
काठमाडौँ । संसदमा एक महिनादेखि निरन्तर दोहोरिरहेको विषय हो– भिजिट भिसा र मानव तस्करी काण्ड । काँग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गरको आरोप लगाउँदै रास्वपा सांसदहरुले निरन्तर संसद अवरोध गरिरहेका छन् । गृहमन्त्रीको राजीनामा र स्वतन्त्र/निष्पक्ष छानबिन उनीहरुको माग छ र सरकारले बनाएको छानबिन समितिलाई विश्वास नगरी संसदमा विरोध जारी नै राखेका छन् । यसैबीच काँग्रेस सांसदहरुले रास्वपा सांसद लक्षित थप उत्तेजक टिप्पणी गर्दा द्वन्द्व थप बढ्न थालेको छ ।
शनिबार काँग्रेस सांसद रामहरि खतिवडाले ‘सुमिरे टुर एण्ड ट्राभल्स’ले विगत १० वर्षदेखि भिजिट भिसाका नाममा हजारौँ मानिस जापान पठाएर अर्बौैं रुपैयाँ ठगी गरेको आरोप लगाए । संसदमै उनले रास्वपा सांसदहरुतर्फ लक्षित गरी उक्त बद्मासीको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौं पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र सांसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बद्मासी गर्ने काम भएको उनको आरोप छ । केही मानिसहरु यदाकदा संसदमा आएर उफ्रिने काम भएको भन्दै उनले निष्पक्ष छानबिनको माग गरे ।
त्यसको काउन्टरमा आइतबार रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले सांसद खतिवडालाई सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा नागरिक ठगेको प्रमाण पेस गर्न चुनौती दिए । उक्त कम्पनी आफ्नो नाममा रहेको बताउँदै सांसद अर्यालले भिजिट भिसाको माध्यमबाट मान्छे पठाएको कुरा अस्वीकार गरे । उनले सांसद खतिवडाको अभिव्यक्ति आपत्तिजनक, निराधार रहेको भन्दै संसदको रेकर्डबाटै हटाउन समेत माग गरे । ‘काम गरी खाने’हरुले ‘चोरी खाने’हरुलाई जवाफ दिँदै हिँड्नुपर्ने भन्दै अर्यालले संसदमा आक्रोश समेत व्यक्त गरे । उनको आशय काँग्रेस सांसदहरु चोर भएको तर रास्वपा सांसदहरु भने काम गरी खाने भएको भन्ने थियो । साथै काँग्रेसले विषयान्तर गर्न खोजे पनि आफूहरु भिजिट भिसाको नाममा भएको मानव तस्करीविरुद्धको आन्दोलनबाट पछि नहट्ने जिकिर उनले गरे ।
डीपी अर्यालले चोरी खानेहरू भनी आरोपित गरेपछि काँग्रेस सांसद रामहरि खतिवडाले आइतबार थप टिप्पणी गरेका छन् । आफूले निष्पक्ष छानबिन गर्नुपर्छ भन्दा रास्वपा सांसद आत्तिनुले ‘दालमा केही कालो’ रहेको स्पष्ट हुने खतिवडाको भनाइ छ । साथै सांसद भण्डारीकी श्रीमतीले हुण्डी गर्ने गरेको आरोप पनि उनले लगाए । श्रीमती हुण्डी गर्ने, आफू अवैधानिक काम गर्ने, त्यो नाममा पार्टी किनेर सांसद हुने र यहाँ आएर संसददेखि सरकारलाई थर्काउने कुरा गलत रहेको खतिवडाको भनाइ छ ।
काँग्रेस र रास्वपा संसदमा एक–अर्काका दुश्मनजसरी प्रस्तुत हुन थालेका छन् । एकले अर्काेलाई चोर नै भनेपछि उनीहरुबीचको यो घम्साघम्सी थप लम्बिने देखिन्छ । आइतबारै काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद शुरु हुनेबित्तिकै रास्वपाले गालीगलौज गर्ने गरेको आरोप लगाउँदै आफूहरुले अब प्रतिवाद गर्ने चेतावनी दिए । संसदको कारबाही शुरु हुनेबित्तिकै गालीगलौज गर्ने प्रवृत्तिका कारण संसदको मर्यादा खल्बलिएको भन्दै उनले तत्काल सुधारको माग गरे । रास्वपा र राप्रपाका सांसदहरुलाई लक्षित गरी घिमिरेले केही सांसदहरूले चोर, फटाहा र मानव बेचुवाजस्ता अमर्यादित शब्द संसदमा प्रयोग गर्ने क्रम बढेको भन्दै आपत्ति जनाए । भिजिट भिसा प्रकरणमा संसद र सरकार दुवैको ध्यानाकर्षण भइसकेको र छानबिन समिति पनि गठन भइसकेको दाबी गर्दै घिमिरेले अब गालीलगलौज गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए ।
गत जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरु रास्वपा, राप्रपा, माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्रीको राजीनामा माग्दै संसदमा नाराबाजी, अवरोध तथा बहिष्कार गर्दै आए । यद्यपि माओवादीले सरकारसँग सम्झौता गरेर अवरोध हटाए पनि रास्वपा र राप्रपा झन कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । संसदको यो द्वन्द्वले आखिर कुनै पक्षलाई पनि फाइदा भएको देखिन्न ।