News 24 Television
समिति सभापति हात पार्न हानाथाप 

मकवानपुर । बागमती प्रदेशसभाको संसदीय समितिका सभापति चयनका लागि अन्तिम मिति तय गरिएको छ । आउँदो जेठ ३ गतेसम्म सर्वसम्वतरुपमा समितिका सभापतिको चयन नभए जेठ ४ गते निर्वाचन प्रणालीबाट सभापति चयन गर्ने सहमति गरिएको हो । सत्तापक्ष दलहरुले सहमतिमै टुंग्याउने भने पनि यो विषय सहज भने देखिदैन । 

बागमती प्रदेशसभाका संसदीय समितिका सभापति चयनको विषयमा सहमति जुटेको छ । जस अनुसार अगामि जेठ ४ गतेसम्ममा संसदीय सभापति चयनको विषय पार लगाउने निर्णय शुक्रबार बसेको सर्वदीय बैठकले गरेको हो । 

भए सहमतीमा, नभए निर्वाचन गरेरै भएपनि सभापति चयनको अन्तिम डेटलाइन तय गरिएको छ । पाँच संसदीय समिति रहेको बागमती प्रदेश सभामा मिलेर जाने भन्ने एक प्रकारको सहमती नै भएको एमालेको दाबी  छ । 

यता, प्रदेश सभामा ७ सिट रहेको नेकपा एकीकृत समाजवादीले तीन मन्त्रीको भाग पाउँदा पनि थप संसदीय समितिको सभापतिमा दाबी बढाइरहेको छ ।

७ राजनीतिक दलमध्ये ५ दलले नै सभापति पाउनेमा नेकपा एस लगभग ढुक्क देखिन्छ । त्यसोत, प्रमुख प्रतिपक्षी दलले स्वतः पाउने सार्वजनिक लेखा समिति बाहेक पनि अर्को एक समितिको सभापति पाए मात्रै सर्वसम्मती हुन दिने, नत्र निर्वाचन प्रक्रियामै सहभागी हुन कांग्रेस तयार देखिएको छ । 

हाल सरकारमा एमाले, माओवादी, नेकपा एस र हानेपा गरि ४ दल रहेकोमा हानेपा बाहेक तीन दललाई एक एक वटा र राप्रपालाई एक र कांग्रेसलाई एक समितिको सभापति दिने गरि सरकार पक्षले रणनीति तयार गरे पनि सभापतिको चयनको सर्वसम्मतीमा हुने सम्भावना भने क्षीण छ । 

प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएको झण्डै डेढ बर्ष हुनै लाग्दा समेत संसदीय समितिको सभापति चयन गर्न नसक्दा संसदीय प्रणाली नै फितलो बनेको छ । बागमती प्रदेशमा ५ वटा संसदीय समिति छन् । 

प्रदेशमा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update