News 24 Television
अझै पनि शिक्षालाई व्यवहारिक बनाउन सकेनौँ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको बताए । शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्ने र शिक्षालाई दर्शन सिक्ने ठाउँको रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ । नेपालको शिक्षा नेपाली जनजीवन, नेपाली समाजको जीवनमा आधारित भई प्राकृतिक श्रोत–साधनहरुको सदुपयोग गर्ने सन्दर्भमा केन्द्रित हुनुपर्ने उनले बताए । 

अहिलेको समयानुसारको पाठ्यक्रमहरु निर्माण गरी दक्ष शिक्षकहरुबाट विद्यार्थीलाई शिक्षित बनाउनुपर्ने सभामुखको भनाइ छ । उनले शिक्षालाई सर्वसुलभ बनाई, शिक्षा जीवनोपयोगी बनाउने र शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउनका लागि हो भन्ने हिसाबबाट अघि बढ्न जरुरी रहेको बताए ।

सभामुख घिमिरेले विचारबाट समाजलाई परिवर्तन गर्ने वैज्ञानिक शिक्षा विद्यार्थीहरुलाई सिकाउन आवश्यक रहेको भन्दै अहिलेको शिक्षालाई वैज्ञानिक शिक्षा नीतिमा लैजानुपर्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update