्का भएसँगै आलोचना शुरु भएको छ ।
स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो ।
अल्पविकसित राष्ट्रहरुको अध्यक्ष नेपालले स्पेनमा हुने कार्यक्रममा आफ्ना तर्कहरु राख्ने र विश्व समुदायलाई अपिल गर्ने भनिएको छ । तर, के यो भ्रमण उपर्युक्त थियो ? प्रधानमन्त्री नै जानुपर्ने किसिमको यो भ्रमण हो ? अनेक प्रश्नहरु उब्जिएका छन् । सन २०१८ मा स्पेनमा नेपाली राजदूतावास स्थापना भएपछि ओली संयुक्त राष्ट्रसंघको कार्यक्रममा स्पेनको औपचारिक भ्रमण गर्दैछन् ।
जुन विषय स्पेनको राजकीय भ्रमण नभई संयुक्त राष्ट्रसंघको हो तर, यो भ्रमणमा रहेका सदस्यदेखि प्रभावकारिताको सवालमा प्रश्न उठ्न थालेका छन् । विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरु सहभागी हुने बताइको छ ।
नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ । उसोतः भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्ने भनिएको छ । भने विश्वका अन्य मुलुकका नेताहरुसँग ‘साइडलाइन’ भेटवार्ता हुनेछ । असार १६ गतेदेखि १९ गतेसम्म हुने सम्मेलनका लागि प्रधानमन्त्री ओली असार १४ गते शनिबार साँझ ६ बजे कतारको दोहा हुँदै मेड्रिड जानेछन् भने असार २० गते शुक्रबार साँझ ४ः४५ बजे फर्कने तालिका छ । नेपालबाट ओली उत्नी राधिका शाक्यसहित २१ र र न्युुयोर्कबाट आठ गरी २९ जना नेपाली प्रतिनिधिमण्डल हुनेछ ।
भ्रमणको औचित्यमाथि प्रश्न
स्पेनको औपचारिक निमन्त्रणामा प्रदानमन्त्री ओलीको यो भ्रमण हुन लागेको होइन । यो भ्रमणले दुई देशबीचको सम्बन्ध, आपसी हित, स्पेनमा रहेका नेपालीहरुको सवाल वा अन्य विषयमा ठोस विषय प्रवेश गर्ने छैन् । संयुक्त राष्ट्रसंघको आयोजनामा हुने कार्यक्रममा नेपालले प्रतिनिधित्व जनाउनेबाहेकका उल्लेख्य प्रगति हुने छाँट देखिन्न । यता, परराष्ट्रमन्त्री आरजु राणा देउवा समेत इटलीको रोम भ्रमणमा निस्किदैछिन् ।
अधिकांश समय विदेश भ्रमणमै मन्त्रीको कार्यकाल चलाइरहेकी राणा र प्रधानमन्त्रीको यस्ता भ्रमणले नेपालले पाउने उपलब्धि के ? चासो स्वभाविक देखिन्छ । उसोतः संयुक्त राष्ट्रसंघको औचित्यमाथि नै गम्भीर प्रश्नहरु उब्जिरहेका छन् ।
प्रभावकारी भूमिका खेल्न नसकेकोदेखि शक्ति राष्ट्रहरुको पक्षपोषक जस्तो बन्न पुगेको भन्दै आलोचना खेपिरहेको संयुक्त राष्ट्रसंघ र यस्ता कार्यक्रममा हुने भ्रमण र राष्ट्रको खर्चले उपलब्धि के ? प्रश्न स्वभाविक बन्दै आलोचना गर्न थालिएको छ । वर्षायाम शुरु भइसकेको र बाढी तथा विपद्जन्य कुराको तनाव ब्यहोर्नुपर्ने स्थिति सिर्जना हुन थालेको बेला र बजेट पारितमा समेत राजनीतिक तानातान नसकिएकै बेलाको यो भ्रमणमाथिका प्रश्न पेचिला बनेका छन् ।