काठमाडौं । जेनजी आन्दोलनले केपी ओली सत्ताच्यूत भएसँगै नेपाली राजनीति नयाँ परिस्थितिमा अघि बढिरहेको छ । राजनीतिक कोर्ष नयाँ ढंगले बढिरहँदा राजनीतिक दल पुनर्गठन र रुपान्तरणको बहसमा छन् ।
आगामी फागुन २१ गतेको निर्वाचनका लागि नयाँ दल दर्ताको समय पनि कात्तिक ३० गतेसम्म मात्रै भएकाले विभिन्न दलहरु एकताको प्रक्रियामा अघि बढेका छन् ।
पछिल्लो निर्वाचनमा ठूला राजनीतिक दलहरुबीच नै चुनावी गठबन्धन हुने गरेका छन् । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका ठूला दलहरुहरु एक्लै चुनावमा जाने आँट गरेका छैनन् । ७९ सालको स्थानीय, प्रदेशदेखि केन्द्रको चुनावमा समेत माओवादी, एमाले, कांग्रेसले एक अर्काबीच महागठबन्धन बनाएर चुनावमा होमिएका थिए ।
तीन ठूला दलले अन्य साना दलहरुसँग पनि चुनावी तालमेल गरेका थिए । दलहरुको तालमेललाई सहज बनाउन निर्वाचन आयोगले फरक दलको निर्वाचन चिन्ह लिएर उठ्न पाउनेसमेत ब्यवस्था गरेको थियो ।
जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै फेरि पनि राजनीतिक दलहरु एकता वा गठबन्धनको प्रयास थालेका छन् । ठूला राजनीतिक दलहरु नै युवा पुस्ताका लागि चुनौतिपूर्ण बनेकाले आगामी चुनावमा के कसरी अघि बढ्छन्, निकै चासोको विषय बनेको छ ।
माओवादी केन्द्र र नेकपा (एस) एकता
निर्वाचन आयोगले आगामी कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताको समय तोकेसँगै विगत लामोसमयदेखि एकताको छलफलमा रहेका दलहरु एकता घोषणाको तयारीमा लागेका छन् । तोकिएको समयभित्रै निर्वाचन हुनुपर्ने पक्षमा रहेको माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग एकता गर्दैछ ।
कात्तिक ३० अघि नै निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण दलहरु तत्कालै पार्टी एकता गर्न लागेका हुन् ।
चार दलीय समाजवादी मोर्चामा आवद्ध दलहरु एकता प्रक्रियामा अघि बढेको र छठपछि बामपन्थी एकता घोषणा हुने माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालको भनाई छ ।
विगतमा पनि एक्ला एक्लै चुनावमा जान डराएका ठूला भनिएका दलहरु जेनजी आन्दोलनपछि झनै ठूलो दबाबमा छन् । त्यसैले उनीहरुले एकता र ध्रुवीकरणको प्रक्रियालाई तीब्र बनाएका हुन् । बदलिँदो राजनीतिक परिस्थिति लगत्तै नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्र लगायतका दलहरुसँग एकता गर्न पार्टीका बरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा ३ सदस्य वार्ता टोली नै बनाएको थियो ।
नेकपा एसले वार्ता टोलीलाई एकताको सैद्धान्तिक आधार खोज्न म्यान्डेट दिएको थियो । सोही म्यान्डेटहरु वार्ता छलफल भएको वार्ता टोलीमा रहेका एकीकृत समाजवादीका नेताहरु बताउँछन् ।
एकीकृत समाजवादीसँग एकता घोषणाको तयारीमा लागेको माओवादी केन्द्रले विप्लव, महिन्द्र राय यादव, लगायतका नेताहरुसँग पनि संवाद जारी राखेको छ । राष्ट्र गम्भीर संकटमा पुगेको हुँदा राष्ट्रिय स्वाधिनताको रक्षाका निम्ति राष्ट्रिय एकता अनिवार्य बनेको भन्दै प्रचण्डले वृहत्त वामपन्थी एकताको आवश्यकता महशुस गरेका छन् ।
वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता वार्ता गर्न भनी गठन गरेको वार्ता टोलीलाई समाजवादीले पार्टी एकताका क्रममा पार्टीको प्रस्तावित नामदेखि सैद्धान्तिक आधार समेत किटान गरेर पठाएको थियो ।
वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता वार्ता गर्न वार्ता टाली गठन गरेको अन्तर पार्टी निर्देशनमा नै उल्लेख थियो । एकताका क्रममा पार्टी नेतृत्वको विषयमा टुंगो लगाउने जिम्मा प्रचण्ड र माधवले पाएका छन् । एकीकृत समाजवादीले पार्टी एकताबारे निर्णय गर्न कार्तिक १२ गतेदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
केन्द्रीय समिति बैठकले एकताबारे फरक मत राख्दै आएका झलनाथ खनाल लगायतका नेताहरुको विवाद पनि समाधान गर्ने नेताहरुले बताएका छन् ।

