News 24 Television
अमेरिका भागेका भनिएका दीपक खड्का काठमाडौंमै

काठमाडौं । जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भ्रष्टाचारीलाई नछाड्ने प्रण गरिरहेको छ । भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने जेनजीको माग भएकाले भ्रष्टाचारका फाइलहरु अघि बढाइएको प्रधानमन्त्री सुशीला कार्की स्वयम्ले बताएकी छन् । भ्रष्टाचारीविरुद्धको कारबाही तीब्र भएकै कारण पूर्वमन्त्रीहरुको भागाभाग भइरहेको गृहमन्त्री ओमप्रकाश अर्यालको अभिब्यक्तिले अर्को ट्वीष्ट ल्याएको छ । 

जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले भ्रष्टाचारविरुद्ध आक्रामक बन्ने बताइरहेको छ । जेनजी आन्दालनपछि गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन भए पनि सरकार भने भ्रष्टाचारविरुद्धको अभियानमा फरक तरिकाले लागिरहेको छ । प्रधानमन्त्री सुशीला काकीले २ दिनअघि मात्रै कुटनीतिक नियोगका प्रमुखहरुलाई नै बोलाएर जेनजी आन्दोलनको मुख्य एजेण्डा नै सुशासन भएकाले भ्रष्टाचारविरुद्धको फाइल खोलिएको बताइएकी थिइन् । 

गृहमन्त्री ओमप्रकाश अर्यालपछि भ्रष्टाचारीलाई सरकारले नछोड्ने अभिब्यक्ति दिइरहेका छन् । दुई दिनअघि मात्रै गृहमन्त्री अर्यालले भ्रष्टाचारविरुद्ध सरकार आक्रामक भइरहँदा पूर्वमन्त्री दीपक खड्का देश छोडेर भागेको भनी एक दैनिक पत्रिकालाई अन्तर्वार्ता नै दिएका थिए ।

गृहमन्त्री अर्यालको अन्तवार्ता लगत्तै सोमवार काठमाडौंमा देखिएका पूर्वमन्त्री एवम् कांग्रेस नेता खड्काले आफू भाग्नुपर्ने अवस्था नै नरहेको तर गृहमन्त्रीले भ्रम फैलाएको बताए । 

कुनै पनि भ्रष्टाचारीलाई बाँकी नराख्ने उनको अभिब्यक्तिकै कारण प्रमुख राजनीतिक दलहरुले आगामी निर्वाचनको वातावरण विगारेको बताइरहेका छन् । सरकारले भ्रष्टाचारको विभिन्न फाइलहरु खोल्ने क्रममा सुन तस्करी प्रकरण (भेप)मा पूर्व सभामुख एवम् माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परेका थिए । 

उक्त मुद्दामा महरा पुपक्र्षका लागि कारागार चलान गरिएका छन् । महरा पक्राउले माओवादी केन्द्र पनि विच्किएको छ । यता, जेनजी आन्दोलनका अगुवाहरुले पनि भ्रष्टाचारविरुद्धको अभियान तीब्र बनाउन सरकारलाई दबाब दिइरहेको छन् । 

उनीहरुले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई नै पक्राउ गर्न भनी सरकारलाई दबाब बढाइरहेका छन् । तर सरकारले भने लोकरिझ्याइँका लागि मात्रै भ्रष्टाचारविरुद्ध आक्रामक बन्न खोजेको देखिएको छ । गृहमन्त्रीले नै अमेरिका भागेको बताएका खड्का काठमाडौंमै देखिनुले सरकारको कमजोरी औंल्याएको छ । तर गृहमन्त्री अर्याल भने त्यो कुरा स्वीकार्न तयार छैनन् । 

देशमा बढ्दो भ्रष्टाचार र बेथितिकै कारण भदौ २३ मा जेनजी आन्दोलन उठेको हो । जेनजी आन्दोलनकै बलमा बनेको सरकारले भ्रष्टाचारविरुद्ध कारबाही अघि बढाउनुलाई मनासिव नै हो । तर विगतका राजनीतिक दलका नेता तथा मन्त्रीहरुले जस्तै अनावश्यक हौवा पिटाउने तर माखो नमार्ने प्रवृत्ति भने झनै घातक हुनेछ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update