News 24 Television
कतारी राजाबाट लिनसक्ने फाइदामा कहाँ चुक्यो नेपाल ?  

काठमाडौँ । कतारी अमिरको नेपाल भ्रमणले अरब राष्ट्रबाट पहिलो राष्ट्र प्रमुखको उपस्थितिलाई महत्वकासाथ हेरिए पनि सम्झौतामा भने खास उपलब्धि हासिल हुन सकेन । अरब राष्ट्रमा आफूलाई छुट्टै उभ्याउन सफल कतार र नेपालको ठूलो श्रम गन्तव्य बनिरहेको मुलुकका अमिरको नेपाल भ्रमणलाई चासोपूर्वक हेरिएपनि उल्लेख्य सम्झौता हुन नसक्दा भ्रमणको उपलब्धिमाथि प्रश्न उठेका छन् । 

कतार मध्यपूर्वमा आफूलाई अब्बल सावित गर्दै अघि बढिरहेको मुलुक हो । जनसंख्याको हिसाबले कतार साढे २७ लाख पनि जनसंख्या नपुग्ने मुलुकमा पर्छ । यस्तोमा नेपाली श्रमिक नै कतारमा ५ लाख बढि रहेको बताइन्छ । तर, नेपालीले नै कतारमा उल्लेख्य श्रम गर्दै कतार बनाइरहेको सन्दर्भमा समेत किन कतारी अमिरको नेपाल भ्रमण उपलब्धीमूलक हुन सकेन ? प्रश्न पेचिलो बन्ने देखिन्छ । परराष्ट्र मामिलाका जानकारहरु भ्रमण सफल असफल भन्नेतर्फ भन्दा पनि हामीले मौका छोप्न नसकेको अर्थमा बुझ्नुपर्नेमा जोड दिन्छन् ।

कतार तेल बेचेर विश्व समूदायमा आफ्नो बलियो उपस्थिति जनाउन छिमेकी मुलुकको नाकाबन्दी सहन गरेरै भएपनि अग्रसर बन्दै आएको देश हो । फिफा विश्वकप आयोजना गरेर विश्वलाई चुनौति पेश गरेको कतारले विभिन्न द्वन्द्धग्रस्त मुलुकमा मध्यस्थता गर्दै शान्तिको अपिल समेत गरिरहेको छ । कतारी राजपरिवारका सदस्यले विभिन्न शक्तिशाली मुलुकमा गरेको लगानीदेखि थुप्रै विषय चर्चामै रहने गरेका छन् । 

यस्तोमा उनै अमिर नेपाल भ्रमणमा रहेको बेला महत्वपूर्ण उपलब्धि हासिल हुन नसक्नु कुटनीतिक कमजोरी त छताछुल्ल बनेको छ नै, सरकारको कार्य क्षमतामाथि समेत प्रश्न उठेको छ । कतारी अमिरको नेपाल भ्रमण भेटघाटका हिसाबले सफल बनेपनि सम्झौता सहकार्यका निम्ति भने उपलब्धिमुलक बन्न सकेन् । ती विषयहरु के के हुन त ?

१. नेपाली श्रमिकको हित

कतार सम्पन्नशाली मुलुकमा पर्छ । प्रतिव्यक्ति आयका हिसाबले समेत कतार अग्रस्थानमै छ । तर, कतारमा आप्रवासी श्रमिकको ज्याला भने अत्यन्तै न्यून देखिन्छ । नेपाल र बंगलादेश कतारका ठूला श्रम बजार पनि हुन् । तर, कतारले नेपाललाई हेर्ने नजर भने फेर्ने कोसिस नै गर्न नचाहेको देखिन्छ । नेपाली श्रमिकले कतारमा ठूलो मात्रामा श्रम पसिना बगाएपनि कतारी अमिरले नेपाली श्रमिकको हक हीतका निम्ति खास कुनै सम्झौता नै गरेनन् । नेपाल सरकारले यसबारे विषय उठान गरेपनि कतारले खास चासो नदेखाएको बुझिएको छ । 

२. कतारी लगानी

कतारमा रहेको तेलको भण्डार कुनैबेला पनि रित्तिन सक्छ । त्यसैले भविष्यका लागि कतारले अहिलेदेखि नै रियलस्टेट व्यवसायदेखि थुप्रै विषयमा सम्पन्नशाली मुलुक छानेर लगानी सुरक्षित गर्ने गरेको देखिन्छ । यस्तोमा नेपाल पनि सुरक्षित लगानी गन्तव्यको रुपमा विकास भइसकेको अवस्थामा कतारी पक्षले खास चासो देखाएन । 

नेपालमा छिट्टै लगानी सम्मेलन समेत हुँदैछ । यस्तोमा कतारी पक्षले नेपालमा लगानीको वातावरणलाई उर्जामय बनाउने गरि कुनै सम्झौता गर्न मानेन । नेपालमा पर्यटन, जलविद्युत, साहसिक खेल लगायतका थुप्रै क्षेत्रमा लगानी गर्न सकिने सरकारको प्रस्तावमा कतारी पक्षले खास चासो देखाएन । नेपालको निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएपनि यसबाट उपलब्धि हासिल हुनेमा आशंका छ ।

३. हवाई उडान र कनेक्टिभीटी

कतार एयरलाइन्स विश्वमै कहलिएको संस्था हो । कतारले विश्वका धेरै मुलुकका धेरै गन्तव्यमा उडान भर्ने गरेको छ । यस्तोमा कतारले काठमाडौं केन्द्रित उडान गर्ने र मनग्य नाफा समेत आर्जन गर्ने गरेको छ । तर, कतारले नेपालमा बनेका अन्तराष्ट्रिय विमानस्थलहरु पोखरा र भैरहवामा समेत उडानको विषयलाई प्राथमिकता दिने गरि काम गर्नुपर्ने भएपनि कतारी पक्षले यसबारे प्रतिक्रिया दिएन् । 

कतार एयरलाइन्सले यी दुई विमानस्थलमा उडान गर्ने घोषणा गरेमात्रै पनि नेपालको पर्यटन क्षेत्र चलायमान बन्ने देखिन्छ । विश्वका धेरै गन्तव्यबाट पोखरा र भेरहवा आउन चाहने यात्रुहरुलाई कतार एयरलाइन्सको ठूलो सञ्जालीकरणका कारण पनि उडानमा खास समस्या नहुने विश्लेषण गरिन्छ । यस्तोमा कतारले सदासयता देखाएमात्रै पनि यो क्षेत्र चलायमान बन्ने विश्वास थियो । तर, कतार राजी देखिएन । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update