News 24 Television
देश छोडेर भाग्दिनँ, भाग्नुपर्ने कुनै कारण छैन : पूर्वऊर्जामन्त्री खड्का

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं निःवर्तमान ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफू देश छोडेर भाग्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वमन्त्री खड्का अमेरिका भागेको भनी अन्तर्वार्ता दिएलगत्तै उनले सोमवार जेनजी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार सम्मेलन गरी सो दाबी गरेका हुन् ।

उनले गृहमन्त्री अर्याललाई आफू के कारणले देश छोडेर भाग्नुपर्ने रहेछ ? भनी प्रश्न समेत गरे । पूर्वमन्त्री खड्काले आफूले मुलुकमा भ्रष्टाचारविरुद्ध अभियान नै चलाएको जिकिर समेत गरे । उनले राजनीति खर्चिलो हुन्छ भनेर आफूले व्यापार व्यवसाय गरेर राजनीतिमा आएको पनि बताए ।

पूर्वमन्त्री खड्काले भने, ‘उहाँ कानूनको विद्यार्थी हुनुहुन्छ रे भन्ने मैले सुनेको छु । कानूनी राज्यको विषयमा उहाँ राम्रै जान्नुहुन्छ गृहमन्त्रीजी । म के कारणले भाग्नुपर्ने रहेछ ? म पदमा हुँदा मैले गरेका निर्णयहरु, पदमा नहुँदा मैले गरेका व्यवहार, व्यापारहरु, मैले राजनीतिक गरेको नै राजनीति खर्चिलो छ । आयआर्जन चाहिन्छ भनेर व्यवसाय गरेर त्यसबाट खान लगाउनु पुग्छ भनेर म राजनीति सुरु गरेको मान्छे हो । सायद भ्रष्टाचार विरुद्धमा सबैभन्दा बढी अभियानकै रुपमा लिएर जाने मान्छे हो म ।’

नेता खड्काले आफू श्रीमती डेंगु लागेर विरामी भएपछि उपचारको लागि भारत गएको स्पष्टीकरण समेत दिए । 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update