
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार भक्तपुरको बालकोटमा रहेको आफ्नो निजी निवासमा पुगेका छन् । निवासमा आगजनी भएको झण्डै डेढ महिनापछि ओली पहिलो पटक अवलोकनका लागि पुगेका हुन् । जेनजी प्रर्दशन आगजनी र तोडफोडमा बदलिएसँगै ओलीको निवास समेत निशानामा परेको थियो । आफ्नो निवाससहित देशभरका संरचनामा आगो लगाउनेहरुलाई सरकारले संरक्षण गरिरहेको भन्दै ओलीले आक्रोश समेत पोखेका छन् ।
जेनजी आन्दोलनका क्रममा आगो लगाएर ध्वस्त पारिएको आफ्नो निजी निवासमा पहिलो पटक बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली पुगे । भक्तपुरको बालकोटमा रहेको यो भवनसँग ओली दम्पत्तिको गहिरो भावनात्मक सम्बन्ध थियो । यतिमात्रै होइन, यो भवन नेपालको राजनीतिका महत्वपूर्ण घटनाक्रमसँग पनि जोडिएको थियो ।
जेलेको भवन हेर्दै ओलीका अनुहारमा यिनै भावना झल्किरहेका देखिन्थे । आगोले ध्वस्त बनेको निवासमा ओलीले अधिकांश समय पुस्तकालय बनाइएको कोठालाई निहाले । केही बेर शीर ठाडो नै नबनाइ निन्याउरो अनुहारसहित एकोहोरो हेरे र यस घरसँग जोडिएका आफ्ना सबै स्मृति स्मरण गरे । ओलीसंगै उनकी पत्नि राधिका शाक्यसहित युवासंघका नेताहरु समेत बालकोट पुगेका थिए ।
केही बेर बालकोट भवनको ध्वस्त परिवेशले सन्नाटा छायो, अनि आलीले आफ्ना यादसँग सरकारसँग गुनासो गरे । जलेर ध्वस्त भएको संरचना हेर्दै ओलीले आगो लगाउनेहरुलाई कारबाही गर्नुको साटो अहिलेको सरकारले संरक्षण गरिरहेको गुनासो गरे ।
कतिको क्षति भयो ? अब पुनः निर्माण गर्न के गर्नु हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले संकलन गरेर राखेका पुराना दस्तावेजहरुमा क्षति पुगेको बताए, भने राज्यका नाममा आफ्नो सबै सम्पत्ति दान गरिसकेकाले अब फेरि पुनःनिर्माण गरे फेरि यो हाम्रो सम्पत्ति हो भन्दै अर्काेले जलाउला भन्दै थप केही बोलेनन् । राज्यको नाममा आफुले सबै सम्पत्ति दान गरिसकेको भन्दै ओलीले सरकारले नै के गर्ने भन्ने बिषयमा सोच्नु पर्ने बताए ।
सरकारले गएको भदौ २४ गतेको आग्जनी र तोडफोडमा संलग्नहरु माथि अझै कारबाही अघि बढेको छैन । तरपनि, आगजनीमा संलग्नहरु ढिलो चाँडो कानूनको दायरामा आउने उनको विश्वास छ । ओलीले आन्दोलनका नाममा एक–दुई जनाको घरहरु लुट्ने र जलाउने काम भएको भन्दै घरमा आफुले राखेको ढुङ्गाका मुर्तीहरु समेत चोरी भएको समेत बताए । उनले जेनजी आन्दोलन कुनै विशुद्ध आन्दोलन नभएर अपराधिक समूहहरुले मच्चाएको अराजकता भएको टिप्पणी समेत गरे ।
जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका ओली आन्दोलनको दुई हप्तापछिदेखि पुनः सक्रिय रुपमा राजनीतिक गतिविधिमा लागिरहेका छन् । त्यस यता उनले नेताका पासपोर्ट रोक्का गर्नेविषयदेखि सरकारले गर्ने भनेको चुनावका विषयमा आलोचनात्मक टिप्पणी गर्दै आएका छन् ।