News 24 Television
विश्वकप क्रिकेटमा नेपालको अग्निपरीक्षा

काठमाडौँ । नेपाल आईसीसी टी ट्वेन्टी विश्वकपमा दोस्रोपटक खेल्दैछ । १० वर्षअघि पहिलोपटक टी ट्वेन्टी विश्वकप खेल्दा नेपालले सम्मानजनक प्रदर्शन गरेको थियो । त्यतिबेलाको टिम र अहिलेको टिममा धेरै परिवर्तन भइसकेको छ । पछिल्लो पटक नेपाली क्रिकेट टीमको ब्याटिङ लाइनअप निकै सुधारिएको छ । त्यसैले पनि यो पटकपनि नेपालले प्रभावशाली प्रदर्शन गर्ने नेपाली क्रिकेटपारखीको अपेक्षा छ । नेपालले आफ्नो पहिलो खेल मंगलवार नेदरल्याण्ड्ससँग खेल्दैछ । 

नेपालसमेत सहभागी भएको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा जारी छ । आइतबारबाट सुरु भएको विश्वकपको तेस्रो दिन मंगलबार नेपालले आफ्नो पहिलो खेल नेदरल्याण्ड्सविरुद्ध खेल्दैछ । १० वर्ष अगाडि सन् २०१४ मा पारस खड्का नेतृत्वको राष्ट्रिय टोलीले टी–२० विश्वकप खेल्दा नेपाली क्रिकेटले एउटा नयाँ युगको सुरुवात गरेको ठानिएको थियो । त्यसबेला नेपालले गरेको प्रभावशाली प्रदर्शन र नेपालको क्रिकेट क्रेज देखेर सबै मुग्ध बनेका थिए । त्यही इतिहास दोहो¥याउने यात्रामा अहिले दोस्रो पटक नेपालले टी–२० विश्वकप खेल्दै छ । 

एक दशकपछि टी–२० विश्वकपमा फर्किएको नेपालले कस्तो प्रदर्शन गर्ला भन्ने सबैको चासोको विषय बनेको छ । यस पटकको टी–२० विश्वकपमा २० देशको सहभागीता रहेको छ । २० टिमलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘डी’मा टेस्ट राष्ट्रहरू दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंकासँगै अर्का बलियो एसोसिएटेड राष्ट्र नेदरल्यान्ड्स रहेका छन् । यसपटक नेपाली टिमले उत्कृष्ट खेल खेलेर खुशी खेलाडीहरूले बताउने गरेका छन् ।

पछिल्लो समय क्रिकेटबाट निकै उत्साह भर्न सफल भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि नेपाल टिमले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास राखेका छन् । नेपाली टिममा सबै किसिमले ब्यालेन्स मिलेको उनको भनाई छ । 

नेपाल र नेदरल्यान्ड्स चिरपरिचित प्रतिद्वन्द्वी हुन् । अन्य प्रतिद्वन्द्वीमध्ये नेपाललाई नेदरल्यान्ड्ससँग खेल्न सहज हुनेछ । नेदरल्यान्ड्सको हकमा पनि यही कुरा लागू हुनेछ । नेपाल र नेदरल्यान्ड्स दुवै एसोसिय राष्ट्र हुन् भने यस समूहका अरू सबै टेस्ट मान्यता राष्ट्र हुन् । नेपाली क्रिकेट समर्थकहरू नेदरल्यान्ड्सको टोलीलाई विशेष रूपमा सम्झिने गर्छन् । यसअघि  नेदरल्यान्ड्सको नेपाल यात्रामा नेपालविरुद्धको खेलहरू निकै रोचक बनेको देखिएको थियो । 

कस्तो छ हेड टू हेड ? 
टी–२० मा नेपाल र नेदरल्यान्ड्सले सन् २०१५ देखि प्रतिस्पर्धा गर्न थालेका थिए । यो नौ वर्षको अवधिमा यी दुई देश १२ पटक आमनेसामने भएका छन् । जसमा नेपालले पाँच र नेदरल्याण्डले ६ पटक जितेको छ भने एक खेल अनिर्णीत भएको छ । गत मार्चमा कीर्तिपुरस्थित टीयु मैदानमा नेपाल र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक सिरिज भएको थियो । उक्त खेलमा नेदरल्यान्ड्सले दुई र नेपालले एक खेल जितेको थियो ।

सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई एक अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा २ रनले पराजित गरेको थियो । त्यसको बदला लिने क्रममा नेपालले अर्को  खेलमा ६ विकेटले सहजै हरायो । तर, अन्तिम तथा तेस्रो खेलमा नेपाल चार विकेटले पराजित भएको थियो । 

त्यसअघि सन् २०२१ अप्रिल पनि नेपाल र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक सिरिज भएको थियो । उक्त सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यड्समाथि ९ विकेटलको शानदार जित निकालेको थियो । दोस्रो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो भने अन्तिम तथा तेस्रो खेलमा नेपाल फेरि १ सय ४२ रनले विजयी भएको थियो । सन् २०१९ अक्टोबरमा भएको खेलमा चार विकेटले विजयी भएको थियो भने २०१८ जुनमा भएको खेल अनिर्णीत भएको थियो । त्यसअघि सन् २०१५ मा नेपाल र नेदरल्यण्बीच चार खेल भएको थिए । जसमा नेपालल एक खेल मात्रै जितेको थियो । 

नेपाललाई जित निकाल्न कति सहज ? 

केही समयअघि भारतमा भएको एकदिवसीय विश्वकपमा उक्त टोलीले दक्षिण अफ्रिका र बाङ्ग्लादेशलाई हराएर तहल्का नै मच्चाएको थियो । त्यस हिसाबले एसोसियट राष्ट्रको शीर्ष टोली नेदरल्यान्ड्सका खेलाडीहरू अहिले राम्रो लयमा छन् । 

नेदरल्यान्ड्सका म्याक्स ओडिड र माहिर लेभिट राम्रा खेलाडी हुन् । अनि त्यसमा थपिएका युवा माइकल लेभिट खतरनाक छन् । बलिङतर्फ तीव्र गतिका भिभियन किंग्मामा र स्पिनमा आर्यन दत्तले नतिजा दिइरहेका छन् । यद्यपि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख तथा उनीहरूको विकल्पमा रहन सक्ने अनिल शाहले प्रभाव देखाउन थालेका छन् । 

दीपेन्द्र सिंह ऐरीको ‘फर्म’ फर्किएको अनुभूति भइसकेको छ । करण केसीको बलिङ धार पनि तेजिलो भएको देखिएको छ । कप्तान रोहित पौडेल र गुलशन झाले नेदरल्यान्ड्स विरुद्धको पछिल्लो खेलमा धैर्यतापूर्वक खेल्दै आरामसँग विजय दिलाएका थिए । सोमपाल कामी नेपालका अनुभवी खेलाडी हुन् । उनले यसअघि सन् २०१४ मा पनि टी–२० विश्वकप खेलेका थिए । यसले नेपाललाई केही योगदान दिनेछ । 

नेपाल आफ्नो बलियो आत्मविश्वासलाई मैदानमा कायम राख्दै विश्वलाई ‘सरप्राइज’ नतिजा दिने प्रतीक्षामा रहेको छ । 


 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update