News 24 Television
चर्च ब्वाइजले भूटानको लिग च्याम्पियन पारो क्लवसँग खेल्दै 

काठमाडौ । चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी च्यालेन्ज लिग प्लेअफमा आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने  बताएका छन् । 

चर्च ब्वाइजले आगामी साउन २९ गते घरेलु मैदान दशरथ रंगशालामा भूटानको लिग च्याम्पियन पारो एफसीसँग खेल्दैछ । 

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा पछिल्लो दुई अन्तर्राष्ट्रिय खेल घरेलु मैदानमा हुन सकेको थिएन । अहिले अन्तर्राष्ट्रिय मान्यता फर्किएपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिष्पर्धा हुन लागेको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) मा शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै चर्च ब्वाइजका प्रशिक्षक महर्र्जनले आफ्नो टोलीले प्रारम्भिक चरणको खेलमा राम्रो प्रदर्शन गर्ने बताए । 

उनले अधिकांश नेपाली सिनियर राष्ट्रिय टोलीमा रहेका खेलाडलाई क्लवमा आवद्ध गरिएको उल्लेख गर्दै टिम कम्बिनेसन पनि राम्रो भइरहेको उल्लेख गरेका छन् । 

आफ्नो टिमप्रति सन्तुष्ट रहेको र लामो समयदेखि सँगै खेलेका खेलाडी एउटै टोलीबाट खेल्दा राम्रो हुने उनको आशा छ । उनले छोटो तयारीका बाबजुद आफ्नो टोलीले तयारी राम्रो गरिरहेको पनि बताएका छन् । 


च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दैछन् । नेपालको शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भूटानको लिग च्याम्पियन पारो एफसीसँग तथा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानी लिग च्याम्पियन क्लव अट्याक इनर्जीसँग खेल्ने तय छ । दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् । अघिल्लो सिजनमा नेपालको क्लव मच्छिन्द्रले पाराले हराउँदै दोस्रो चरणको यात्रा तय गरेकी थियो । 

यद्यपि, यस पटक एएफसीले प्रारम्भिक चरणमा जतिपनि विदेशी खेलाडी राख्ने पाउने नियमका कारण केही कठिन हुने चर्च ब्वाइजका प्रशिक्षक महर्जनको भनाइ छ । 

उनले पारोले अधिकांश विदेशी खेलाडी राखेको उल्लेख गरेका छन् । यद्यपि, आफ्नो क्लवमा पनि नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीले पनि राम्रो प्रदर्शन गर्ने प्रशिक्षकको महर्जनको आशा छ । 

घरेलु मैदान, लामो समयसम्म खेलिरहेका खेलाडीले पनि राम्रो नतिजा दिने र आगामी चरणमा प्रशिक्षक महर्जन बताउँछन् । 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update