News 24 Television
सकसमै बृहत् कम्युनिष्ट एकता, ओली अस्वीकार गर्ने प्रचण्ड बोली

काठमाडौँ । जेनजी आन्दोलपछि दलिय अस्थित्व संकटमा छ । यही अवस्थाले पनि कम्युनिष्ट दलहरु पुनः बृहत पार्टी एकताको नारा घन्काउन थालेका छन् । तर एकता सफल हुनेमा भने शंका अझै कामयै देखिन्छ । नेपालका प्रमुख कम्युनिष्ट दलहरु नेकपा एमाले, माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीहरु कुनै न कुनै तवरले ध्रुविकरणको प्रयासमा रहेपनि यी तीनै दलहरुबीचको एकता तत्काल हुने संभावना देखिँदैन । यद्यपि माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने वृहत कम्युनिष्ट एकता हालको मुख्य आवश्यकता भएको जिकिर गर्न छाडेका छैनन् । 

प्रचण्डले समाजवादी मोर्चालाई पार्टी एकताकै रुपमा लानेगरी तयारी भइरहेको स्पष्ट खुलाएका छन् । सँगसँगै उनले एमालेसँग पनि पार्टी एकताको आवश्यकता औँल्याएको देखिन्छ । तर एमालेसँगकै पार्टी एकता हुने आधार भने तत्काल देखिँदैन । प्रचण्डले नै केही दिन अघि वृहत कम्युनिष्ट एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओली नै बाधक रहेको संकेत गर्दै ओली नेतृत्वमा रहुन्जेलसम्म एकता नहुने संकेत गरेका थिए । यसकारण पनि तत्काल वृहत कम्युनिष्ट एकता हुनेमा शंका नै देखिन्छ । 

प्रचण्डको ओली अस्वीकार गर्ने अडान 

०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन नै गरेर आम निर्वाचनको सामना गरे । र, यसको नतिजाले झण्डै दुई तिहाइको कम्युनिष्ट सरकार बन्यो । तर प्रचण्ड र ओलीबीच नै चलेको संघर्षले पार्टी र सरकार दुवै विघठित भए । यसपछि दुई नेताबीचको सम्बन्ध सुमुधुर बन्न नसकेको अवस्था छ । तर जेनजी आन्दोलनपछि दलहरुमा परेको एकता दवाबले माओवादी र एमालेलाई पनि एकतामा बाधिनुपर्ने आवश्यकता औल्याएको छ । यद्यपि ओली र प्रचण्डले यो विषयमा औपचारिक छलफल गर्न चाहेका छैनन् । बरु दुई नेताहरुले अस्वीकारोक्तिको भाव देखाइरहेका छन् । 

वर्तमान राजनीतिक परिस्थितिबारे नै दुई धारको अभिव्यक्ति दिइरहेकामा ओली संसद विघटन गलत भएको जिकिर गर्न छाडेका छैनन् । र, ओली संसद पुनस्र्थापनको मुद्धा नै लिएर अघि बढ्ने निश्कर्षमा पुगिसकेका छन् ।  अर्कोतर्फ प्रचण्डले भने संसद विघटन गौँण भइसकेको भन्दै निर्वाचनको सामना गर्नुको विकल्प नरहेको निश्कर्ष दिइरहेका छन् । संसद विघटनकै विषयमा ओली लक्षित अभिव्यक्ति दिएका प्रचण्ड ओलीलाई अझै स्वीकार गर्न नसकिने टिप्पणी गर्छन् । 

ओलीको संसद पुनस्र्थापना हुनपर्ने अडान र प्रचण्डको यो टिप्पणीले पनि तत्काल माओवादी एमालेसहितको वृहत्त कम्युनिष्ट एकता सम्भव देखिँदैन । 

दोधारमा माधव

प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजावादी) सहितको समाजवादी मोर्चालाई पार्टी एकताको रुप दिने भनेर बारम्बार प्रयास गर्दै आएका छन् । र, अब यो तयारी पनि अन्तिम चरणमा पुगेको प्रचण्डको जिकिर छ । तर उनले जिकिर गरेझैँ नेकपा एस भने एकताको अन्तिम तयारीमा देखिँदैन । उता नेकपा एमालेको पार्टी एकता आह्वानले पनि नेकपा एस कुन दलसँग एकतामा जाने भन्ने विषयमा अन्योलमै छ । 

ओलीले एमालेको सचिवालय बैठक र केन्द्रीय कमिटि बैठकमै पार्टी छाडेर गएकाहरुलाई एकतामा आउन आह्वान गरेका थिए । यसपछि नेकपा एसका धेरेजसो नेताहरुले एमालेसँगै पार्टी एकता गर्नुपर्ने भनेर अध्यक्ष माधवकुमार नेपाललाई दवाब दिइरहेका छन् । यही विवादका कारण नेकपा एसको केन्द्रीय कमिटि बैठक पनि बस्न सकेको छैन । 

कम्युनिष्ट एकताका लागि माधवले कुनैपनि दलसँग मिल्ने संकेत गरिरहे पनि ओली र प्रचण्डले भने अझैसम्म एकअर्कामा सहकार्यको ढोका खोल्ने संकेत नगर्दा तत्काल वृहत कम्युनिष्ट एकताको सम्भावना देखिँदैन । 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update