पोखरा । तपाईंले वनलाई कसरी हेर्नु भएको छ ? दैनिक रुपमा प्रयोग हुने काठ दाउराको श्रोत हो या हामीले पिउने पानीको जोहो गर्ने श्रोत ? वन्य जन्तुको बासस्थान या प्राकृतिक पहिरो रोक्ने प्राकृतिक उपाय ? हाम्रो शरिरलाई नभई नहुने अक्सिजनको प्रमुख श्रोत कि जडीबुटीको खानी ? ठुला राष्ट्रले उत्सर्जन गर्ने कार्वन सोस्ने प्रमुख साधन कि हरित देशको निर्विकल्प उपाय ? हो हाम्रो वनले यती धेरै काम गर्छ तर के हामीले वन जोगाउन कुनै एक मात्र प्रयास गरेका छौं त ? वनबाट हुने यी तमाम फाईदाकै कारण भनिएको हो ‘हरियो वन नेपालको धन ।’
अस्तित्व नै खतरामा
धर्तीको कूल हिस्साको न्युनतम ४०% भन्दा बढी वनजंगल हुनु जरूरी छ । नेपालको अवस्था अहिले सन्तोषजनक भएपनि विस्तारै विनासतर्फ जाँदैछ । पछिल्लो समय डढेलो, भूक्षय, अतिक्रमण, संरक्षणको कमि लगाएतका वभिन्न कारणले वनजंगलको अस्तित्व नै खतरामा पर्ने वातावरणविद्हरु बताउँछन् । विशेषतः मानविय लापरवाही कै कारण वनजंगल विनाश हुँदै गएको छभने सन्तुलित वातावरण नै जोखिममा परिरहेको छ । प्राणीहरूले सजिलोसँग जीवन बाँच्नको लागि सन्तुलित वातावरण अपरीहार्य छ, जसका लागि दुई आधार ‘स्वच्छ हावा र स्वच्छ पानी’ आवश्यक छ र यो प्राप्त गर्न वनजंगल चाहिन्छ ।
अहिलेको आधुनिक युगमा प्रविधिले फड्को मार्दै गएपनि औधोगिकरण, शहरीकरण र आधुनिकिकरणले गर्दा त्यसको प्रतिकुल असर वनसम्पदामा परेको छ । एकातिर उद्योगको लागि चाहिने कच्चापदार्थको लागि वनजंगलको अत्याधिक प्रयोग गर्दा पर्यावरणमा प्रत्यक्ष असर त परेको छ नै अर्कोतिर उद्योग कलकारखानाबाट निस्कने हानिकारक रासायनहरूको कारण बढेको भुमी, जल, वायु प्रदुषणले वातावरणिय सन्तुलन विग्रदै गएको छ । वनजंगल लगायतका अन्य प्राकृतिक सम्पदाहरूको दिगो व्यवस्थापन गरि संरक्षण गरिएन भने एकदिन पृथ्वीमा जीवनरहित बञ्जर मरूभुमीमात्र रहनेमा कुनै दुई मत छैन । तर आजको मानव दुनिँया वनजंगलको विकास तथा संरक्षणतर्फ होइन विनाशतर्फ उद्धृत भएको देखिन्छ ।
वनजंगलको विनासका कारणमा डढेलो पनि एक हो । नेपालमा ९० प्रतिशत डढेलो मानव कारणबाट हुने गरेको वन निर्देशनालय गण्डकीकी उपसचिव करुणा कार्की बताउँछिन् । उनी भन्छिन् –‘वन व्यवस्थापन कै लागि डढेलो आवश्यक छ तर त्यो नियन्त्रीत र व्यवस्थित डढेलो हुनुपर्छ । डढेलो जरुरी पनि छ । व्यवस्थित डढेलोले धेरै कुरामा वनलाई फाइदा गर्छ तर अनियन्त्रीत डढेलो भने निकै घातक हो ।’
नेपालका डढेलो प्राय अनियन्त्रीत खालको हुने गरेको उनको भनाई छ । ‘पुषमा पात पतिङगर संकलन गर्ने र माघको अन्तिममा व्यवस्थित नियन्त्रीत डढेलो लगाएमा डढेलोबाट हुने क्षतिमा न्यूनीकरण हुने थियो । यसलाई बन डढेलो कम गर्न विकल्पको रुपमा लिन सकिन्छ ।’ –उपसचिव कार्की भन्छिन् ।
वन तथा भू–संरक्षण विभागको तथ्यांक हेर्ने हो भने नेपालमा १० महिनाको अवधिमा मात्रै ५ हजार भन्दा बढी डढेलो सम्बन्धी घटना भएको छ । डढेलोसँगै वनजंगल विनाश भएमा पहिरोको जोखिम पनि उत्तीकै हुन्छ । अहिलेपनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालका २१ जिल्ला पहिरोको उच्च जोखिममा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्र्तै वन विनासको कारण अतिक्रमण पनि रहेको छ । नेपालमा वनजंगल प्रयाप्त भएपनि अतिक्रमण, डढेलो र भूक्षयले गर्दा वनजंगलको अवस्था खस्कदै गएको वातावरणविद् सन्तोष भट्टराई बताउँछन् । ‘वनले नै वातावरण जोगाएको छ । वनजंगल नै विनाश भए वातावरण सन्तुलन हुन सक्दैन र ठुलो क्षति निम्त्याउछ ।’ –भट्टराई भन्छन् ।
कार्वनबाटै अर्बौ आम्दानी
वनजंगल भनेको घाँस, दाउरा, हरियाली मात्र होइन यो वन्यजन्जतुको वासस्थान, मानव तथा जीवजन्तुको लागि आवश्यक अक्सिजन, पानीको स्रोत पनि हो । वनका फाइदा धेरै छन् र बहुउपयोगी छ साथै विश्वको जलवायु सन्तुलनसँग पनि जोडिएको छ । बाढी पहिरो जस्तो प्राकृतिक प्रकोप न्यूनीकरण गर्न होस् या फर्निचरका सामाग्री बनाउन वनकै आवश्यकता पर्छ । त्यतीमात्र नभई राज्यले वनलाई आम्दानीको स्रोत बनाउन सक्छ । अहिलेपनि नेपालले जडिबुटी, औषधिजन्य पदार्थ तथा कार्बन बेचेर आर्थिक पक्ष बलियो बनाउन सक्नेछ । नेपालले सन् २०२४ को अन्त्यसम्ममा ९० लाख टन कार्बन बेच्ने लक्ष्य राखेको र जसबाट ४५ अर्ब नेपाली रुपैयाँ राज्यले कमाउने वातावरणविद् अमृत देवकोटा बताउँछन् । उनका अनुसार नेपालको वनमा अझैपनि १ अर्ब ५ करोड ५० लाख टन सञ्चित कार्वन रहेको छ । ‘सदुपयोग गर्न सके राज्यको राम्रो आम्दानीको स्रोत वन पनि बन्न सक्छ । दिगो व्यवस्थापन र संरक्षण गर्दै वनलाई आर्थिकसँग राज्यले जोड्नु पर्दछ ।’ –देवकोटा भन्छन् ।
संरक्षणमा सामुदायिक वन उपभोक्ताको भूमिका
पछिल्लो समय वनलाई संरक्षण गर्न सामुदायिक वन संरक्षण उपभोक्ता समूहको भूमिका महत्वपूर्ण रहदै आएको छ । राज्यले मात्र संरक्षण गर्न नसक्ने हुँदा नेपालका धेरै वनहरु उपभोक्ता समूहमार्फत संरक्षण र सम्वर्धन हुँदै आएको छ । राज्यले मात्र संरक्षण सम्भव नहुने डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख बसन्तबाबु श्रेष्ठ बताउँछन् । उनी भन्छन् –‘‘सामुदायिक वन उपभोक्ता समूहकै कारणले धेरै वन संरक्षण भएको छ । वनको हैसियतमा समेत क्रमिक सुधार आएको छ ।’
राज्यले संरक्षणको जिम्मा सामुदायिक वन उपभोक्ता समूहलाई दिए पनि समूहकै पदाधिकारीहरु भने वन संरक्षणका विषयमा तालिम, सेमिनार, गोष्ठी आवश्यक रहेको भैरव वन सामुदायिक उपभोक्ता समूह सुर्खेतका अध्यक्ष अमरबहादुर कार्की बताउँछन् । उनी भन्छन् –सामुदायिकमा अपनत्व हुन्छ, काम पनि त्यही अनुसार हुन्छ तर समूहलाई तालिम, सेमिनार, गोष्ठी आवश्यक छ । कुनै पनि गर्नुपर्ने कार्य र बजेट माथीबाटै तोकेरै आउने भएकाले तत्काल भैपरि आउने काम गर्नलाई समस्या छ । यहाँका प्राय सामुदायिक वन समितिले आफ्नै स्रोत साधनले वन डढेलोलाई नियन्त्रण गरिरहेका छन् । स्थानीय, प्रदेश र संघिय सरकारले व्यवस्थापनका लागि बजेट थप्न आवश्यक छ । धेरैले कुरा उठाउँछन् तर सुनुवाई अहिलेसम्म भएको छैन ।’ सर्वप्रथम समूहका पदाधिकारीहरुलाई नै सचेतना जगाउँनुपर्ने उनको भनाई छ । भन्छन् –‘पदाधिकारीहरुलाई चेतना अभिवृद्धिको कार्यक्रम ल्याउनु पर्छ । कार्ययोजना, विधान पनि अध्ययन गर्दैनन् पदाधिकारीहरुले, त्यो राज्यले चेतना गराउनु पर्छ ।’
कास्की र सुर्खेतको अवस्था
गण्डकी प्रदेशको कास्की जिल्ला र कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वनको अवस्था हेर्दा दुवै राम्रो देखिएको छ । कास्कीमा क्षेत्रफलका हिसाबले ४६ प्रतिशत वनले ओघटेको हुनाले वनको प्रयाप्तता राम्रो रहेको वन निर्देशनालय गण्डकीकी उपसचिव करुणा कार्की बताउँछिन् । वन संरक्षणमा सुधार भएपनि पहिरो र डढेलोको समस्या बढ्दै गएको उनको भनाई छ । डिभिजन वन कार्यालय कास्कीको अनुसार यहि सिजनमै १० हेक्टर भन्दा बढी वन क्षेत्रमा डढेलो लागेको थियो । त्यस्तै कास्कीमा वन संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समूहको सक्रियता पनि निकै जिम्मेवारीपूर्ण रहेको डिभिजन वन कार्यालय कास्कीका सुचना अधिकृत हरिप्रसाद गौतम बताउँछन् । समग्रमा हेर्दा कास्कीमा वनको अवस्था राम्रो रहेको गौतमको भनाई छ ।
उता सुर्खेतमा पनि वनको अवस्था सन्तोषजनक नै रहेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । तर सुर्खेतमा डढेलोको समस्या भने निकै बढेको डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख बसन्तबाबु श्रेष्ठ बताउँछन् । ‘सुर्खेतमा विगतमा तुलनामा बन ढडेलोको संख्या र क्षेत्रको हिसाबले धेरै भएको देखियो । करिब ३३ हजार हेक्टर जग्गामा आगो लागेको देखिन्छ । एक महिनामा १३४ ठाउँमा १३ हजार हेक्टर क्षेत्रमा डढेलो लागेर क्षति पुगेको छ । धेरै प्रयास गर्दागर्दै पनि नियन्त्रण गर्न कठिन नै रह्यो ।’ –उनी भन्छन् । वन अतिक्रमणलाई रोकिएको र अतिक्रमण गर्नेलाई कानूनी दायरामा ल्याइएको दावी श्रेष्ठ गर्छन् । भन्छन् –‘यहाँ जनसक्तिको अभाव छ, क्षेत्र ठुलो छ । दरवन्दी कम भएकाले प्रभावकारीरुपमा काम गर्न गाह्रो भएको छ । वन्यजन्तुको वासस्थानका हिसाबले अलि व्यवस्थापन छैन तर समग्रमा हेर्दा सुर्खेतमा प्रयाप्त छ वन ।’
वातावरण सन्तुलनमा वन
पछिल्लो समय वातावरण सन्तुलन राख्न निकै कठिन बनिरहेको छ । दिनानुदिन वातावरण प्रदूषणमा वृद्धि हुँदै गएको छ । यसलाई समयमै न्यूनीकरण गर्न सकिएन भने मानव अस्तित्व मात्र नभई सृष्टि नै ध्वस्त हुने निश्चित छ । वातावरण प्रदूषणलाई हटाउन वनजंगलको भूमिका महत्वपूर्ण रहने वातावरणविद् सन्तोष भट्टराई बताउँछन् । भन्छन्– ‘वन्यजन्तुलाई वासस्थान दिएको छ, मानिस जिवजन्तुलाई अक्सिजन दिएको, जलवायु परिवर्तन कम गर्नलाई कार्वनलाई घटाएको छ, पहिरोको नियन्त्रणमा भूमिका खेलेको छ वनले, त्यसैले वातावरण प्रदुषणलाई हटाउन वनजंगलको भूमिका अपरिहार्य छ । वनले नै वातावरण जोगाएको छ । तसर्थ वनजंगल विनाशलाई रोक्नु हामी सबैको कर्तब्य हो ।’ नेपालको परिपेक्षमा स्थानीय, प्रदेश तथा संघिय सरकारले वन संरक्षणमा राम्रै गरिरहेको उनको तर्क छ ।
यता सबै सरोकारवालाहरु निकायले चासो दिनुपर्ने र दिगो वन व्यवस्थापन गर्दै राज्यले नै संरक्षणमा भूमिका खेल्नुपर्ने विन विज्ञ लिला पुरी बताउँछन् । भन्छन् –‘वातावरण सन्तुलन पनि हुने, नाफा पनि हुने भएकाले पछिल्लो समय निजी वन तर्फ मानिसहरु आकर्षित हुन थालेका छन् । यो सकरात्मक सन्देश पनि हो ।’ तर औद्योगिकरण, शहरीकरण, संरक्षणको अभाव, जनसंख्या वृद्धिलगाएतका कुराले विस्तारै वनजंगल घट्दै गएमा सिंगो पर्यावरणीय वातावरणमा प्रतिकुल असर पर्ने उनको भनाई छ ।
एक्काइसौं शताब्दीको यो विज्ञान प्रविधिको युगले वातावरण सन्तुलनमा विकराल समस्या लिएर आउँने पक्का छ । अहिले नै वातावरणिय प्रदूषणको असरहरु मौसम परिवर्तन, ग्लोबल वार्मिङ, खडेरी, महामारी रोगजस्ता गम्भीर वातावरणीय समस्याहरू टड्कारो रूपमा देखिन थालेको छ । तसर्थ वातावरण सन्तुलन राख्न वन संरक्षण गरौं ।