प्यारी छोरी निभा,
असीम माया एवं शुभाशीष !
आज तिम्रो जन्मदिन भन्दा म खुशी हुनु पर्ने हो । तर जहिल्यै तिम्रो जन्मदिनमा म भावुक हुन्छु । यो सुन्दा अलि अल्मल होला, तर हामी तिम्रो जीवनमा झण्डै ८–९ वर्ष अलमलियौँ ।
भन्छन् नि, दुःख–कष्टबिना जीवन चल्दैन । दुःख मात्र भए त केही थिएन तर त्यो बालापनमा तिमीले भोगेको कष्ट बयान गर्न मलाई सकस भइरहेको छ । मात्र २ वर्ष पूरा गरी तेस्रो वर्षमा हिँड्दै थियौ तिमी । हामी मामाथिको बादल मडारिन थाल्यो । तिमी त अबोध बालिका, तिम्रो के दोष ? दैवले परीक्षा लिन्छ भन्थे, हो रहेछ । अब हामी त्यो परीक्षा दिन तयार हुनुपर्यो ।
छोरी, तिमी दैवको परीक्षा भयौ, हामी परीक्षार्थी । एकाबिहानै तिमी निदाएको तकिया रगतले भिज्यो । पूरै पानीमा भिजाएजसरी रगतले भिज्यो सिरानी । तिम्रो नाकको नाथ्री फुटेर रगतको ससानो खोलो बगेछ । रगत रोकिएन । अबोध बिचरी, तिमी के नै गर्न सक्थ्यौ र ? हतार हतार डक्टरको क्लिनिकमा गयौँ । दबाई लगायौँ, दबाई ख्वायौ । बल्ल रगत रोकियो ।
हामीलाई लाग्यो, तिमी अब ठिक भयौ । तर त्यो त शुरुवात रहेछ । अब दिन प्रतिदिन रगत बग्न थाल्यो । हस्पिटल, डक्टर, औषधी अनि उपचारसँग दैनिक सम्बन्ध नजिकिन थाल्यो । तिमीलाई रक्तसम्बन्धी बिमारी भएको निक्र्यौल गरियो ।
त्यो बेलाको हाम्रो उपचार खर्च बेहोर्न सक्ने अवस्था र तिम्रो उपचार कल्पनाभन्दा बाहिरको विषय थियो । तर हामी तिम्रो परीक्षा दिन एक कदम पछि हटेनौँ । दिन बित्दै गयो, हामी अघि बढ्दै गयौँ । दिन, हप्ता, महिना, वर्ष बितिसक्दा पनि हाम्रो दैनिकीमा खासै परिवर्तन आएन । उस्तै दैनिकी, म काममा निस्किन्थेँ तर मेरो मन, मुटु, दिमाग सबै घरमै हुन्थ्यो । एउटै कुरा दिमागमा हुन्थ्यो– घरबाट फोन आउला कि नानीलाई फेरि ईमर्जेन्सीमा लानु पर्यो भन्ला कि !
म बेला बेला हिडदा हिडदै बाटो भुल्नेसम्म भइसकेको थिएँ । ३ दिन ५ दिनमा रगत परीक्षणका लागि निकालिरहनु पर्ने हुन्थ्यो । तिमी भर्खर ३ वर्षको चकलेटी उमेरमा थियौ । हामीले चकलेट किनीदिने भन्दा तिमी त खुशी हुन्थ्यौ तर पीडा मामु र मलाई हुन्थ्यो । तिमीलाई सुई घोप्दा तिम्रो रगत आउथ्यो अनि मामु र मेरो आँसु आउथ्यो । साह्रै गाह्रो परीक्षा दिँदै थियौँ हामी । नभेटेको डक्टर रहेन, नपुगेको हस्पिटल रहेन ।
एक प्रकार त हामीले हार मानिसकेको अवश्था आएको थियो । असिना, पानी, हावा, हुरी केहीले छक्थेन हामीलाई । तिमीलाई गार्हो हुनेबित्तिकै म कामबाट घरमा आइहाल्थेँ । तिमीलाई बाईकमा राख्थेँ । मामुले पछाडिबाट समाउथिन् । हामी हस्पिटलतिर दगुरिहाल्थ्यौँ । यसरी तिम्रो हाम्रो ६ वर्ष कटिसकेको थियो ।
अब डक्टरले अन्तिम तयारीसहित तिम्रो अप्रेसन गर्ने निर्णय गरे । डक्टर र हाम्रो सल्लाहअनुसार अन्तिम निर्णय थियो, अप्रेसन । तिमी मात्र ६ वर्षकी थियौ । दिन गन्दागन्दै तिम्रो अप्रेसन गर्ने दिन पनि आयो छोरी !
डाक्टरले तिम्रो प्लेटलेट्स घट्ने समस्या देखाएका थिए । प्लेटलेट्सको संख्या करिब १ लाख ५० हजार हुनुपर्नेमा तिम्रो चाहिँ घटेर ५–६ हजारमा झरेको थियो । त्यसपछि स्प्लिनरी सर्जरी गर्नुपरेको थियो ।
त्यस दिन म निःशब्द थिएँ । लेख्नै सकिरहेको छुइनँ । अप्रेसन थिएटरभित्र गएका दुवै डक्टर बाहिर आए । भुइँमा थचक्क बसेको म आत्तिएर जुरूक्क उठेँ । डक्टर भन्दै थिए– रगत परीक्षणको रिपोर्ट हेर्दा अप्रेशन अलि गाह्रो छ, कृपया हामीलाई केही नभन्नुहोला । यति भनेर भित्र पसे । म छोरी निको भएर फर्कने आशामा बाहिर कुरेर बसेँ ।
करीब २ घण्टाको प्रतिक्षामा मैले सकुशल तिमीलाई पाएँ, छोरी । यसरी तिम्रो पुनर्जन्म भयो । तिम्रो पुनर्जन्ममा हामी सबै खुसी भयौँ ।
आज तिम्रो जन्मदिन मनाइरहँदा त्यो जन्मदिन सम्झन्छु र भावुक हुन पुग्छु ।
छोरी तिमीलाई यस जन्मदिनमा अरु सय जन्मदिनको कामना गर्दै सुस्वास्थ्य एवं आरोग्यको कामना गर्दछु ।