काठमाडौं । झन्डै एउटा नगरपालिका जत्तिकै जनसंख्या र मतदाता रहेको काठमाडौं महानगरपालिका –१६ को उपनिर्वाचनलाई ‘मिनी जनमतसंग्रह’को रूपमा लिइएको थियो ।
त्यसैले काठमाडौँ १६ मा वडाध्यक्षको निर्वाचनलाई सबै दलहरूले प्रतिष्ठाको विषय बनाएका थिए । २१ हजार २५ मतदाता रहेको यो वडामा १० हजार ५ सय २६ जनाले मात्रै मतदान गर्दा राजनीतिक दल र निर्वाचन प्रक्रिया प्रति नै कुल मतदाताको झण्डै आधाले अरुचि देखाएका छन् ।
उपनिर्वाचन भएका स्थानमहरुमध्ये सबैभन्दा कम काठमाडौं–१६ मा मत खसेको निर्वाचन आयोगले जनाएको छ । युवाहरूमा राजनीतिप्रति वितृष्णाको भावना दिनदिनै बढ्दै गएको देखिन्छ ।
यसको मुख्य कारण देशको राजनीतिक अस्थिरता, भ्रष्टाचार, र नेतृत्वदायी व्यक्तिहरूको असक्षमता हो । युवाहरूले राजनीतिक दलहरूलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गर्ने संस्थाका रूपमा हेर्न थालेका छन् । नेतृत्वमा रहेका व्यक्तिहरूको बारम्बारको सत्ता संघर्ष र सत्ता टिकाउने खेलले राष्ट्रको विकासमा ठोस उपलब्धि दिन नसकेको देख्दा युवाहरू निराश भएका हुन् ।
युवाहरूको निराशा स्थानीय तहको उपनिर्वाचनमा पनि देखिएको छ । बेरोजगारी, न्यून जीवनस्तर र विदेश पलायनले पनि युवाहरूको उत्साह र सहभागिता यो उपनिर्वाचनमा देखिएन ।
युवाहरूले चुनावलाई परिवर्तनको माध्यम मान्नेभन्दा पनि पुरानै सोच र परिपाटीको निरन्तरता हुने ठानेका छन् । राजनीतिक दलहरूको चुनावी एजेन्डामा युवा समस्याहरूलाई प्राथमिकता नदिनु र असमान अवसरले उनीहरूलाई चुनावप्रति निराश बनाएको छ ।
नेताहरूले युवालाई केवल मतदाता या चुनावी नारा पूर्तिका साधनका रूपमा मात्र प्रयोग गर्ने प्रवृत्तिले पनि उनीहरूको विश्वास र मनोबल घटाएको छ । तर, युवाहरू उपनिर्वाचन प्रक्रियामा निष्क्रिय र उदासीन देखिए पनि परिर्वतनको पक्षमा भने रहेका छन् ।
काठमाडौँ १६ देखिएको राजनीति र निर्वाचनप्रति यो यो वितृष्णा अहिले समग्रकै देशकै प्रतिविम्व हो । युवा पूस्तामा दलहरुले गुमाउँदै गएको विश्वासले भविष्यका लागि गम्भीर चुनौती खडा गरेको छ ।
युवाहरूको सहभागिता विना कुनै पनि मूलुक चल्न सक्दैन । तर अहिले युवाहरुमा देखिइरहेका यो निराशालाई बेलैमा संवोधन गर्नबाट दलहरु चुक्नु हुँदैन । मिसन ८४ को तयारीमा जुटिसकेका दलहरुले आजका युवा के चाहन्छन् ? उनीहरुको माग के हो ? त्यसलाई सम्बोधन गर्न नसके पछुताउने बाहेक अर्को कुनै विकल्प नहुन सक्छ ।