News 24 Television
शून्यबाट सुरु भएको प्रदेशसभा अहिले सुविधा सम्पन्न भवनमा

बुुटवल । लुम्बिनी प्रदेश सभा अन्तरगतका भौतिक संरचनाहरु धमाधम निर्माण भैरहेका छन् । प्रदेश सभा भवन, प्रदेश सभा सचिवलायको भवन निर्माण भई प्रयोगमा समेत आईसकेको छ । 

बनेका संरचनाहरुलाई व्यवस्थित बनाउँन आवश्यक सडक संरचना, ढल पुर्वाधार, पार्कीङ्ग, सौन्दर्यकरण लगायतका कामहरु पनि भइरहेका छन् । 

अस्थायी राजधानी बुटवलमा शुन्य संरचनाबाट शुरु भएको लुम्बिनी प्रदेश सभाको यात्रा अहिले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सुविधासम्पन्न भवनहरुतर्फ हुँदैछ । 

प्रदेश सभाले देउखुरीमा आफ्नै भौतिक संरचना खडा गर्दै वि.स. २०७९ पौष ११ गतेदेखि कार्य सम्पादन शुरु गरेको थियो । 

स्थायी राजधानीमा सरेको झण्डै डेढ वर्षमै प्रदेश सभा परिसरमा व्यवस्थित सभाहल निर्माण गरिएको छ । लुम्बिनी प्रदेशको मौलिकतालाई झल्काउने सभा, नेपालमै नमूना प्रदेश सभाहलको रुपमा समेत रहन गएको छ । 

त्यस्तै, प्रदेश सभामा ५ हजारभन्दा बढि विभिन्न विषयका पुस्तकहरु संग्रहित ई(लाईवे्ररी तथा संवाद केन्द्र स्थापित भैसकेको छ भने सुविधा सम्पन्न छुट्टै पुस्तकालय भवनपनि निर्माणाधीन अवस्थामा छ । 

भ्याट समेत गरेर ४७ करोड १७ लाख २६ हजार रुपैयाँ लागतमा तलका संसदीय दलका कार्यालय, ३ तले विषयगत समितिका भवन, एउटा पुस्तकालय र एक चमेना गृह निर्माण काम सम्झौता भएर काम सुरू भएको छ । 

शहरी विकास मन्त्रालय अन्तरगत राजधानी कार्यान्वयन ईकाईको कार्यालय राप्ती उपत्यका (देउखुरी)ले यी संरचना निर्माणको काम गरिरहेको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ । 

यस्तै, प्रदेश सभा सचिवालय अगाडीको प्राङ्गगणमा प्रदेश पुर्वाधार विकास प्राधिकरणले सडक, ढल व्यवस्थापन, पार्किङ्ग, गार्डेनिङ्ग, र सौन्दर्यकरणको काम गरिरहेको छ । 

प्रदेश सभा परिसरमा ३ करोड २७ लाख लागतमा ६० बढि चार पाङ्ग्रे सवारी साधन, दुई सय बढि दुई पाङ्ग्रे सवारी साधन राख्ने मिल्ने गरी पार्किङको काम भैरहेको प्रदेश पुर्वाधार विकास प्राधिकरणले जनाएको छ । 

लुम्बिनी प्रदेश सरकार राजधानी र प्रदेशसभाको ढललाई ढोलही खोलामा व्यवस्थापन गर्ने योजना बनाइएको छ । 

प्रदेश सचिवालयका ठुला पुर्वाधारका कामहरु शहरी बिकास मन्त्रालयबाट भैरहेको छ भने प्रदेश सभा सचिवालय अन्तरगतका सिसिटिभि जडान, बराहखुट्टीमा रहेको सभामुख निवासको भौतिक निर्माण, उपसभामुख निवासको भौतिक निर्माण, श्रीचौरमा रहेको कर्मचारी आवासलाई व्यवस्थित बनाउने,  प्रदेश सभाहलमा गटर र भिडियो वाल राख्ने कामहरु प्रदेश सभा सचिवालय आफैले गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update