News 24 Television
८४ मा कसको आउला बहुमत ? बालेन–हर्क–कुलमान पनि तयारीमा !

काठमाडौँ । दलहरूले २०७९ सालको आमनिर्वाचनको मतपरिणामपछि नै मिसन ८४को नारा लिएर जनतलाई प्रभाव पार्दै आएको छ । विशेषतः त्यो निर्वाचनबाट अप्रत्याशित रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वप्रथम यो नारा अघि सारेको थियो  । तर पछि यो नारालाई सबै दलहरुले साझा बनाएका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले २०७९ कै निर्वाचनमा आफ्नो दलले एक्लै बहुमत ल्याउने अभिव्यक्ति दिँदै आएका थिए । तर, निर्वाचन परिणामले एमालेलाई दोस्रो स्थानमा खुम्च्याइदियो । त्यसपछि ओली पनि मिसन ८४को नारा लिइरहेका छन् ।

अर्का सत्तारु दल नेपाली काँग्रेस पनि आगामी निर्वाचनबाट एकल सरकार निर्माणको सामाथ्र्य बनाउने दाउमा छ । काँग्रेसले महासमिति बैठकमा अबको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने र एक्लैले एकल सरकार बनाउने उदेश्य लिएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रमा पनि आगामी निर्वाचनको भूत सवार भइसकेको छ । कांग्रेस–एमाले मिलेर प्रचण्डलाई सत्तच्युत गरेपछि सिंगो पार्टी नै यसैमा केन्द्रित छन् ।

त्यस्तै, गत निर्वाचनबाट चौथो शक्तिको रूपमा उदाएको रास्वपाले पनि २०८४ मा बहुमत ल्याउने सपना देखिरहेको छ ।

त्यति मात्रै होइन, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीदेखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समेतको आगामी निर्वाचनमा बहुमत ल्याउने सपना छ ।

अर्कोतिर स्वतन्त्र व्यक्तिहरू काठमाडौं महानगर मेयर बालेन शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र उज्जालोका नायक भनेर चिनिएका कुलमान घसिङहरूले मिसन ८४ को तयारी गरिरहेको बताइन्छ । त्यसैले दलहरू जनताको समस्या केन्द्रित नभई  निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित भएको भन्दै आलोचना हुने गरेको छ ।

यसरी सबै दलहरू वर्तमान समस्याहरूलाई ओझेलमा पारेर आगामी निर्वाचन केन्द्रित कार्यक्रमहरूमा लागिरहेका छन् । साढे दुई वर्षसम्म पनि सरकारले उल्लेखनीय काम गर्न नसकेकोले सरकारप्रति जनताको निराशा दिनप्रतिदिन बढ्दै गएको छ । यस्तोमा, नागरिकमा बढ्दो असन्तोषको सम्बोधन गर्ने प्रयास नगरी सबै दलको ध्यान २०८४ को निर्वाचनमा केन्द्रित भइरहँदा, संसद् र सरकारको बाँकी कार्यकाल थप निराशाजनक बन्ने खतरा बढेको देखिन्छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update