News 24 Television
काठमाडौं महानगरले छात्रवृति दिँदै, आवेदन कसरी भर्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीहरूका लागि छात्रवृत्ति वितरण गर्ने उद्देश्यले अनलाइन आवेदन प्रक्रिया सुरु गरेको छ । आर्थिक रूपमा कमजोर, होनहार र अवसरको खोजीमा रहेका विद्यार्थीहरूका लागि यो सुनौलो अवसर बन्ने छ । 

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्न चाहनेहरुका लागि छात्रवृत्ति दिलाउने भएको छ । महानगरले एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२÷०८३ का लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो । 

इच्छुक विद्यार्थीहरूले  १८ असारदेखि २७ असारसम्म अनलाइन आवेदन फाराम भर्न सक्ने सूचनामा जनाइएको छ  । प्रवेश परीक्षा भने आगामी ३ साउन बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने जनाइएको छ  । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ । 

अनलाइन फाराम कसरी भर्ने ?

–    महानगरको वेवसाइट खोल्नुहोस् ।

–    ‘एप्लाई स्कलरसीप’ बटनमा क्लिक गर्नुहोस् ।

–    आवश्यक योग्यता र निर्देशनहरू पढिसकेपछि ‘नेक्सट’ बटन थिच्नुहोस् ।

–    विवरणहरू भरेर आवश्यक कागजातहरू अपलोड गर्नुहोस् ।

–    फाराम सबमिट गर्नु अघि पुनरावलोकन गर्न सकिने सुविधा उपलब्ध छ ।

अनलाइन आवेदनका लागि आवश्यक कागजातहरू

–    एसईईको प्रवेश पत्र

–    हालसालै खिचिएको पासपोर्ट साइज फोटो

–    नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र

–    एसईई वा सो सरहको मार्कसिट र चारित्रिक प्रमाणपत्र

–    सामुदायिक विद्यालयमा अध्ययन गरेका भए सो सम्बन्धी सिफारिस

–    संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेकाको सिफारिस

–    आरक्षणका लागि आवश्यक कागजातहरू

यदि आवेदन पेस गरेपछि जानकारीमा त्रुटि देखिएको खण्डमा, महानगरलाई इमेलमार्फत अनुरोध गरेपछि मात्र सच्याउने सुविधा उपलब्ध हुनेछ । 

न्यूनतम योग्यता

–    एसईई परीक्षा कम्तीमा १.६ जीपीए सहित उत्तीर्ण

–    सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण

–    काठमाडौं महानगरपालिकाको स्थायी बासिन्दा (नागरिकता, जन्मदर्ता वा बसाइँसराइ प्रमाण)

–    ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र (नुवाकोटको ककनी गाउँपालिका वडा १, २, ३ र धादिङको धुनिवेशी नगरपालिका वडा १, ३, ४) का स्थायी बासिन्दा

–    संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेको प्रमाण

छात्रवृत्ति कोटा विवरण

–    सामुदायिक विद्यालयमा  अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत

–    संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५ प्रतिशत

–    काठमाडौं महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि १४ प्रतिशत

–    ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रको स्थायी बासिन्दा सामूदायिक र संस्थागत विद्यालयमा अध्ययन गरेकाको हकमा १ प्रतिशत
काठमाडौं महानगरपालिकाको यो पहलले शैक्षिक समानताको सिद्धान्तलाई मूर्तरूप दिन महत्त्वपूर्ण भूमिका खेल्नेछ । आर्थिक, सामाजिक तथा भौगोलिक आधारमा वञ्चित विद्यार्थीहरूलाई अवसर प्रदान गर्दै शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update