
काठमाडौँ । नेकपा एमाले वा माओवादी केन्द्र कुन पार्टीसँग पार्टी एकता गर्ने भन्ने अन्योलताले नेकपा एसमा भाँडभैलो मच्चिएको छ । यसको प्रभावस्वरुप बिहीबार बस्ने भनिएको पार्टीको केन्द्रीय कमिटिको बैठकसमेत स्थगित गर्नु परेको छ । बुधबार बसेको नेकपा एसको स्थायी कमिटि बैठकले बिहीबारका लागि केन्द्रीय कमिटिको भर्चुअल बैठक डाकेको थियो । तर नेकपा एसको नेतृत्व विवादसँगै पार्टी एमाले वा माओवादी कुन दलसँगको एकतामा जाने भन्ने ननिस्कँदा पार्टी बैठक बस्न नसकेको हो ।
माधव झलनाथ पक्षबीच तनाव जारी
नेकपा एसमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच लामो समयदेखि टकराव बढेको छ । उक्त टकरावको हल अझै भइनसक्दा समाजवादी मोर्चा आबद्धदलहरुबीच पार्टी एकता गर्ने भन्ने विषयमा विवाद कायमै देखिन्छ । अध्यक्ष माधव नेपाल समाजवादी मोर्चा आबद्ध दल माओवादीसहितका पार्टीहरुसँग एकता गर्ने अन्तमि निर्णयमा छन् । तर झलनाथ खनाल भने कुनैपनि पार्टीसँग एकता गर्न नहुने मत राखिरहेका छन् । माओवादीसँग एकता गर्न भनि बोलाइएको बैठकमै झलनाथ खनाल पक्षले पार्टी एकताको तयारीमा आपत्ति जनाउको थियोे । यसपछि भारतमा रहेका झलनाथले लिखित रुपमै प्रस्ताव जारी गरेर माओवादीसँग पार्टी एकता गर्न नहुने धारणा राखेका छन् । यसले माओवादीसँगको पार्टी एकतालाई अझ अन्योलतामा धकेलेको छ ।
प्रचण्ड फेरि जिल्ल बन्ने खतरा
समाजावादी मोर्चाको सबैभन्दा ठूलो दलसमेत रहेको माओवादी केन्द्रले महिन्द्र राय यादव नेतृत्वको नेसपा तथा नेकपा एससँग पार्टी एकता गर्ने विषयलाई प्रमुख प्राथमिकता दिँदै आएको छ । लामो समयदेखि एकताको चर्चा चल्दै आएपनि असफल भइरहेको अवस्थामा जेन–जी आन्दोलनले दलहरुलाई एकतामा जान थप दबाव सृजना गरेको छ । यसै शिलशिलामा माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टी एकता अन्तिम चरणमा पुगेको भनेर पटक पटक पार्टी बैठकमा ब्रिफिङ गरे ।
उनले असोज १९ गते बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमै पनि माधव र महिन्द्र राय यादवसँग चाँडै पार्टी एकता हुने ब्रिफिङ गरेका थिए । यसपछि माओवादी नेताहरुले नै सम्भव भए असोज मै नत्र कात्तिक पहिलो सातासम्ममा पार्टी एकता हुने खुलाएका थिए । यद्यपि नेकपा एसभित्रको विमत्तिका कारण तत्काल पार्टी एकता हुने संभावना टर्दै गएको छ । नेकपा एसभित्र माओवादीसँग पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा २० प्रतिशत नेताहरु मात्रै रहेको दावी गरिएको छ । जसले फेरि प्रचण्डको पार्टी एकता चाहना चकनाचुर बन्ने देखिएको छ ।
माधव भित्र्याउने ओली प्रयास
नेकपा एसमा माओवादीसँग भन्दा एमालेसँगै पार्टी एकता गर्नुपर्ने मत बढिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने पार्टी एकतामा आउन माधवसहितका नेताहरुलाई आग्रह गरेका छन् । बुधबार ललितपुरमा बसेको एमाले पार्टी केन्द्रीय कमिटि बैठकमा ओलीले विगतमा घर छोडेर अन्यत्र गएको भएपनि अब फर्किने बेला भएको भनेर माधवसहितका नेताहरुलाई सन्देश पठाए ।
पार्टीमा अफ्ठ्यारो झेलिरहेका ओलीको यो आह्वान माधव नेपालसहितका नेकपा एसका नेताहरुप्रति नै लक्षित छ । तत्कालीन नेकपा विभाजनपछि एमाले र माओवादी आ–आफ्नो अस्थित्वमा पुग्दा ओलीको कार्यशैलीप्रति असन्तुष्ट माधव नेपाल र झलनाथ खनालले नै नेकपा एस गठन गरेका थिए । यसपछि पनि नेकपा एसमा पार्टी विभाजनको औचित्य पुष्टि हुन नसकेको भनेर विरोधका आवाज उठिरहेका छन् ।
अर्कोतर्फ नेकपा एसले माओवादीसँग पार्टी एकता गर्ने धेरै प्रयास गरेपनि नेताहरु एकमत बन्न सकेका छैनन् । यस्तैमा जेन–जी आन्दोलनले राजनीतिक परिवर्तन ल्याएपछि भने दलहरु वृहत ध्रुविकरणको प्रयासमा छन । यो अवस्थामा नेकपा एस भने माओवादी र एमालेको तानातानमा परेको छ । प्रचण्डसँगको एकता विथोलिने अवस्थामा ओलीले पनि माधव आफ्नो पक्षमा ल्याउने वातावरण सृजना गरिरहेका छन्् । यहीबीच प्रचण्डले पनि एमालेको नेतृत्वमा ओली नरहे एमालेसँगै एकता सम्भव रहेको भनेर काउण्टर दिइरहेका छन् । ओली र प्रचण्डको माधव तान्ने होडबाजीबीच अब नेकपा एस कतातिर जान्छ ? भन्ने प्रश्नहरु उठिरहेका छन् ।